तनहुँ । असार २४
व्यास नगरपालिकाको नगरसभाले एक अरब एकासी करोड छयत्तर लाखको बजेट पारित गरेको छ । मंगलबार भएको नगरपालिकाको ४३ औं नगर सभाले आर्थिक वर्ष २०८२/०८३ का लागि संशोधन सहितको उक्त बजेट कार्यक्रम सर्वसम्मत पारित गरिएको हो ।



उक्त नगरसभाले व्यास नगरपालिका आर्थिक विधेयक २०८२ सहित, विनियोजन विधेयक २०८२, न्यायिक समिति ऐन, कार्यविधि र वन ऐन संशोधन २०८२ समेत पारित गरेको थियो । नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा नगरसभा सम्पन्न भएको कार्यक्रममा नगर सभाले नगर सभामा न्यायिक समित संयोजक इन्दिरा दरै, सामाजिक विकास समिति संयोजक चन्द्रमाया परियार, पूर्वाधार विकास समिति संयोजक सुरेश थापा, आर्थिक विकास समिति संयोजक खेमराज पोखरेल, विधायन समिति संयोजक रमेशचन्द्र हड्खले, लेखा समिति संयोजक विष्णुकुमार श्रेष्ठ, सुशासन समिति संयोजक दल बहादुर दुरा र वन वातावरण समिति संयोजक रनसि नेपालीले सम्बन्धित समितिले गरेका गतिविधिहरुको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यस्तै स्वास्थ्य सम्बन्धि संगठन संरचना प्रतिवेदन र प्रशासनिक संगठन सम्बन्धि संरचना अध्यावधिक प्रतिवेदन प्रमुख प्रशासकिय अधिकृत श्री काशिराम गैरे, शिक्षा समिति प्रतिवेदन नगर शिक्षा अधिकारी केदार राज आचार्य, घर नक्सा मापदण्ड र मानुङ्ग जग्गा विकास मापदण्ड घर नक्सा पास शाखा प्रमुख अमृत केसीले प्रस्तुत गरेका थिए ।
नगरसभामा आ.व. ०८२/०८३ को प्रस्तावित वजेट, आर्थिक विधेयक २०८२, विनियोजन विधेयक २०८२ र विभिन्न समिति र कार्यालय प्रमुख एवं शाखा प्रमुखहरूको प्रस्ताव उपर नगरसभाका सदस्यहरु दलबहादुर दुरा, चेतबहादुर दरै, मणीजंग बस्नेत, दधिराज घिमिरे, सरोज भण्डारी, दुर्गा बहादुर आले, हरिश्चन्द्र पन्थ, ढालप्रसाद घिमिरे, सुन्दर वाग्ले, रामप्रसाद मिश्र, विज्ञान कैनी, कमला वि.क., हर्कबहादुर कार्की, सरस्वती सुनार, राधा विक र गौकुमारी न्यौपानेले छलफलमा भाग लिई विभिन्न सुझावहरु राखेका थिए ।
बैठकले लेखा समितिको संयोजकबाट विष्णुकुमार श्रेष्ठलाई बिदाई गरि गौ कुमारी न्यौपानेको संयोजकत्वमा दधिराज घिमिरे, हर्क बहादुर कार्की सदस्य रहने गरी लेखा समिति पुनर्गठन गर्ने निर्णय गरेको छ । त्यस्तै यज्ञ शर्माको संयोजकत्वमा रफत साना मिया र गोकुल दुरा सदस्य रहेको अनुशासन समिति गठन गर्ने निर्णय गरेको छ ।
साथै व्यास नगरपालिका स्वास्थ्य संगठन संरचना प्रतिवेदन र प्रशासनिक संगठन संरचना संशोधन प्रतिवेदन, घर नक्सा मापदण्ड, मानुङ्गकोट जग्गा विकास सम्बन्धी मापदण्ड संशोधन सहित पारित गरेको छ । दीर्घसेवा गरेका नगरपालिकाका सवारी चालक तीर्थ बहादुर तामाङलाई सम्मान गरिएको थियो ।












