असुरक्षित बन्दै देवघाटः मदिराको खुलेआम विक्री र लागुऔषध प्रयोगकर्ता बढ्दै

Devghat Online

शेयर गरौ

देवघाट । असार ९

तनहुँको प्रसिद्ध धार्मिक स्थल देवघाट पछिल्लो समय असुरक्षित बन्दै गएको छ । देवघाट गाउँपालिका–५ का बद्रीमुक्ती टोलका ३२ बर्षीय प्रकाश पौडेल गत बुधबार राती मदिरा सेवनको क्रममा हत्या भयो । सँगै बसेर मदिरा सेवन गरेका ३ जना साथीले उनको हत्या गरेका थिए ।
यस घटनापछि देवघाटधाम क्षेत्रमा हुने गरेको अबैध तथा अपराधिक गतिविधिको बारेमा स्थानीयहरुले आवाज उठाएका छन् ।

पौडेलको हत्या गरि भागेका ३ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा नं. ३ हटिया घर भई हाल देवघाट गाउँपालिका वडा नं.५ मा ज्याला मजदुरी गरी बस्ने वर्ष ४२ को राम लामा, पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नं. ८ नयाँपाटी घर भई हाल देवघाट गाउँपालिका वडा नं. ५ मा ज्याला मजदुरी गरी बस्ने वर्ष २८ को बुद्ध सारु मगर र महोत्तरी जिल्ला बर्दिवास नगरपालिका-१ बस्ने बर्ष ४६ का जोगी भन्ने लोक बहादुर महत रहेका छन् । प्रहरीले लामा र मगरलाई विहिबार विहान र महतलाई शुक्रबार पक्राउ गरेको हो । लामा, मगर र महतले देवघाट गाउँपालिका-५ बद्रीमुक्ती टोलका पौडेलको बिहिवार बिहान कुटपिट गरि हत्या गरि भागेको प्रहरीले जनाएको छ । पौडेल बिहीबार बिहान ५ बजे घरदेखी ३ सय मिटर पर कच्ची सडकमा लडिरहेको अवस्थामा स्थानीयहरुले देखि तत्काल उपचारको लागि भरतपुर सरकारी अस्पताल चितवन लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

देवघाटमा पछिल्लो समय खुलेआम मदिरा बिक्री, लागु औषधको प्रयोगकर्ताहरुको बाक्लो आवतजावत लगायतका गतिविधि हुने गरेका छन् । तिनवटा मोटरेवल पुल तथा त्यती नै संख्यामा झोलुङ्गे पुल हुँदै देवघाट गाउँपालिका जान आउन सकिने हुँदा लागु औषध प्रयोगकर्ताहरु देवघाटलाई सुरक्षित स्थान मान्न थालेको देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष शिवराज पौडेलले बताए । देवघाट संबेदनशिल एरियामा पर्ने भएपनि गाउँपालिका त्यसै अनुसार संवेदनशिल बन्न नसकेको पौडेलले बताए । मदिरा बिक्रीलाई नियमन गर्न नसक्नु, गाँजा तथा ड्रक्स लगायतका अबैध लागु औषधको प्रयोगमा नियन्त्रण गर्न नसक्नु गाउँपालिका र इलाका प्रहरी कार्यालय देवघाटको कमजोरी रहेको पौडेलले बताए । देवघाटधाममा मदिरा निषेध गर्नुपर्ने आवाज स्थानीय स्तरबाट उठेपनि गाउँपालिकाले यस सम्बन्धमा हालसम्म कुनै नीति बनाउन नसकेको पौडेलले बताए ।

अवान्छित व्यक्तिहरुको खुलेआम प्रवेश तथा गतिविधिलाई नियन्त्रण गर्न नसक्नुले पनि देवघाटमा अपराधिक घटना बढ्न थालेको छ । पुलको मुखमा मदिरा सेवनबाट लट्ठिएका व्यक्तिहरुले महिला तथा जेष्ठ नागरिकसँग जबरजस्ती पैसा माग्ने, त्यस्ता व्यक्तिहरु पुलको मुखमा सुत्ने, महिलाहरुलाई अभद्र व्यवहार गर्ने जस्ता कार्य हुँदा पनि प्रहरीले केही नियन्त्रण गर्न नसकेको पौडेलले बताए । रोटरी क्लव जस्ता केही सामाजिक संस्थाहरुले निशुल्क खाना खुवाएको कारण पनि अवान्छित तथा केही काम गर्न नखोज्ने प्रवृत्तिका व्यक्तिहरु निशुल्क खानाको लोभमा देवघाटमा आउने र त्यतै भुल्ने गरेको पौडेलले बताए । यस्तो निशुल्क खाना खुवाउने कार्यलाई व्यवस्थित बनाउन सकिने उनको भनाई छ ।

