तनहुँ । जेठ ८
तीन सय शैयामा स्तरोन्नतिका लागि प्रक्रिया सुरु भएसँगै जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र स्तरोन्नती सम्बन्धी सार्वजनिक सुनुवाई गरिएको छ ।



तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेको सो अस्पतालको स्तरोन्नतीको लागि गत जेठ ४ गते वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन तयारीकालागि क्षेत्र निर्धारण सम्बन्धी सार्वजनिक सुचना निकालिएको थियो । शहरी विकास तथा भवन निर्माण विभागले निकालेको सुचनामा श्रीया कसल्टेन्सी प्रालिले परामर्शदाताको जिम्मेवारी पाएको छ ।
सोहि कसल्टेन्सीले बुधवार वडा नम्बर ५ स्थित वडा कार्यालयमा सरोकारवालाको सहभागितामा सार्वजनिक सुनुवाई गरेको अस्पतालका कार्यकारी निर्देशक डा.राम कुमार श्रेष्ठले जानकारी दिए । सहभागीले निर्माणको क्रममा र सम्पन्न पश्चात पारस्थितीकीय प्रणाली, स्थानीय समुदायलाई कुनै असर नगरी काम अगाडी बढाउन सुझाव दिए ।
उनीहरुले अस्पतालको स्तरोन्नतीमा नगरवासीको साथ सहयोग रहेको बताउदै चाडो सकेर सेवा प्रवाहलाई प्रभावकारी बनाउन सुझाव दिए । शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले तत्कालिन सेती गंगा सामुदायिक अस्पताल निर्माणका क्रममा दाताले गरेको सहयोगलाई अस्पतालले भुल्न नहुने बताए ।
नगर उपप्रमुख खुम बहादुर विक राजुले अस्पतालको गठन आदेश परिवर्तन गरी स्थानीय तहलाई पनि समावेश गरेमा अपनत्व बढ्ने उल्लेख गरे । साथै अस्पतालजन्य फोहोर व्यवस्थापन, अस्पताल मातहत रहेको जग्गा संरक्षण, सेवा प्रवाहका विषयमा स्थानीयले विषय उठान गरेको वडा नम्बर ५ का अध्यक्ष दिर्घ बहादुर थापाले जानकारी दिए ।
अस्पतालको स्तरोन्नति गरी देशकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाउने लक्ष्य राखिएको छ । त्यसका लागि अस्पतालको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार भइसकेको छ । उपचार केन्द्रको अस्पताल भवनको स्तरोन्नति, आयोजना निर्माण तथा सञ्चालन गर्न, प्रस्तावित आयोजनाको संरचनामा अस्पताल भवन, आकस्मिक सेवा भवन, बहिरङ्ग विभाग, प्रशासनिक भवन, व्यावसायिक भवन, कुरुवा घर, कर्मचारी आवास, खानेपानी ट्याङ्की, अक्सिजन प्लाण्ट, फोहर व्यवस्थापन कक्ष, शवगृह, खेलमैदान, पार्किङ, बहुउद्देश्यीय भवन, पार्क र हेलिप्याड प्रस्ताव गरिएको छ ।
त्यसका लागि पाँच सय ४७ रोपनी जग्गा आवश्यक पर्ने देखिएको डा. श्रेष्ठले बताए । डिपीआरसहित सम्बन्धित मन्त्रालयबाट तयार पारिएको कागजपत्र अहिले नयाँ दिल्लीमा पुगेको छ । नेपाल सरकार र भारत सरकारबीच सम्झौता भएपछि मात्र निर्माणको कार्य अघि बढ्ने छ । पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापना भएको श्वासप्रश्वाससम्बन्धी विशिष्टिकृत अस्पतालमा हाल पचास जनरल वार्ड मात्र रहेकाले श्वासप्रश्वासका बिरामीको उपचारमा समस्या भइरहेको छ ।
सरकारले वि.सं २०६७ मा केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोही ठाउँमा रहेको सेतीगङ्गा सामुदायिक अस्पतालको स्वामित्व वि.सं २०७५ मा उपचार केन्द्रलाई हस्तान्तरण गरिएको थियो । हाल उपचार केन्द्रको नाममा सात सय ४० रोपनी जग्गा प्राप्ति भइसकेको छ । पचास शैयाको अस्पतालमा सवारी दुर्घटनाका घाइतेबाहेक झाडापखला, टाइफाइड, ज्वरो, ग्याष्ट्रिक, पेटसम्बन्धी र हाडजोर्नीका बिरामी नियमित आउने गरेका छन् ।
जनतालाई सहज रूपमा सबै प्रकारका स्वास्थ्य सेवा दिने उद्देश्यसहित सुविधा विस्तार गरिएको अस्पतालले जनाएको छ । अस्पतालमा तनहँुको शुक्लागण्डकी, भीमाद नगरपालिका र म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा र नवलपरासीका केही गाउँपालिकाबाट सेवाग्राही आउने गरेका छन् ।
अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन, हेमोडायलाईसिस सेवा प्रदान गरिरहेको छ । त्यसबाहेक अस्पतालले केही समय अगाडिबाट कल्चर सेवा पनि सुरु गरेको छ । अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवा, चौबिसै घण्टा इमर्जेन्सी सेवा, प्रयोगशाला, भिडियो एक्सरे, सामान्य शल्यक्रिया सेवा दिइरहेको छ । अस्पतालमा दैनिक दुई सय ५० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेकामा तीमध्ये करिब ५० जना बिरामी श्वास प्रश्वाससम्बन्धीका रहेका अस्पतालले जनाएको छ ।












