तनहुँको देवघाट र ऋषिङ गाउँपालिकामा जलवायुमैत्री कृषि प्रविधि कार्यक्रम

Devghat Online

शेयर गरौ

देवघाट । असार १७

तनहुँको देवघाट र ऋषिङ गाउँपालिकामा जलवायुमैत्री कृषि प्रविधि कार्यक्रम सन्चालन गरिएको छ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा पर्ने असर तथा प्रभाव न्यूनीकरणका लागि असल कृषि अभ्यास र प्रविधिको अवलम्बन गरी जलवायु अनुकूल क्षमताको विकास गर्दै उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश तथा कृषि ज्ञान केन्द्र तनहुँको सहयोगमा देवघाट र ऋषिङमा जलवायुमैत्री कृषि प्रविधि कार्यक्रम सञ्चालन गरिएको हो । कृषि ज्ञान केन्द्र अन्तर्गत आर्थिक वर्ष २०८१/०८२ मा दुईवटा जलवायु मैत्री कृषि प्रवद्र्धन कार्यक्रम स्वीकृत भएको थियो । त्यस अन्तर्गत एउटा क्षेत्रमा १० लाखको योजना अन्तर्गतको कार्यविधि अनुसार पालिकाहरूसँग समन्वय गर्दा देवघाट र ऋषिङ्गमा दुईवटा पालिका छनोट भएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख गोपाल शर्मा लामिछानेले बताए । पालिका छनौट पश्चात पालिकाको सिफारिसको आधारमा वडा र समुह छनौट गरि कार्यक्रम सन्चालन गरिएको लामिछानेले बताए ।

पछिल्लो समय जलवायु परिवर्तनको कारण तापक्रम बढ्दै गएको र त्यसले कृषिलाई समेत प्रभाव पारिरहेको अवस्थामा जलवायु अनुकुलन कार्यक्रम सन्चालन गरि कृषि बालीलाई बृद्धि गर्न सकिने तरिकाले स्थानीय तहसँग समन्वय गरेर उक्त कार्यक्रम सन्चालन गरिएको प्रमुख लामिछानेले बताए ।

कार्यक्रम अन्तर्गत देवघाट गाउँपालिका–४ को गाइघाटमा नमुना कृषी समुह गठन गरि ६ वटा प्लास्टिक टनेल निर्माण, ५ हजार लिटर क्षमताको ३ वटा पानी टंकी तथा उक्त पानी टंकीमा पानी जम्मा गरि थोपा सिंचाई मार्फत कृषि बालीमा सिंचाई गर्न थोपा सिचाई सेट ६ थान, ११ सय मिटर ४० एमएमको पाईप, २५ एमएमको ११ सय मिटर पाईप, गार्डेन पाईप २० थान र २० वटा हजारी उपलब्ध गराईएको छ । उक्त सबै कार्यक्रमको लागत ११ लाख रहेकोमा १० लाख कृषि ज्ञानकेन्द्रले उपलब्ध गराउने र बाँकी १ लाख स्थानीय जनश्रमदान वापत हुनेछ ।

उक्त कार्यक्रमको मंगलबार देवघाट गाउँपालिका र कृषि ज्ञानकेन्द्र तनहुँले संयुक्त रुपमा अनुगमन गरेको छ । उक्त अवसरमा बोल्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले गाइघाटमा तरकारी खेतीको प्रचुर सम्भावना रहेको हुँदा गाउँपालिकाले उक्त क्षेत्र छनौट गरि कार्यक्रम सन्चालन गरिएको बताए । जलवायु अनुकुल वातावरण तयार गरि तरकारी उत्पादन गर्ने कार्यक्रम सन्चालन गरिएको हुँदा सबैले यसबाट लाभ लिनुपर्ने अध्यक्ष थापाले बताए । गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरुङले पनि उक्त कार्यक्रमबाट लाभ लिन कृषकहरुलाई अनुरोध गरे ।

कृषि ज्ञानकेन्द्र तनहुँका प्रमुख लामिछानेले तनहुँका २ वटा पालिकाको २ वटा कृषक समहुमा मात्र यो कार्यक्रम लागु भएको हुँदा यस क्षेत्रका कृषकहरुले यसबाट प्रसस्त लाभ लिनुपर्ने बताए । सरकारको उद्देश्य अनुसार कृषकहरुले पनि मेहनेत गरि तरकारी उत्पादन गरि आत्मनिर्भर बन्न लामिछानले अनुरोध गरे । जलवायुजन्य प्रकोप तथा जोखिमको अवस्था, समुदायको सामाजिक, आर्थिक अवस्था, भौगोलिक विकटता, खाद्य सुरक्षाको अवस्थाको अध्ययन तथा अनुसन्धान गरी कार्यक्रम सञ्चालनमा ल्याइएको लामिछानेले बताए ।

नमुना कृषक समुहका अध्यक्ष डिलबहादुर भुजेलले राजमार्गको नजिकै भएपनि त्रिशुलीमा मोटरेवल पुल नहुँदा गाईघाट दुर्गम भेग जस्तै भएको बताए । उनले आफुहरुको क्षेत्रमा राम्रो कार्यक्रम सन्चालन भएको हुँदा उक्त कार्यक्रम सफल पार्न सबै कृषकहरु लाग्ने बताए । गाइघाटका २२ घरधुरी जलवायुमैत्री कृषि प्रविधि कार्यक्रममा सहभागी भएको अध्यक्ष भुजेलले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दोस्रो अन्तर विद्यालय आइएसओ रनिङ्गशिल्ड सम्पन्न, न्यु भिजन एकेडेमी प्रथम

देवघाटअनलाईन चितवन, मंसिर २७ । संस्थागत विद्यालय संघ चितवनको आयोजनामा दोस्रो अन्तर विद्यालय आइएसओ रनिङ्गशिल्ड