नेवा देय दबू गण्डकीको चौथो बैठक भिमादमा सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । साउन १०

नेवाः देय दबू गण्डकी प्रदेश समितिको आयोजनामा समितिको चौथो बैठक शनिबार भिमाद नगरपालिका–६, मालेबगरस्थित भिष्म नेवार समाज भवनमा सम्पन्न भएको छ । बैठकमा आगामी भदौ १४ गते भिमाद बजारमा आयोजना हुने खुला लाखे नाच प्रतियोगितालाई सफल बनाउन आवश्यक समन्वय तथा तयारी विषयमा छलफल गरिएको थियो ।

बैठकमा भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदी, ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ र म्याग्दे गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठ सहित तीन पालिकाका प्रमुख अतिथिका रूपमा सहभागी थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दधिराज सुवेदीले भिमादमा यस्ता सांस्कृतिक कार्यक्रमको आयोजनाले स्थानीय पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले नेवार समुदायलाई सांस्कृतिक रूपमा धनी समुदाय भन्दै नेवारी परम्परा र पहिचानलाई संरक्षण गर्न सबै पुस्ता एकजुट हुनुपर्ने धारणा राखे ।

त्यसैगरी ऋषिङ्ग गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले लाखे नाच प्रतियोगिताले नेवारी संस्कृति, परम्परा र मौलिकता जगेर्ना गर्न ठूलो योगदान पु¥याउने बताए । उनले नेपाल विविध जातजातिको साझा थलो भएकाले सबै समुदायले आफ्नो भाषा, भेषभूषा र परम्पराको जगेर्ना गर्नुपर्ने उल्लेख गरे ।

म्याग्दे गाउँपालिका अध्यक्ष श्री प्रसाद श्रेष्ठले पछिल्लो समय युवा पुस्तामा मौलिक संस्कृतिप्रति चासो घट्दो क्रममा रहेकोमा चिन्ता व्यक्त गर्दै, यस्ता प्रतियोगिताले युवामा चेतना जगाउने माध्यम बन्ने धारणा व्यक्त गरे । उनले कार्यक्रमलाई आर्थिक, भौतिक र नैतिक रूपमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उक्त बैठकमा गण्डकी प्रदेश समितिका अध्यक्ष मथुरा कृष्ण श्रेष्ठले प्रतियोगिताको इतिहास, कार्यविधि, उपसमिति गठन, सहभागी टोलीहरूको छनोट प्रक्रिया, पुरस्कार र व्यवस्थापनबारे विस्तृत छलफल भएको जानकारी दिए । उनका अनुसार प्रतियोगितामा करीब ३० टिमको सहभागिता रहने अनुमान छ ।

आयोजकका अनुसार प्रतियोगितामा पहिलो पुरस्कार नगद १ लाख १ हजार रुपैयाँ, दोस्रो पुरस्कार ६१ हजार रुपैयाँ र अन्य ८ उत्कृष्ट टोलीलाई जनही १५÷१५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष श्यामसुन्दर जोशी, नेवाः देय दबूका केन्द्रीय उपाध्यक्ष हरिकुमार श्रेष्ठ, केन्द्रीय सदस्य बसन्त श्रेष्ठ, केन्द्रीय परिषद सदस्य देवेन्द्र श्रेष्ठ, रोजी श्रेष्ठ, गण्डकी प्रदेशका पदाधिकारी, विभिन्न जिल्लाका प्रतिनिधिहरू, तनहुँ उपाध्यक्ष महेन्द्रकुमार श्रेष्ठ, भिष्म नेवा समाज, नेवा खल भिमाद, सिविल नेवा समाज र ऋषिङ्ग पाटन नेवा खल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रदेश उपाध्यक्ष भूपराज श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने सचिव अनिलप्रसाद मास्केले कार्यक्रम सञ्चालन गरेका थिए । गण्डकी प्रदेशभरिबाट सहभागिता रहने भएकाले यो प्रतियोगिता सांस्कृतिक समागमको रूपमा हेरिएको आयोजकले जनाएको छ । नेवारी परम्परा, कला र संस्कृति जोगाउन यो प्रतियोगिता सकारात्मक कदम हुने विश्वास समेत व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पराजित उम्मेदवारहरुले दिए बिजयीहरुलाई बधाई र मतदातालाई धन्यवाद

तनहुँ । फागुन २३ तनहुँको दुबै निर्वाचन क्षेत्रमा पराजित भएका उम्मेदवारहरुले बिजयी सांसदहरुलाई बधाई दिएका