तनहुँ । बैशाख २
नयाँ वर्षको पहिलो दिन बैशाख १ गते सोमबार बन्दीपुर केवलकारबाट एकै दिन पाँच हजार भन्दा बढि पर्यटकले यात्रा गरेका छन् ।



बन्दीपुर केवलकारका महाप्रबन्धक रोमनमान श्रेष्ठका अनुसार नयाँ वर्षको दिन पाँच हजार भन्दा बढि यात्रुले केवलकारबाट यात्रा गरेका थिए । उक्त संख्या केवलकार सन्चालन भएपछिको एकै दिनमा सबैभन्दा बढि हो । विहान ७ बजेबाट साँझ ६ बजेसम्म केवलकारमा यात्रा गर्न यात्रुहरु लाममा बसेको महाप्रबन्धक श्रेष्ठले बताए ।

पहाडकी रानीको नामले चिनिने बन्दीपुरमा केवलकारको यात्रा गर्ने पर्यटकको संख्या दैनिकरुपमा बढ्न थालेको छ । अहिले विद्यालयहरु पनि सन्चालन नभएको र भ्रमण गर्ने उपयुक्त सिजन भएकोले पनि केवलकार मार्फत बन्दीपुर जाने यात्रुहरुको संख्या बढेको हो ।
अन्य दिनमा दैनिक पाँच सयको संख्यामा यात्रुहरुले केवलकारबाट यात्रा गर्दै आएकोमा नयाँ वर्षको पहिलो दिन पाँच हजार भन्दा बढिले यात्रा गरेको उनले बताए । विसं २०८० जेष्ठ ३१ गतेदेखि व्यवसायीक सन्चालनमा आएको बन्दीपुर केवलकारमा एक महिना अघिसम्म एक लाख भन्दा बढिले यात्रा गरिसकेका छन् ।

बन्दीपुरमा आउने आन्तरिक एवं बाह्य पर्यटकलाई मनोरञ्जन प्रदान गर्नका लागि केबलकारदेखि साहसिक खेलसम्मका गुरुयोजनाका साथ अघि बढाएको केवलकारको प्रबद्र्धक कम्पनी बन्दीपुर हिलले जनाएको छ । बन्दीपुरहिल गुरुयोजना भित्र पाँचतारे होटल, कुईन टावर, माईती ईमाङ्ग (मगर खानेकुराको बजार घर) एक हजार सिट क्षमताको सम्मेलन केन्द्र, ९७ मिटर लामो क्यान्टिलिभर, वाक थ्रु, स्काई डेक, मेटल क्लाईमविङ्ग लगायत समावेश छ ।
त्यसैगरी, एज वाक, क्याप्सुल लिफ्ट, भ्युजरुम, स्काई रेस्टुरेन्ट, फ्लाई डाईनीङ्ग, सोप स्विङ्ग, मेकानिकल स्विङ्ग, दुई हजार आठ सय मिटर लामो ‘मेगाट्रेल जिपलाईन’ एक हजार एक सय मिटर लामो बन्दीपुर सिद्धगुफा चियरलिफ्ट, स्काई साईक्लिङ, रोप जम्प, बन्जीजम्प, डिपार्टमेन्टल रेस्टुरेन्ट निर्माण गरिनेछ ।

त्यसैगरी १०८ फिटको आदियोगी शिवत्व पार्क, स्वयम्भुनाथ पार्क, स्विमिङपुल, हेल्थ क्लब, किड्स जोन, धार्मिक पार्क र जङ्गली म्युजियम लगायतका मनोरञ्जनात्मक पूर्वाधारहरु रहेका छन् ।
नयाँ वर्षको दिन पारेर बन्दीपुर केवलकारको बटम स्टेशनमा सुन्दर पर्यटकीय बगैचाको बिचमा रैथाने खानपिनको खास अनुभूति भन्ने नारा सहित स्थानीय रैथाने खानाका परिकारहरु पस्कने गरि ‘घुमाउने घर’ पनि सन्चालनमा आएको छ ।
मुख्य गरि मगर संस्कृतिलाई प्रबर्धन गर्ने गरि मगर भेषभुषा, रहनसहन र परिकारहरुमा केन्द्रित गर्दै सेवा शुरु गरिएको हो ।

साथै नेवारी र अन्य रैथाने खाना र पेय पदार्थहरु समेत उपलब्ध गराउने ‘घुमाउने घर’ रेस्टुरेन्टका व्यवस्थापक श्री माया थापा मगरले बताइन् । बन्दीपुर घुम्न आउने र पृथ्वी राजमार्गमा यात्रा गर्ने स्थानीय खानाका पारखीहरुलाई सुपथ मुल्यमा सेवा र सुबिधाहरु पस्कने ‘घुमाउने घरले’ जनाएको छ । साथै आकर्षक घुमाउने घर, परम्परागत घरहरु र कटेजहरुले सुन्दर रुपमा खाना बजारको झल्को दिने गरि सजावट गरिएको छ ।

उक्त घुमाउने घर बैशाख १ गते बाट शुभारम्भ भएपनी औपचारिक रुपमा भने बैशाख ६ गते उद्घाटन गरिने व्यवस्थापनले जनाएको छ । रैथाने खाना बजार बनाउनको लागी बन्दीपुर केवलकारसँग यस पुर्वनै पूर्वाधार र ठाउँ भाडाको सम्झौता गरि यो रैथाने रेस्टुरेन्ट ‘घुमाउने घर’ सन्चालनमा आएको हो ।












