देवघाट । जेठ ४
तनहुँका १० स्थानीय तह मध्ये देवघाट गाउँपालिका आर्थिक वर्ष २०८०/८१ को बेरुजुमा चौंथो भएको छ । महालेखा परीक्षकको कार्यालयले गत बुधबार सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदन अनुसार तनहुँका १० स्थानीय तह मध्ये देवघाट बढि बेरुजु हुने चौंथो पालिका बनेको छ ।



देवघाट गाउँपालिकामा आ.व २०८०/८१ म रु दुई करोड ६७ लाख ७२ हजार बेरुजु रकम रहेको छ । देवघाटको कुल बेरुजु २.४२ प्रतिशत रहेको थियो । उक्त आवमा देवघाट गाउँपालिकाको एक अर्ब दश करोड ६३ लाख सात हजार रुपैयाँको लेखा परिक्षण गरिएको थियो ।
तनहुँमा सबैभन्द बढि बेरुजु बन्दिपुर गाउँपालिकाको ४.०९ प्रतिशत अर्थात चार करोड ३० लाख ६३ हजार रहेको छ भने सबैभन्दा कम भानु नगरपालिकाको ०.५० प्रतिशत अर्थात एक करोड १६ लाख ११ हजार बेरुजु रहेको छ ।
तनहुँ स्थानीय तहमा आर्थिक वर्ष २०८०/८१ मा रु ३० करोड बढी बेरुजु देखिएको छ । जिल्लाका दश स्थानीय तहमा रु ३० करोड ७९ लाख २८ हजार बेरुजु देखिएको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष जिल्लाका स्थानीय तहमा बेरुजु बढेको छ । आर्थिक वर्ष २०७९/८० मा जिल्लाका स्थानीय तहमा रु २६ करोड ९५ लाख ४४ हजार बेरुजु थियो ।
आँबुखैरेनी गाउँपालिकामा रु एक करोड ८४ लाख ६३ हजार, ऋषिङ गाउँपालिकामा रु दुई करोड २१ लाख २८ हजार, घिरिङ गाउँपालिकामा रु एक करोड ८६ लाख ७८ हजार, बन्दीपुर गाउँपालिकामा रु चार करोड ३० लाख ६३ हजार, म्याग्दे गाउँपालिकामा रु एक करोड ६७ लाख ८९ हजार बेरुजु देखिएको छ ।

लेखापरीक्षण अनुसार भानुमा ०.५०, भिमादमा २.८२, व्यासमा १.८४, शुक्लागण्डकीमा २.९३, आँबुखैरेनीमा १.९०, ऋषिङमा १.७५, घिरिङमा २.०२, बन्दीपुरमा ४.०९ र म्याग्देमा १.३९ प्रतिशत बेरुजु देखिएको छ ।
त्यसक्रममा भानु नगरपालिकामा रु दुई अर्ब ३३ करोड ३० लाख ८१ हजार, भिमाद नगरपालिकामा रु एक अर्ब ४५ करोड ३५ लाख १७ हजार, व्यास नगरपालिकामा रु तीन अर्ब २३ करोड ५४ लाख ५२ हजार, शुक्लागण्डकी नगरपालिकामा रु एक अर्ब ६९ करोड ३३ लाख १९ हजारको लेखापरीक्षण गरिएको थियो ।
त्यस्तै आँबुखैरेनी गाउँपालिकामा रु ९७ करोड ३४ लाख ९४ हजार, ऋषिङ गाउँपालिकामा रु एक अर्ब २६ करोड आठ लाख ६५ हजार, घिरिङ गाउँपालिकामा रु ९२ करोड ५६ लाख ७४ हजार, बन्दीपुर गाउँपालिकामा रु एक अर्ब पाँच करोड १७ लाख २७ हजार र म्याग्दे गाउँपालिकामा रु एक अर्ब २० करोड ९६ लाख ४५ हजारको लेखापरीक्षण गरिएको थियो ।
सार्वजनिक आय र व्ययको कार्य प्रचलित कानूनी विधि प्रकृया पूरा नगरी देखा पर्ने अनियमित रकमलाई बेरुजु भनिन्छ । यो आर्थिक कारोवारको हिनामिना हो, जसलाई आर्थिक अनुशासनहिनताको उपजका रुपमा लिइन्छ । यो प्रचलित कानून बमोजिम पु¥याउनुपर्ने रित नपु¥याई कारोवार गरेको, राख्नुपर्ने लेखा नराखेको, बेमनासिब तरिकाले आर्थिक कारोवार गरेको रकम कलम हो ।












