तनहुँ । जेठ २०
बुधबार जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस । नेपाल सरकारले वि.सं २०६३ साल जेठ २१ गते सबै किसिमका विभेद र जातिय छुवाछुत उन्मुलन राष्ट्र घोषणा गरेको स्मरणमा देशैभर भेदभाव तथा छुवाछुत विरुद्ध विभिन्न कार्यक्रम गरि मनाइदैछ ।



यस अवसरमा बुधबार तनहुँको दमौलीमा संयुक्त राजनीतिक दलित संघर्ष समिति तनहुँको आयोजनामा उत्सवको रुपमा यो दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ ।
उक्त दिवसको अवसरमा तनहुँका सबै स्थानीय तहले स्थानीय बिदा दिएका छन् । सबै स्थानीय तहले स्थानीय तह अन्तर्गतका कार्यालय, सम्पुर्ण वडा कार्यालय, विद्यालय तथा संघ संस्थामा सार्वजानिक बिदा दिएका छन् । स्थानीय तहले जातिय विभेद तथा छुवाछुत उन्मुलन सम्बन्धी सचेतना कार्यक्रम सन्चालन गर्न पनि अनुरोध गरेका छन् ।

नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवद्र्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामुलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प राखेको छ ।
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो । यसको विरुद्धमा दृढतापूर्वक उभिई लोकतान्त्रिक राज्य प्रणालीलाई सार्थक बनाउन सम्पूर्णलाई संवेदनशील हुन हार्दिक अपिल सहित जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसबाट सुसंस्कृत र छुवाछुतरहित समतामूलक समृद्ध समाज निर्माण गर्न लाग्नुपर्छ ।












