प्रजातन्त्र सेनानी श्रेष्ठको निधन

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख ३

व्यास नगरपालिका–२ दमौली निवासी प्रजातन्त्र सेनानी मोतीकुमार श्रेष्ठको निधन भएको छ । श्रेष्ठको मङ्गलबार साँझ ९३ वर्षको उमेरमा निधन भएको हो । श्रेष्ठ लामो समयदेखि अस्वस्थ्थ थिए ।

श्रेष्ठ २००७ सालको प्रजातन्त्र स्थापनको आन्दोलन, २०४६ सालको प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलन र २०६२÷०६३ को जनआन्दोलन गरी तीन वटै आन्दोलनमा सहभागी भएका थिए । श्रेष्ठ नेपाली काँग्रेस तनहुँका पुर्व उपसभापती समेत हुन् । उनी व्यास नगरपालिका वडा नम्बर २ को पूर्व वडा अध्यक्षसमेत हुन् । स्व.श्रेष्ठको बुधवार पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरियो ।

श्रेष्ठको निधनप्रति नेपाली कांग्रेसका सभापति, संसदीय दलका नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । सभापती देउवाले श्रेष्ठ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।

यसैगरि नेपाली काँग्रेस केन्द्रीय कार्यालयले श्रेष्ठको निधन प्रति दुख व्यक्त गरेको छ । बुधबार शोक वक्तव्य प्रकाशित गरि नेपाली काँग्रेस केन्द्रीय कार्यालयले दुख व्यक्त गरेको हो । नेपाली काँग्रेसले शोक वक्तव्यमा भनेको छ–‘जीवनपर्यन्त प्रजातान्त्रिक आन्दोलन एवं सघर्षहरुमा होमिनु भएका स्वर्गीय श्रेष्ठ २००७ सालको जनक्रान्तिमा बन्दीपुरमा भएको संघर्षमा अग्रपक्तिमा रहेर भाग लिनु भएका जीउँदो शहीद हुनुहुन्थ्यो । उहाँसंगै गएका साथीहरु गोली लागि शहीद भएका थिए । उहाँको पैत्रिक थलो तनहुँसुर हरिया हो, जहां बन्दीपुर सघर्षमा मारिएका ६ जना शहीद मध्ये ४ जना यसै गाउँका थिए ।’

‘वि.सं.२००७ सालदेखि जीवनपर्यन्त प्रजातान्त्रिक आन्दोलन एवं सघर्षहरुमा सक्रिय मोतिकुमार श्रेष्ठ २०१७ सालपछि प्रजातन्त्र पुनस्र्थापनाका यावत घटनाहरुमा सक्रिय सहभागि हुनुहुन्थ्यो । वि.स. २०२५ सालमा तनहुँको सदरमुकाम दमौली सरेपछिका अत्यन्त संकट र कठिन दिनहरुमा बसोबास, रसदपानी, कार्यालयहरुको व्यवस्थापनका साथै दमौली बजार बस्ती बसाउने कार्यमा उहांको महत्वपूर्ण भूमिका रहेको थियो । जननायक वी पी कोइराला पहिलोपल्ट तनहुँ भ्रमणमा जाँदा र २०३६ को जनमत संग्रहमा असोज ६ गते दमौली जानुहुँदा आमसभा लगायतका कार्यहरुमा उहांले सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो ।’ नेपाली काँग्रेसले भनेको छ– ‘वि.स.२०४२ को सत्याग्रह, २०४६ को जनआन्दोलनमा महत्वपूर्ण कागजात सुरक्षित राखिदिने, आन्दोलनकारीलाई लुकाउने, आश्रय दिने र घाइतेको उपचारको प्रवन्ध गरिदिने जस्ता सहयोग गर्दा सुरक्षाकर्मीबाट गिरफ्तारीमा समेत पर्नु भएको थियो । नेपाली काग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँले निर्वाह गर्नु भएको सक्रिय भूमिका पार्टीमा सदैव स्मरणीय रहनेछ । उहाँको निधनबाट नेपाली काग्रेसले एक अग्रज र अनुभवी प्रजातन्त्र सेनानीलाई गुमाएको छ ।’

यसैगरि श्रेष्ठको निधन प्रति नेपाली काँग्रेस तनहुँले गहिरो दुख र समवेदना प्रकट गरेको छ । पार्टी सभापती जितप्रकाश आलेले बुधबार शोक वक्तव्य प्रकाशित गरि प्रजातन्त्र सेनानी श्रेष्ठको निधनले नेपाली काँग्रेस लाई ठुलो क्षती पुगेको बताएका छन् ।
नेपाली काँग्रेस तनहुँका पुर्व उपसभापति तथा जेष्ठ राजनीतिज्ञ समिति तनहुँको पुर्व उपसभापति मोती कुमार श्रेष्ठको निधनले नेपाली काँग्रेस तनहुँ स्तब्ध भएको भन्दै शोक वक्तव्यमा नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योढा तथा नेपाली काँग्रेसद्धारा आयोजना भएका विभिन्न आन्दोलन एवं अभियानहरुमा सक्रिय प्रजातन्त्र सेनानी श्रेष्ठको निधनले नेपाली कांग्रेसले एक सच्चा ईमान्दार र लोकतन्त्र प्रति प्रतिवद्ध कुशल संगठन कर्ता गुमाएको महशुस भएको जनाईएको छ ।

‘स्व.मोतिकुमार श्रेष्ठले २००७ सालको बन्दीपुर लगायतका जनक्रान्ति, २०३६ सालको जनमत संग्रह, २०४२ सालको सत्याग्रह एवं २०४६ सालको जन आन्दोलन र २०६२÷०६३ को संयुक्त जन–आन्दोलन लगायतका संघर्षहरुमा दिलोज्यानले समर्पित भएको व्यहोरा स्मरण गर्दै नेपाली कांग्रेस तनहुँले लोकतन्त्रका अथक योद्धा गुमाएको महशुस गरेको छ । यस दुःखद घडीमा दिवगंत आत्माको चिर शान्तिको कामना गर्दै नेपाली कांग्रेस तनहुँ शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दछ ।’ वक्तव्यमा भनिएको छ–‘स्वर्गिय नेता मोतिकुमार श्रेष्ठको सम्झनामा नेपाली काग्रेस तनहुँको जिल्ला कार्यालय बुधबार बन्द गरि पार्टीको झण्डा ३ दिन झुकाउने र पार्टी एवं भातृसंस्था र शुभेच्छुक संस्थाको कार्यक्रमहरु स्थगित गर्ने निर्णय गरिएको व्यहोरा यसै विज्ञप्ती मार्फत जानकारी गराईन्छ ।’

स्वर्गीय श्रेष्ठको निधनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य शंकर भण्डारी, केन्द्रीय सदस्यहरू गोविन्द भट्टराई, ध्रुव वाग्ले, आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुली, नेकपा एमाले केन्द्रीय सदस्य तथा राष्ट्रिय सभाकी सांसद भगवती न्यौपाने लगायतले दुःख व्यक्त गर्दै स्वर्गीय श्रेष्ठको निधनले प्रजातान्त्रिक आन्दोलनलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू