विष्णु मगर । देवघाट, बैशाख २५
देवघाट गाउँपालिका वडा नम्बर २ मा रहेको कराँदिप सामुदायिक होमस्टे पाहुनाको पखाईमा रहेको छ । २०७५ सालमा दर्ता भई सन्चालन आएको उक्त होमस्टे स्थापनाको छोटो समयमै लोकप्रिय बनेपनि पछिल्लो समय सडकको असहजताको कारण ओझेलमा पर्न थालेको छ ।



उक्त होमस्टेमा मगर समुदायका परिकारको स्वाद लिन तथा मगर जातीको कला र संस्कृतिसँग रमाउन पाईन्छ । पाहुनालाई आकर्षण गर्ने खुबी भएपनि यातयातको असहजताको कारण उक्त होमस्टेसम्म पुग्न नै माहाभारत हुने गरेको छ । उक्त होमस्टेसम्म पुग्ने कच्ची सडक हिउँदमा धुलो हुने र अहिले वर्षायाममा हिलोकारण कारण यातयात चलाउन निकै गाह्रो हुने वडा नम्बर २ का वडा सदस्य तथा होमस्टेका अध्यक्ष युवराज मगरले बताए ।
स्थानीय सरकार, प्रदेश सरकार र संघबाट उक्त होमस्टेसम्म पुग्नकोलागि सहजरुपमा सडक सुविधा उपलब्ध गराउनु पर्ने भन्दै अध्यक्ष मगरले सडक सुविधा पु¥याउन सके १२ महिना नै होमस्टे सन्चालन गर्न सकिने बताए ।
वर्षाको कारण बाटो अवरुद्ध हुँदा जेठ देखी असोजसम्म होमस्टेमा कुनै पनि पाहुना पुग्न सक्दैनन् । उक्त होमस्टेसम्म पुग्ने बाटोको स्तरोन्नतीको लागि वडा कार्यालय र गाउँपालिकाको कार्यालसँग पर्याप्त बजेट माग गरेपनि पाउन नसकेको वडा सदस्य मगरले बताए । ‘आफू वडा सदस्य भएता पनि पर्याप्त बजेट पार्न सकेको छैन’ उनले भने ‘वडामा आउने थोरै बजेट सबै टोलमा बाड्नु पर्दा बजेट कनिका छरेको झैं भएको छ ।’ उक्त होमस्टेसम्म पुग्ने बाटोको लागि नरम देखि करादिप सम्म जोड्ने नयाँ ट्रयाकलाई प्राथामिकता दिन गन्डकी प्रदेश सरकारसँग माग गरिएको उनले बताए ।
उक्त होमस्टे २०७४ सालमा स्थापना भएपनि २०७५ सालमा दर्ता भई सन्चालन भै रहेको होमस्टेका अध्यक्ष मगरले बताए । सो क्षेत्रमा रहेका २० घर मगर जातीले गाउँको मगर समुदायको रिति रिवाज, भेष भुषा, रहन सहन, संस्कार र संस्कृतिलाई बचाउने उद्देश्यले संचालन गरिएको अध्यक्ष मगरले बताए । सो होमस्टेमा मगर समुदायमा पाईने सबै परिकार हरु नयाँ तरिकाले बनाई तथा अर्गानिक परिकारहरु पाइने मगरले बताए ।
कच्ची तथा हिलो र धुले बाटोको कारणले हाल व्यावसायिक रुपमा होमस्टे सन्चालनमा समस्या भईरहेको भन्दै अध्यक्ष मगरले भविष्यमा सडक सुविधा भएपछि होमस्टे राम्रोसँग चल्ने विश्वास व्यक्त गरे । होमस्टेमा आउने पाहुनाहरुले एकदमै राम्रो ठाउँ र राम्रो खानपिन संस्कृति राम्रो रहेको भन्दै बाटोलाई सहज बनाउन सबैले सल्लाह दिएको मगरले बताए । यो गाउँ न लेक न फाँटमा रहेको तथा बिच भागमा भएकोले न त गर्मी न त जाडो मौसम भएकोले हावापानीको दृष्टिकोणले पनि उचित रहेको अध्यक्ष मगरले बताए ।
होमस्टेमा आउने पाहुनालाई मौलिक कौराहा, झ्याउरे, सालैजो नाचहरुले स्वागत गरिने मगरले बताए । सो होमस्टेका खाजाका परिकारहरु मासको बटुक, कोदोको सेलरोटी, भुटेको मकै, सिजन अनुसारले बन तरुल, तथा घर तरुल र गिठ्ठा, आयुवैदिक खयरको चिया, तिल र गन्द्रुकको अचार र खानाको परिकारहरु कोदोको ढिडो, मकैको भात, लोकल चामलको भात, सामा, काउनी, सिस्नु, मासको दाल, मुसोरको दाल, केराउको दाल, लोकल कुखुरा, खसी, सुगुरको मासु तथा अडर अनुसारको अन्य परिकार समेत उपलब्ध गराउने मगरले बताए । पछिल्लो समयमा करादिप होमस्टे सबैको नजरमा परेको हुँदा अघिल्ला वर्षमा भन्दा पछिल्लो वर्षमा पाहुनाहरु बढेको अध्यक्ष मगरले बताए ।
देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले गाउँपालिका होमस्टेको प्रवद्र्धनमा जुटेको बताउँछन् । गाउँपालिकाका क्षेत्रलाई धार्मिक र सांस्कृतिक पर्यटनका रुपमा विकास गर्न लागेको भन्दै अध्यक्ष थापाले होमस्टेको प्रबद्र्धन मार्फत देवघाटमा थप पर्यटक भित्र्याउन सकिन्छ । ‘देवघाट धार्मिक पवित्रधामका रुपमा चिनिएको छ, जनजातिको बसोबास पनि छ’, अध्यक्ष थापाले भने, ‘५ वटै वडालाई समेटेर एकिकृत पर्यटन विकासको काम भइरहेको छ ।’
सामुदायिक वन महासंघ गण्डकी प्रदेशका सचिव केशवचन्द्र न्यौपानेले सप्तगण्डकी र कालिगण्डकी नदीले घेरिएको देवघाट क्षेत्र प्राकृतिक रुपमा रमणीय रहेको बताउँछन् । ‘तराईदेखि हिमालसम्मको हावापानी एउटै गाउँपालिकामा पर्छ’, उनले भने, ‘पर्यटक भित्राउने प्रवल सम्भावना छ, हरेक वडाहरु घुम्न लायक छन् ।’ होमस्टेलाई व्यवस्थित गरेर सञ्चालन गरेमा पर्यटक चहलपहल बढ्ने न्यौपानेले बताए । ‘अर्गानिक उत्पादन बढी छ, खपत पनि हुन्छ, बजारीकरण पनि हुन्छ’, उनले भने, ‘पर्यटन लक्षित कार्यक्रम मार्फत स्वरोजगारको वातावरण सृजना हुनेछ ।’