देवघाट । साउन १
हरेक वर्ष साउनको सोमबार मनाउँदै आइरहेको बोलबम मेलाको व्यवस्थापनको लागि देवघाटमा तयारी गरिएको छ । यसै सन्दर्भमा देवघाट क्षेत्र विकास समितिका कर्मचारीहरुको बैठक बुधबार बसेको छ । देवघाट क्षेत्र विकास समितिमा अध्यक्ष र सदस्यरु रिक्त भएको कारण यसवर्ष कर्मचारीले मात्रै बोलवम मेलाको तयारी गर्नुपरेको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताए ।



बोलवम मेलाको लागि प्रत्येक सोमबार देवघाटमा हजारौं भक्तजन आउने गर्छन् । यसअघि बोलवम स्नान गर्न आउने भक्तजनको भिड हेरेर अनुमानको आधारमा यति संख्यामा भक्तजनको उपस्थिति रह्यो भन्ने तथ्यांक निकालिएकोमा यसवर्ष भने कर्मचारी परिचालन गरि स्नान गर्ने भक्तजनहरुको तथ्यांक संकलन गरिने कार्यकारी निर्देशक बरालले बताए । यसले गर्दा देवघाटको धार्मिक महत्त्वको प्रचार प्रसार गर्न सहयोग पुग्ने र भविष्यको योजना बनाउदा सहयोग पुग्ने उनले बताए ।
साउनमा त्रिशुली र कालिगन्डकी नदीको बहाव बढ्ने हुँदा मेलामा स्नान गर्न आउने भक्तजनको सुरक्षाको लागि तनहुँ र चितवन तर्फ सुरक्षा सतर्कता बढाइने देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक बरालले बताए ।
सोमबारको मेलाको लागि आइतबार राती देखी नै भक्तजन आउने हुँदा नदि किनारमा बिजुली बत्तिको प्रबन्ध गर्ने, नदीमा स्नान गर्ने भक्तजनको सुरक्षाको लागि डोरी सहितको दुई वटा डुङ्गाको व्यवस्थापन गरिने बरालले बताए ।
त्यसैगरि मेला अघि प्रत्येक आईतबार र मेला पछि प्रत्येक मंगलबार बेणी संगममा सरसफाई गर्ने पनि बरालले बताए । मेलामा आउने भक्तजनको सुरक्षाकोलागि साउन महिना भर इलाका प्रहरी कार्यालय देवघाटमा प्रहरी जनशक्ति थप गर्ने तथा चितवन तर्फ पनि सुरक्षा व्यवस्थाको लागि जिल्ला प्रहरी कार्यालय चितवन समक्ष अनुरोध गर्ने पनि बरालले जानकारी दिए ।
यसवर्षको बोलवम मेला साउन ५ गते सोमबारबाट सुरु हुन्छ । यस वर्ष साउन महिनामा ४ वटा सोमबार परेको हुँदा उक्त चारै दिन हजारौ भन्दा बढि भक्तजन मेला भर्न आउने अपेक्षा गरिएको छ । त्यसबाहेक साउनका अन्य बारमा पनि देवघाटमा दैनिक हजारौंको संख्यामा भक्तजन आउने छन् ।
चितवन, तनहुँ र नवलपुरको सङगमस्थल देवघाटमा साउनको सोमबार हरेक वर्ष उत्सवका रुपमा मनाइने बोलबम मेलामा देश बिदेशबाट हजारौं भक्तजन आउने गर्छन् । साउने सोमबार देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजाआराधना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष शिवराज पौडेलले बताए । साउनको हरेक सोमबार निराहार व्रत बसी बिहान सबेरै स्नान गर्ने धार्मिक मान्यता छ ।












