गुरु पुर्णिमाको अवसरमा महेश सन्यास आश्रमद्वारा गुरुनिर्वाण महोत्सव आयोजना

Devghat Online

शेयर गरौ

देवघाट । असार २६

गुरु पुर्णिमाको अवसरमा आज देवघाट स्थित महेश सन्यास आश्रमको आयोजनामा आश्रम परिसरमा आठौं गुरुस्मृति महोत्सव हुने भएको छ ।

दुई दिने सो कार्यक्रमको पहिलो दिन आज असार २६ गते व्यास जयन्ती तथा गुरु पुर्णिमाको दिन गुरु पुजन, व्यास पुजन तथा रुद्राभिषेक कार्यक्रम गरिने महेश सन्यास आश्रमद्वारा सन्चालित महेश संस्कृत गुरुकुलका आचार्य फणिन्द्र पौडेलले जानकारी दिनुभयो । यसैगरि असार २७ गते कालीगन्डकी विमर्श एवं गुरु स्मृति सभा तथा सन्त पुजन एवं समष्टि गुरुभण्डाराको आयोजना गरिने छ ।

आश्रममले ब्रम्हलिन परमपुज्य सन्तशिरोमणी श्री १००८ डा. स्वामी रामानन्द गिरीजी महाराजको स्मृतिमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

वि.सं २००३ सालमा धादिङ्गको केवलपुरमा जन्मिनु भएका डा. स्वामी रामानन्द गिरि तीनधारा संस्कृत पाठशालाबाट प्रारम्भिक अध्ययन सुरु गरेर वाराणसीमा वेदान्त दर्शन अध्ययन गरी त्रिभुवन विश्वविद्यालयबाट जनक दर्शनमा विद्यावारिधि प्राप्त हुनुहुन्छ । वाराणसीमा अध्यापन गराइरहँदा डा.गिरि नेपाल फर्किएर तीनधारा पाठशालमामा केही समय अध्यापन गराएपछि सरकारी जागिर छोडेर राष्ट्रसेवा गर्ने उद्देश्यले देवघाटमा वि.सं २०५० सालमा महेश संन्यास आश्रम, महेश संस्कृत गुरुकुलको स्थापना गर्नुभएको थियो । उहाँ अम्बरेश्वर संन्यास आश्रम, पुरन्चौर, कास्कीका संस्थापक हुन् । जसको फलस्वरूप आज नेपालभरी गुरुकुलशिक्षाले गति लिएको देख्न सकिन्छ ।

डा.गिरिका जनकदर्शन (विद्यावारिधि शोधग्रन्थ), माण्डूक्यकारिका (नेपाली अनुवाद तथा व्याख्या), रामगीता (नेपाली अनुवाद तथा व्याख्या), वेदस्तुति (नेपाली अनुवाद तथा व्याख्या), श्रीमद्भागवतमहापुराण (१–८ खण्डमा) (नेपाली अनुवाद–रामानन्दी टीका), देवीगीता (नेपाली अनुवाद तथा व्याख्या), दुर्गासप्तशती (नेपाली अनुवाद एवम् व्याख्या), दक्षिणामूर्तिस्तोत्रम् (नेपाली अनुवाद एवम् व्याख्या), श्री शिवमहिम्नः स्तोत्रम् (नेपाली अनुवाद एवम् व्याख्या) र ईशादि दश उपनिषद् (नेपाली अनुवाद एवम् व्याख्या) प्रकाशित छन् ।

महेश संस्कृत गुरुकुलमा वैदिककालीन गुरुकुल अनुरूप पाठशाला, धर्मशाला, गौशाला, यज्ञशाला र पाकशाला सञ्चालनमा रहेका छन् । धर्म, संस्कार, संस्कृति तथा संस्कृत शिक्षाको उन्नयनमा गुरुकुलले उल्लेख्य भूमिका खेलेको देख्न सकिन्छ । रामानन्द गिरिले वि.सं २०७४ असार २४ गते गुरुपूर्णिमाका दिन पाञ्चभौतिक शरीर त्याग गरी शिवसायुज्य प्राप्त गर्नुभएको थियो ।

यस बाहेक गुरुपुर्णिमा तथा व्यास जयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरिने भएको छ । वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको जन्म दिन पनि भएको हुँदा व्यास जयन्तीको रुपमा पनि मनाइन्छ ।

आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को