काठमाडौं । साउन २९
संयुक्त राज्य अमेरिका सरकारबाट सञ्चालित वैदेशिक सहायता कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पुनः सक्रिय भएको छ । विद्युत् प्रसारण लाइन निर्माण गर्न २१ अर्ब ६३ करोड (१५.४५ करोड अमेरिकी डलर) लगानी गर्ने सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।



संयुक्त राज्य अमेरिका सरकारबाट वैदेशिक सहायता समीक्षा सफलतापूर्वक सम्पन्न भएपछि नयाँ ऊर्जा र दुवै सरकारको साझा प्रतिबद्धताका साथ मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपाल कम्प्याक्ट पुनः सक्रिय भएको हो । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसिए–नेपाल) र संयुक्त राज्य अमेरिका सरकारको संयुक्त लगानीमा सञ्चालित कम्प्याक्टको विद्युत् प्रसारण आयोजनालाई अगाडि बढाउने क्रममा बिहीबार दुई प्रमुखबिच सम्झौतामा हस्ताक्षर भएको छ ।
यो महत्त्वपूर्ण उपलब्धिले नेपालमा सञ्चालन भइरहेका रूपान्तरणकारी पूर्वाधार निर्माणसम्बन्धी साझेदारीमध्ये एउटाका रूपमा रहेको एमसिसी नेपाल कम्प्याक्टको सफल कार्यान्वयनप्रति दुवै सरकारको प्रतिबद्धता छ । एमसिए–नेपालले प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रियाबाट रातमाटे–नयाँ दमौली प्रसारणलाइनको निर्माण सम्झौता एन्जेलिक स्किपर संयुक्त उपक्रमसँग र नयाँ दमौली–नयाँ बुटवल प्रसारण लाइन निर्माण सम्झौता वाइबा सलासर संयुक्त उपक्रमसँग गरेको छ ।
संयुक्त लागत १५.४५ करोड अमेरिकी डलर रहेका यी सम्झौताअन्तर्गत १८० किलोमिटर लामो ४०० केभी प्रसारणलाइनको डिजाइन, स्थापना, परीक्षण र सञ्चालनलगायतका काम गरिनेछ । अर्थ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, एमसिसी का कार्यवाहक उपाध्यक्ष, एमसिसी आवासीय राष्ट्रिय नियोगका प्रतिनिधि, अमेरिकी दूतावासका अधिकारीको उपस्थितिमा एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र दुई कम्पनीका प्रतिनिधिले सम्झौतामा हस्ताक्षर गरेका थिए ।
एमसिसीका कार्यवाहक उपाध्यक्ष जोन विंगलले सम्झौतामा हस्ताक्षर गरी एमसिसीले पारस्परिक प्राथमिकता र नेपालको विकास लक्ष्यमा संयुक्त राज्य अमेरिकाको सहयोगलाई पुनः पुष्टि गरेको बताए । उनले नेपालमा बिजुलीको उपलब्धता र विश्वसनीयतामा सुधार गर्नुका साथै क्षेत्रीय विद्युत् व्यापार र अन्तर आबद्धता अभिवृद्धि गर्न नेपाली समकक्षीसँग मिलेर काम गर्न पाउँदा गौरवान्वित भएको विचार व्यक्त गरे ।
अर्थ मन्त्रालयका सचिव तथा एमसिए–नेपाल सञ्चालक समितिका अध्यक्ष घनश्याम उपाध्यायले प्रसारण लाइन र सब स्टेसनहरू निर्माणसम्बन्धी नेपाल सरकारको योजनालाई कार्यान्वयन गर्ने अमेरिकी सरकारबाट प्राप्त आर्थिक सहयोगको सराहना गर्दै यस कार्यक्रमका लागि सरकारी सहयोग निरन्तर रहने बताए ।
उनले बिहीबार भएको निर्माण सम्झौता एउटा उपलब्धि मात्र नभई नेपालको विकास र समृद्धिप्रति संयुक्त राज्य अमेरिकाको स्थायी प्रतिबद्धताको मूर्त प्रतीक भएको बताए । नेपालस्थित अमेरिकी दूतावासका नियोग उपप्रमुख जेसन मिक्सले यस साझेदारीमार्फत विद्युत् प्रसारण लाइन र आर्थिक पूर्वाधार मात्र नभई नेपालको दीर्घकालीन विकासलाई पनि तीव्र पारेको जिकिर गरे ।
एमसिए–नेपालका कार्यकारी निर्देशक विष्टले गौरव आयोजनाप्रति नेपाल सरकार र सबै सरोकारवालाको साझा प्रतिबद्धता प्रतिबिम्बित भएको धारण राखे । एमसिसी नेपाल कम्प्याक्ट निजी क्षेत्रको लगानी अभिवृद्धिका लागि सकारात्मक वातावरण निर्माण गर्दै नेपालको दीर्घकालीन आर्थिक विकासका लागि गरिएको ६९ करोड ७० लाख डलरको लगानी हो ।
विद्युत् प्रसारण आयोजना र सडक मर्मत आयोजना कार्यान्वयन गरी महत्त्वपूर्ण पूर्वाधार सुदृढीकरण, सीमा पार ऊर्जा व्यापार अभिवृद्धि र नेपालको यातायात सञ्जालमा सुधार गरेर अन्तर आबद्धता विस्तार गर्दै आर्थिक वृद्धिमा टेवा पु¥याउन एमसिसी नेपाल कम्प्याक्ट तयार गरिएको हो ।












