तनहुँ । साउन ५
म्याग्दे गाउँपालिका–१ गुणादीकी नविना खनाललाई जिल्ला प्रशासन कार्यायल तनहुँले घरमै गई नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको छ । जन्मजात शारीरिक अपाङ्गता भएकी २० बर्षीया नविनालाई प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले सोमबार घरमै गई नागरिकताको प्रमाणपत्र उपलब्ध गराएका थिए ।



नविनाको नागरिकता प्रमाणपत्रको सम्पुर्ण विवरण जिल्ला प्रशासन कार्यालयबाट नै तयार गरि उनको औठाछाप घरमै लगाएर प्रजिअ अधिकारीले नागरिकताको प्रमाणपत्र प्रदान गरेका थिए । उक्त अवसरमा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, वडा नम्बर १ का वडा अध्यक्ष मणिभद्र वाग्ले लगायतको उपस्थिती रहेको थियो ।

२०६२ माघ ११ गते जन्मिएकी नविनालाई गाउँपालिकाले यस अघि नै अपाङ्गता भएको रातो कार्ड उपलब्ध गराईसकेको छ । तर उनको नागरिकताको प्रमाणपत्र नहुँदा उनले अपाङ्गता भत्ता भने पाउनबाट बन्चित हुँदै आएकी थिइन् ।
म्याग्दे गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मणिभद्र वाग्लेले नविना नागरिकता नहुँदा अपाङ्गता भत्ताबाट बन्चित हुँदै आएको भन्दै सबैको पहल र प्रयासले घरमै गएर नागरिकताको प्रमाणपत्र प्रदान गर्न सकिएको बताए । उनले नागरिकता प्रदान गर्न सहजिकरण गर्ने प्रमुख जिल्ला अधिकारी लगायत जिल्ला प्रशासन कार्यालय तनहुँको टिमलाई धन्यवाद दिएका छन् ।












