देवघाट । असार ३०
देवघाटमा २६१९ जनाको लगत संकलन



देवघाट गाउँपालिकाको आयोजना र भुमि समस्या समाधान आयोग जिल्ला समिति तनहुँको सहजिकरणमा सोमबार देवघाटमा भुमि समस्या सम्बन्धी अभिमुखीकरण र अन्तरक्रिया कार्यक्रम आयोजना गरियो । भुमि समस्या समाधान आयोग जिल्ला समिति मार्फत हालसम्म सम्पादन भएको काम र भुमिहिन सुकुम्बासी, भुमिहिन दलित र अव्यवस्थित बसोबासीहरुको लागि जग्गाधनी पुर्जा वितरणको प्रक्रियाको बारेमा तथा भुमिहीन र अव्यवस्थित बसोबासी सम्बन्धि हालको कानुनी व्यवस्थाको बारेमा जानकारी दिन उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै भुमि समस्या समाधान आयोग जिल्ला समिति तनहुँका प्रमुख गोविन्द सिलवालले जग्गाधनी प्रमाणपुर्जा वितरणकोलागि सम्बन्धित वडा कार्यालयवाट ६० प्रतिशत काम सम्पन्न हुनुपर्ने बताए । वडाले प्रमाणित गरेपछि मात्र पालिका र जिल्ला समितिले प्रमाणिकरण गर्ने हुँदा वडा कार्यालयहरुले गम्भिर भएर कार्यसम्पादन गर्नुपर्ने सिलवालले बताए । जिल्लाका अन्य पालिकामा भन्दा देवघाटमा भुमि समस्या समाधानको काम धेरै नै अगाडी बढिसकेको हुँदा देवघाटमा नै पहिला जग्गाधनीपुर्जा वितरण गर्न सकिने सिलवालले बताए ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाट गाउँपालिकामा भुमि सम्बन्धि समस्या समाधान गर्न गाउँपालिका र व्यक्तिगत रुपमा आफु गम्भिर रहेको बताए । आफु हरेक पटक सदरमुकाम दमौली जाँदा सँधै आयोगको कार्यालयमा गई जग्गाधनी पुर्जा वितरणको प्रक्रिया कहाँ पुग्यो भनेर सँधै सोध्ने गरेको उनले बताए । देवघाटका अन्य वडामा जग्गा नापजाँच समेत भईसकेको भन्दै उनले वडा नम्बर ५ मा केही समस्या आएको हुँदा उक्त समस्या समाधानकोलागि काम भईरहेको बताए । स्थानीय पालिका स्तरमा पुरानै व्यवस्था अनुसार सहजिकरण समति गठन भएपनि त्यसको बैठक नबसेको र अव चाँडै नै नयाँ सहजिकरण समिति गठन गरेर काम सुरु गर्ने अध्यक्ष थापाले बताए । उनले देवघाटमा जग्गा किन्ने र बाहिर बसोबास गर्दा प्रक्रिया पु¥याउन अलि समस्या भएको बताए ।

आयोगका सदस्य रामचन्द्र उपाध्यायले अव सरकार परिवर्तन भएपनि आयोग परिवर्तन नहुने भन्दै यही आयोगले नै जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने बताए । उनले भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको वडा कार्यालयबाट प्रमाणित नभए आयोगले केही गर्न नसक्ने हुदा वडाबाट प्रमाणित गर्नुपर्ने बताए । कतिपय कुराहरु पालिकाले नै सहजिकरण गर्नुपर्ने उनले बताए ।
आयोगका विज्ञ सदस्य श्रीराम कार्कीले अव्यवस्थित बसोबासीहरुलाई जग्गा प्राप्तीको लागि आवास र कृषिको क्षेत्रको आधारमा कर लगाउने बताए । पहिला ऐनमा ८ देखी २०० प्रतिशत सम्म कर लगाउन सकिने व्यवस्था गरिएकोमा हालै ५ प्रतिशत देखी १० प्रतिशत सम्म कर लाग्ने व्यवस्था भएको बताए । कतिपयमा लालपुर्जा नहुने र फिल्डवुकमा हुने तर फिल्डबुकमा नहुने तर लालपुर्जा हुने समस्या रहेको भन्दै ति सबै समस्या पनि यही आयोगबाट नै समाधान हुने उनले बताए ।

