काठमाडौं । बैशाख २३
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवम् पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित उनको मङ्गलबार उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको थियो ।



तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वमा गठित पहिलो वामपन्थी सरकारमा नेपाल सूचना तथा सञ्चारमन्त्री थिए । यसैगरी उनले जलस्रोत र शिक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका थिए । एमालेको पोलिटब्युरो सदस्य रहिसकेका उनले पत्रकारिता एवम् साहित्य विधामा निरन्तर कलम चलाउँदै आएका थिए । नेपालले एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा प्रवक्ताका रूपमा समेत काम गरेका थिए ।
नवयुग, दृष्टि, छलफल, प्रकाश साप्ताहिकमा सम्पादक हुनुभएका नेपाल विभिन्न पत्रपत्रिकामा लेख, रचना र नियमित स्तम्भकारका रूपमा पनि सक्रिय थिए । भूमिगत कालमा उहाँ सञ्जय थापाका नाममा परिचित थिए ।
पूर्वमन्त्री एवं वामपन्थी नेता प्रदीप नेपालको आजै दाहसंस्कार गरिएको छ । मंगलबार दिउँसो नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएका नेता नेपालको कुनै श्रद्धाञ्जली सभा राखिएन ।
नेकपा एमालेका नेता समेत रहेका नेपालको परिवारकै आग्रह अनुसार पार्टी कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम नराखिएको केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए । ‘परिवारकै आग्रह अनुसार श्रद्धाञ्जलीका कुनै कार्यक्रम नराखिएको हो’ उनले भने, ‘पशुपतिस्थित विद्युतीय शवदाह गृहमा मंगलबार ने अन्त्येष्टि गरिएकोछ ।’
एमालेमा कुनै बेला प्रभावशाली नेता रहेका नेपाल पछिल्लो समय पार्टी गतिविधिबाट निष्क्रिय थिए ।