तनहुँ । चैत ३१
लमजुङको मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित प्रसिद्ध तीर्थस्थल ईशानेश्वर महादेव मन्दिर परिसरमा शनिबार श्रीरामनाम जप स्तम्भ अनावरण गरिएको छ । हनुमान जन्मोत्सवको अवसर पारेर श्रीरामनाम लेखन समूहले आयोजना गरेको कार्यक्रममा देवघाट स्थित गलेश्वर आश्रमका पिठाधिश महामण्डलेश्वर डा. आत्मानन्द गिरिले स्तम्भको अनावरण गरे ।



समूहका संयोजक लेखनाथ घिमिरेका अनुसार रामायणमा एक पटक ‘श्रीराम’ लेख्नुलाई सय पटक उच्चारण गरेजत्तिकै पुण्य प्राप्त हुने उल्लेख छ । यही मान्यताले प्रेरित भएर लेखन अभियान सुरु गरिएको हो ।
समूहका सचिव तथा कार्यक्रम संयोजक सोमलाल कडेलले अनावरण गरिएको स्तम्भमा कुल २ करोड ५० लाख श्रीराम नाम लेखिएको जानकारी दिए । मन्दिर विकास समितिसँगको समन्वयमा स्तम्भ मन्दिर परिसरमा स्थापना गरिएको हो । नियमित पूजा तथा स्तम्भको संरक्षणका लागि दुई लाख रुपैयाँको अक्षयकोष समेत स्थापना गरिएको छ ।
सोही कार्यक्रममा ‘श्रीराम’ को जन्मस्थान नेपालमै भएको हुनसक्ने विषयमा पनि छलफल भयो । रामायणमा उल्लेखित शालिग्राम पाइने ठाउँ, दक्षिणबाट उत्तरतर्फ बग्ने नदीलगायत तथ्यहरू रामको जन्म नेपालमै भएको संकेत दिने लामो समयदेखि रामका बारेमा अध्ययन गर्दै आएका विद्वान लोकमणि पौडेलको भनाइ थियो ।
रामनाम लेखन अभियानको सुरुवात म्याग्दीस्थित गलेश्वरधामबाट १० जनाको समूहले गरेका थिए । दोस्रो चरणमा तनहुँको देवघाट, तेस्रोमा कास्कीको केदारेश्वर, चौथो चरणमा गगनगौंडास्थित राम मन्दिर हुँदै पाँचौँ चरणमा ईशानेश्वर मन्दिरमा स्तम्भ स्थापना गरिएको संयोजक घिमिरेले जानकारी दिए ।
उनका अनुसार श्रीराम लेखन योग पनि हो, जसले श्वासप्रश्वास नियन्त्रण गराउने भएकाले मानसिक शान्ति र स्वास्थ्यमा समेत लाभ पुग्छ । नेपालका सबै प्रमुख धार्मिक स्थलहरूमा श्रीराम नाम लेखिएको स्तम्भ स्थापना गर्ने लक्ष्य सहित अभियान अघि बढाइएको समूहले जनाएको छ ।












