देवघाट । भदौ १७
समाज परिवर्तनका लागि युवाहरुको हातमा रहेको सम्भावनालाई मूर्त रुप दिँदै, छोटो समयमा नै उल्लेख्य पहिचान बनाउन सफल देवघाटधाम जेसीजले ‘बेष्ट इमर्जिङ अवार्ड’ प्राप्त गरेको छ ।



भदौ १४ र १५ गते तनहुँको दमौलीमा सम्पन्न नेपाल जेसीज क्षेत्र ‘ख’ सम्मेलनमा प्रस्तुत कार्यक्रम, गतिविधि र सक्रियताका आधारमा देवघाटधाम जेसीजलाई यो राष्ट्रिय स्तरको सम्मान प्रदान गरिएको हो । सम्मेलनमा नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष तथा सम्मेलन सभापति एलिना महर्जनले देवघाटधाम जेसीजका अध्यक्ष प्रशन्न ढकाललाई अवार्ड हस्तान्तरण गरिन् ।

युवाहरुको व्यक्तित्व विकास, नेतृत्व निर्माण, सामाजिक योगदान र सिर्जनात्मक सोचमा आधारित कार्ययोजनाका कारण छोटो अवधिमै राष्ट्रिय स्तरमा चिनिएको देवघाटधाम जेसीजले यो उपलब्धि पाएको हो । अवार्ड प्राप्तपछि अध्यक्ष ढकालले भने, ‘यो अवार्ड केवल देवघाटधाम जेसीजको मात्र होइन, सम्पूर्ण पदाधिकारी तथा सदस्य, संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष, सहयोगी हातहरु र देवघाट समुदायकै गौरव हो । यसले हाम्रो जिम्मेवारी अझ बढाएको छ । हामी आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमसहित अघि बढ्नेछौं ।’
सम्मेलनमा देवघाटधाम जेसीजको सहभागिता पनि उल्लेख्य रह्यो, जसले संस्थाको नेतृत्व र सिर्जनशीलतामा दृढ विश्वास दिलाएको छ ।












