तनहुँ । चैत ३१
नेपाली नयाँ वर्ष २०८२ को उपलक्ष्यमा तनहुँस्थित पर्यटकीय नगरी बन्दीपुरमा रैथाने खाना एवं सांस्कृतिक महोत्सव–२०८२ सुरु भएको छ । बन्दीपुर भ्रमण वर्ष २०२५ सचिवालय बन्दीपुरको आयोजना र बन्दीपुर गाउँ पालिकाको प्रवर्धनमा आयोजित महोत्सवको आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे ।



महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले देशकै प्रमुख गन्तव्यका रूपमा बन्दीपुरलाई विकास गर्न महोत्सव सफल हुने बताए । बन्दीपुर गण्डकी प्रदेशको उत्कृष्ट गन्तव्य भएको र प्रदेशले पनि त्यसै अनुसार सहयोग गर्ने बताए ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बन्दीपुर भ्रमण वर्ष २०२५ मा बास बस्ने पर्यटक दुईदेखि तीन लाख भित्र्याउने कार्यक्रम अन्तर्गत महोत्सव गरिएको जानकारी दिए । पर्यटकको संख्या वृद्धि गर्ते नेपाली नयाँ वर्षलाई मौलिकताका साथ मनाउन, रैथाने खाना कला संस्कृतिलाई संरक्षणमा टेवा पुग्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । गाउँपालिका अध्यक्ष थापाले महोत्सवको उद्देश्य स्थानीय रैथाने खाना, परम्परागत कला र संस्कृति उजागर गर्नु रहेको बताए । उनले भने, ‘नयाँ वर्षको सुरुवात स्थानीय मौलिकतासँगै उल्लासपूर्वक गर्न महोत्सव आयोजना गरिएको हो ।’
बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक एवं नयाँ वर्ष २०८२ तथा १२औं मौलिक (रैथाने) खाना एवं सांस्कृतिक महोत्सवका संयोजक बैसबहादुर गुरुङले बन्दीपुर गाउँपालिकाका छ वटै वडाका ऐतिहसिक तथा पर्यटकीय स्थलको संरक्षण र सम्बद्र्धन गरी पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न महोत्सवले टेवा पुग्ने विश्वास लिइएको बताए ।

महोत्सवको पहिलो दिन विभिन्न रैथाने परिकारहरूको स्वाद लिन पाइनेछ भने सांस्कृतिक कार्यक्रमहरू मार्फत आगन्तुकहरूलाई मनोरञ्जन दिइएकोछ । सोही दिन विद्यालय स्तरका बालबालिकाबीच नृत्य प्रतियोगिता गरियो । महोत्सवभरि बन्दीपुरका रैथाने कला, झाँकी, भेषभूषा तथा सांस्कृतिक प्रस्तुति पनि देखाइनेछ ।
बैशाख १ र २ गते पर्यटकलाई बन्दीपुर आसपासका अन्य आकर्षक गन्तव्यमा लैजाने कार्यक्रम समेत समावेश गरिएको छ । बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक बैँस गुरुङले महोत्सवले पर्यटन प्रवद्र्धनसँगै स्थानीय समुदायको आर्थिक उपार्जनमा समेत टेवा पु¥याउने बताए । ‘महोत्सवले बन्दीपुरको मौलिकपनलाई समेट्दै यहाँको पर्यटनलाई थप मजबुत बनाउने छ,’ उनले भने ।

चार दिनसम्म चल्ने यो महोत्सवले नयाँ वर्षलाई सांस्कृतिक उत्सवको रूपमा स्थापित गर्दै बन्दीपुरको पर्यटनलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ ।
बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक एवं नयाँ वर्ष २०८२ तथा १२औं मौलिक (रैथाने) खाना एवं सांस्कृतिक महोत्सवका संयोजक बैसबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न महोत्सव उद्घाटन कार्यक्रममा प्रतिनिधि सभाका सांसद डा.स्वर्णिम वाग्ले, गन्डकी प्रदेशका सांसद अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।