आयोगकी सदस्य आशा थापाले देवघाट गाउँपालिकाको नापजाँच अगाडि भए पनि लालपुर्जा दिने कुरा ढिलो भएको बताइन् । पहिलाको आयोगबाट सुरु भएको कामलाई वर्तमान आयोगले निरन्तरता दिएको भन्दै थापाले अबको दिनमा कसैले कसैलाइ कमजोरी नदेखाईकन काम गर्नुपर्ने थापाले बताइन् ।

गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवरले लाभग्राहीरुले फारम भर्ने तर पछि सम्पर्कमा नआउने समस्याको कारण वडा नम्बर ५ का प्रमाणीकरणमा केही समस्या भएको बताए । वडा नम्बर ४ का अध्यक्ष मित्रलाल गुरुङले आफ्नो वडाका समुदायका मानिसहरुलाई र टोलका अध्यक्षहरुलाई भुमिहिन सुकुम्बासीको प्रकिया पु¥याउनका लागि फारम भर्न लगाउँदा पनि नभरेको र वडा सचिव नयाँ आउदा केही समय बिदा लिएको हुदा काम छिटो नभएको गुरुङले बताए ।
नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य बावुराम अधिकारीले पहिलो पुस्ताले भित्र बाट नै लागि परि काम गरेको भए पहिला नै लालपुर्जा पाइसक्ने बताए । अब औपचारिक कार्यक्रम नभई परिणाममुखी कार्यक्रम हुनुपर्ने अधिकारीले बताए ।

देवघाट सामाजिक संयन्त्रका अध्यक्ष अर्जुन अधिकारीले देवघाटका भुमिहिनहरुले प्रमाण पुगे पनि लालपुर्जा नपाएको बताए । वडा नम्बर ४ र ५ को प्रकिया ढिला के कारणले भएको हो त्यसोको जानकारी लाभग्राहीहरुले पाउनुपर्ने अधिकारीले बताए । वडा, गाउँपालिका र आयोगले समन्वय गरि लालपुर्जा दिने काम छिटो अगाडि बढाउनुपर्ने अधिकारीले बताए ।

