व्यास नगरपालिकाको ३३ औं स्थापना दिवस सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । चैत ३०

तनहुँको व्यास नगरपालिकाले ३३ औं स्थापना दिवस शनिबार विशेष समारोहको आयोजना गरि मनाएको । उक्त कार्यक्रमको गन्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गरे । सो अवसरमा बोल्दै मुख्यमन्त्री पाण्डेले अहिलेको लोकतान्त्रिक, गणतान्त्रिक र संघीय व्यवस्थालाई विकल्पविहीन भएको भन्दै लामो संघर्षबाट स्थापित भएको व्यवस्था भएको बताए । उनले जनता निराश छन्, केही असन्तुष्ट पनि छन् तर त्यसमा झनै निराशा थप्ने काम केही राजनीतिक दलहरूले निहित स्वार्थका लागि गरेको बताए । उनले निराशावादी सोचले मात्र परिवर्तन सम्भव नहुने भन्दै सबैको सकारात्मक र रचनात्मक सहयोग भए राजनीति मात्र होइन आर्थिक परिवर्तन पनि सम्भव भएको बताए ।

मुख्यमन्त्री पाण्डेले दमौली अस्पतालको ५० शैय्या स्तरोन्नति एक महिनाभित्रै अघि बढाइने जानकारी पनि दिए । राज्यको सीमित स्रोत र साधनका कारण जनताको आवश्यकताहरू तुरुन्त पूरा गर्न चुनौती भएको स्वीकार गर्दै उनले भने, “केही यस्ता समस्या छन् जुन हाम्रो तत्कालको प्रयासले गर्ने खालका छैनन् । जनता पूर्वाधार विकासले निराश छैनन्, मुख्य निराशा भनेको हामीले जनतालाई उत्पादन र रोजगारीमा जोड्न नसकेको हो ।”

कार्यक्रममा राष्ट्रिय सभामा सत्तापक्षकी प्रमुख सचेतक भगवती न्यौपानेले पर्यटन, कृषि र भौतिक पूर्वाधारमा अपार सम्भावना रहेको उल्लेख गर्दै व्यासको समृद्धिका लागि साझा दृष्टिकोण आवश्यक भएको बताइन् । उनले सबै स्थानीय प्रतिनिधिहरूलाई एक ठाउँमा बसेर स्थानीय एजेन्डा तय गर्न र टुक्राटुक्रा योजनाका फाइल बोकेर नहिँड्न आग्रह गरिन् ।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री जीतप्रकाश आले, गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठ, राष्ट्रिय सभाका पुर्व सदस्य प्रकाश पन्थ, गण्डकी प्रदेशका पूर्वमन्त्री दोबाटे विक, निवर्तमान सांसद सरिता गुरुङ, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष जगदीशचन्द्र पोख्रेल, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष विश्व बास्तोला, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठ मिश्र, एसओएस बालग्रामका उपेन्द्र मल्ल, नेपाली कांग्रेस नगर संयोजक सूर्यचन्द्र हडखले, नेकपा एमाले नगर कमिटिका अध्यक्ष तुल्सीराम पाण्डे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा उत्कृष्ट करदाता एपेक्स हस्पिटालिटी लिमिटेड, उत्कृष्ट तरकारी कृषक हुमबहादुर पाटा राना (राना तरकारी फार्म, व्यास–२), उत्कृष्ट पशुपालक रमेश तिमल्सेना (दाजुभाइ गाई फार्म,व्यास–१२), उत्कृष्ट टोल विकास संस्था बाह्रबिसे पराशर टोल विकास संस्था (व्यास–६), उत्कृष्ट उपभोक्ता समितिहरू मेवाबारी सिम्ले सिँढीबाटो निर्माण (व्यास–९)र गलम्बास मइ आमा समुह भवन सिमित (व्यास–३)लाई सम्मान गरिएको थियो ।

त्यस्तै सरसफाइ व्यवस्थापनमा सहयोग पु¥याएवापत व्यास–१० का निवर्तमान वडाध्यक्ष तुलसीराम सापकोटालाई सम्मान गरिएको थियो । उक्त अवसरमा २५ वर्षभन्दा बढी सेवा गर्ने कर्मचारीहरू कृष्णप्रसाद पौडेल, विष्णु खड्का, अर्जुनकुमार श्रेष्ठ, दुर्गाप्रसाद पौडेल, नवराज कडेल, पदमबहादुर थापा, रुद्रबहादुर दरै र सूर्यबहादुर दरैलाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो । त्यस्तै वार्षिक कार्य सम्पादनका आधारमा उत्कृष्ट कर्मचारीका रूपमा कल्पना दाहाल, रोचक क्षेत्री, विष्णुकुमार जोशी, शर्मिला जमरकट्टेल र नानुमाया श्रेष्ठलाई पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू