विष्णु मगर । देवघाट, जेठ ८
राष्ट्रपति महिला उत्थान जिविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत देवघाटका महिला कृषकहरुलाई पाँच दिने बाख्रा पालन तालिम सुरु भएको छ । देवघाट गाउँपालिकाको आर्थिक सहयोगमा देवघाट–५ स्थित चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाको आयोजनामा भएको उक्त कार्यक्रमको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले उद्घाटन गरे ।



उक्त कार्यक्रममा बोल्दै अध्यक्ष थापाले सो कार्यक्रममा महिलालाई जिविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले सो तालिम आयोजना गरिएको बताए । तालिमपछि महिलाहरुले व्यवसायीक रुपमा बाख्रा पालनमा लाग्नुपर्ने अध्यक्ष थापाले सुझाव दिए । देवघाटका डाँडापाखामा बाख्रा पालनकोलागि आवश्यक पर्ने घाँस प्रसस्त पाइने हुँदा बाख्र पालनमा खासै दुख नहुने अध्यक्ष थापाले बताए ।
देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङले चक्रवर्ती महिला सहकारी सस्थाले महिलाहरुलाई आयआर्जनमा सहभागी गराई आत्मनिर्भर बनाउन सहयोग गर्दै आएको बताए । देवघाटका अति विपन्न, एकल महिलाहरुलाई तालिममा प्राथमिकता दिई उनीहरुलाई आर्थिक रुपमा आत्मनिर्भर र मुलधारमा ल्याउनुपर्ने उनले बताए ।
देवघाट गाउँपालिका कार्यक्रम अधिकृत कृष्णराज पन्तले चक्रवर्ती सामाजिक उद्यमी सहकारीले निश्वार्थ भावनाले कार्यक्रमको सहजिकरण गरेको बताए । जुन उद्देश्यले बाख्रा पालन तालिम आयोजना गरिएको छ, त्यो पुरा हुने उनले अपेक्षा गरे ।
देवघाट महिला सन्जालकी सचिव एलिजा अधिकारी क्षेत्रीले बाख्रा पालनलाई व्यवसायीक बनाई आर्थिक स्तर वृद्धि गर्न सकिने बताइन् ।

गाउँपालिकाका पशुपन्छी तथा मत्स्य विकास शाखाका प्रमुख प्रदिप सापकोटाले बाख्रा पालन गर्नु अघि केही व्यवहारिक सिप आवश्यक पर्ने बताए । उनले तालिममा बाख्रा पालनको बारेमा आधारभुत सिप प्रदान गरिने बताए ।
चक्रवर्ती सामाजिक महिला उद्यमी सहकारी सस्थाकी व्यवस्थापक संगिता ओझा भुर्तेलले सहकारीले महिलाहरुलाई लक्षित गरि विभिन्न आयमुलक कार्यक्रम गर्दै आएको बताइन् । सहकारीले आफ्ना १०९ जना शेयर सदस्यलाई बेसार खेतीमा आवद्ध गराएको उनले जानकारी दिइन् । त्यस्तै सहकारीका शेयर सदस्यहरुबाट संकलित दुधबाट सहकारीको आफ्नै डेरीमा दुग्धजन्य विभिन्न बस्तुहरु उत्पादन गरि विक्री गर्दै आएको पनि उनले जानकारी दिइन् ।
उक्त तालिममा गाउँपालिकाका पशुपन्छी तथा मत्स्य विकास शाखाका प्रमुख प्रदिप सापकोटा सहित संकल्प पन्थी र अर्जुन सापकोटाले प्रशिक्षण दिनेछन् ।
चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष सावित्री न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सन्चालन सहकारीकी व्यवस्थापक संगिता ओझा भुर्तेलले गरेकी थिइन् । पाँच दिनसम्म चल्ने उक्त तालिममा देवघाटका ५ वटा वडाका २५ जना महिलाहरु सहभागी भएका छन् ।