नेकपा एमाले गाउँ कमिटिका अध्यक्ष भिमबहादुर गुरुङले फारम भर्ने काम धेरै पहिलानै भएको तर अहिले सम्म लालपुर्जा नपाएको बताए । आज राजनीतिक दलहरुले जस लिनको लागि मात्र काम गर्न अगाडि बढेको कारण काम नभएको गुरुङले बताए । जस लिने काम नगरि काम अगाडि बढाउदै गए जस दिने कुरा जनताले आफै मुल्यांकन गर्ने गुरुङले बताए । उनले जे जसरी हुन्छ, देवघाटका भुमिहिन र अव्यवस्थित बसोबासीहरुले पुर्जा पाउनुपर्ने बताए ।
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष जयकृष्ण सुवेदीले यो प्रक्रियामा राजनीतिक दलवाट स्थानीय सरकारलाई सहयोग र खवरदारी सँगै जाने बताए । उनले प्रकिया पु¥याएका लाभग्राहीलाई पुर्जा दिदै जानुपर्ने र २०८४ पर्खिन नहुने बताए ।
सो कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति गोविन्द प्रसाद न्यौपानेले जनताको आबश्यकता हेरेर प्राथमिकताको हिसाबले परिपुर्ती गर्दै जानुपर्ने र आश्वासन नदिई काम गर्नु पर्ने बताए । राष्ट्रिय स्वतन्त्र पार्टीकै बलबहादुर क्षेत्रीले कतिपय मानिसहरु लालपुर्जा पाउने आशामा बस्दा बस्दा ज्यान समेत गइसक्दा पनि लालपुर्जा नपाएको बताए । अन्य पालिकामा लालपुर्जा पाउने तर देवघाटमा लालपुर्जा वितरण नभएको उनले बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि दिवाकर मिश्रले लालपुर्जा दिन्छु भनी कति आयोग बने तर अहिले सम्म नदिएको र अब दिन नसके यस्ता जनतालाई आश्वासन दिने काम मात्र नगर्न सचेत गराए । देवघाटधाम जेसिजका अध्यक्ष प्रसन्न ढकालले लालपुर्जा कहिले सम्म आउँछ यसको समय सिमा दिनुपर्ने बताए । उक्त कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटि सदस्य केशवचन्द्र न्यौपाने, एमाले देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष विकास ढकाल, आदर्श शिक्षा माविका प्रअ देउराम सारु लगायतले अव्यवस्थित बसोबासी र भुमिहिनको समस्या समाधानको स्थानीय पालिका र आयोगले गम्भिर भएर काम गर्नुपर्ने बताए ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरुङले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सन्चालन कार्यक्रम अधिकृत कृष्णराज पन्तले गरेका थिए । सो कार्यक्रममा आयोगका विज्ञ सदस्य श्रीराम कार्कीले आयोगको काम र जिम्मेबारी तथा हालको कानुनी व्यवस्थाको बारेमा जानकारी गराएका थिए ।

देवघाटमा २६१९ जनाको लगत संकलन

देवघाट गाउँपालिकामा भुमिहिन सुकुम्बासी, भुमिहिन दलित र अव्यवस्थित बसोबासीको हालसम्म २६१९ जनाको लगत संकलन भएको छ । देवघाटका ५ वटै वडामा हालसम्म उक्त संख्याका लाभग्राहीको लगत संकलन भएको गाउँपालिकाले जनाएको छ । जसमा भुमिहिन दलित तर्फ ४८, भुमिहिन सुकुम्बासी तर्फ १०५ र अव्यवस्थित बसोबासी तर्फ २४६६ जना रहेको गाउँपालिकाका फोकल पर्सन कृष्णराज पन्तले जानकारी दिए ।
जसमध्ये वडा नम्बर १ मा भुमिहिन दलित तर्फ २३, भुमिहिन सुकुम्बासी तर्फ २२ र अव्यवस्थित बसोबासी तर्फ ४६० गरि कुल ५०५, वडा नम्बर २ मा भुमिहिन दलित तर्फ ४, भुमिहिन सुकुम्बासी तर्फ ७ र अव्यवस्थित बसोबासी तर्फ १६४ गरि १७५, वडा नम्बर ३ मा भुमिहिन दलित तर्फ शुन्य, भुमिहिन सुकुम्बासी तर्फ ३ र अव्यवस्थित बसोबासी तर्फ ७२ गरि कुल ७५ जना लाभग्राहीको लगत संकलन भएको छ ।
यसैगरि वडा नम्बर ४ मा भुमिहिन दलित तर्फ १, भुमिहिन सुकुम्बासी तर्फ १३ र अव्यवस्थित बसोबासी तर्फ १२० गरि कुल १३४ र वडा नम्बर ५ मा भुमिहिन दलित तर्फ २०, भुमिहिन सुकुम्बासी तर्फ ६० र अव्यवस्थित बसोबासी तर्फ १६५० गरि कुल १७३० जना लाभग्राहीको लगत संकलन भएको पन्तले बताए । यद्यपी साउन महिनामा अन्तिम पटक लगत संकलनको सुचना प्रकाशित हुने हुँदा यसमा केही लाभग्राही थपिन सक्ने जनाईएको छ ।