यसैगरि उद्योग वाणिज्य संघ देवघाटका अध्यक्ष रोशन श्रेष्ठले देवघाट क्षेत्रमा मदिरा विक्रीलाई व्यवस्थित गर्ने धेरै प्रयास गरेपनि सफल नभएको बताए । साँझ ५ बजेपछि मदिरा विक्री गर्न नदिने निर्णय संघले गरेपनि त्यसको कार्यान्वयन व्यापारी र प्रहरीबाट नभएको श्रेष्ठले बताए । बाहिरबाट आएर निशुल्क खाना खान पाउने भएकै कारण पनि अपराधिक प्रबृत्तिका व्यक्तिहरु देवघाटमा आई बस्ने गरेको श्रेष्ठले बताए ।

देवघाटका अगुवा तथा क्षेत्री समाज देवघाटका अध्यक्ष गणेश थापाले देवघाटमा अपराधिक घटना नियन्त्रण गर्न मदिरा विक्री वितरण कार्यलाई पुर्ण रुपमा नियन्त्रण गर्नुपर्ने, चितवनमा रहेको रोटरी बृद्धाश्रममा बढिमा दुई दिनसम्मा मात्र निशुल्ःक खाना र आवासको व्यवस्था गर्नुपर्ने, झोलुङ्गे पुलमा माग्न बस्नेहरुलाई रोक्नुपर्ने, माग्न बस्ने र जोगीहरुको नागरिकता र फोटो संकलन गर्नुपर्ने, झोलुङ्गे पुल क्षेत्रमा रात्रीकालिन गस्ती बढाउनुपर्ने जस्ता सुझाव दिएका छन् । यि सुझावहरु कार्यान्वयनकोलागि देवघाट गाउँपालिका, इलाका प्रहरी कार्यालय र देवघाट क्षेत्र विकास समितिले पहल गर्नुपर्ने थापाको भनाई छ ।

इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज प्रहरी नायव निरिक्षक उदयराज पौडेलले आफ्नो क्षेत्रमा मदिरा खाएर कसैले हो हल्ला गरेमा प्रहरीलाई तुरुन्त खबर गर्नुपर्ने बताउँछन् । घटना घटिसकेपछि मात्र प्रहरीलाई जानकारी हुने हुँदा घटना हुनु अघि नै त्यस्तो घटना नियन्त्रण गर्न नसकिएको उनले बताए । मदिरा बिक्रीको बारेमा देवघाट गाउँपालिका र देवघाट क्षेत्र विकास समितिले कुनै नियम बनाएमा प्रहरीले त्यसलाई कडाइका साथ कार्यान्वयन गर्ने बताए ।

इप्रका देवघाटका इन्चार्ज पौडेलले निशुल्क खाना खुवाउने संघ संस्थाहरुले पनि खाना खाने व्यक्तिको बारेमा पहिचान दिनुपर्ने उनले बताए । देवघाटको प्रवेश क्षेत्रमा जोडिएका सिसि क्यामेराले कतै पनि काम नगर्ने हुँदा नयाँ सिसि क्यामेरा जोड्न गाउँपालिकाले पहल गर्नुपर्ने पौडेलले बताए । देवघाट प्रवेश गर्ने नाकाहरुमा रात्रीकालिन गस्ती र सादा पोशाका प्रहरी खटाइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पराजित उम्मेदवारहरुले दिए बिजयीहरुलाई बधाई र मतदातालाई धन्यवाद

तनहुँ । फागुन २३ तनहुँको दुबै निर्वाचन क्षेत्रमा पराजित भएका उम्मेदवारहरुले बिजयी सांसदहरुलाई बधाई दिएका