तनहुँ । भदौ १७
ब्यास नगरपालिका वडा नम्बर ४ मा रहेको सर्वकल्याण वचत तथा ऋण सहकारी संस्थाको करिब १ करोड बचत रकम अपचलन गरेको आरोपमा उक्त सहकारीका अध्यक्ष दिपक सिग्देललाई प्रहरीले पक्राउ गरेको छ । उक्त सहकारी संस्थामा विगत केहि वर्ष देखी लेखापरीक्षण साथै साधारण सभा समेत हुन नसकेको अवस्थामा व्यास नगरपालिकाले सो सहकारी संस्थामा गरेको अनुगमनमा सहकारीमा १ करोड ८ लाख ६ हजार ५२८ रुपैयाँ अपचलन भएको भन्ने देखिएको थियो । पछि शेयर सदस्यहरुको उजुरीपछि पछि प्रहरीले व्यवस्थापक सिग्देललाई पक्राउ गरेको हो ।



उक्त सहकारी संस्थाको चार खाता नदेखिएको र सम्पूर्ण वित्तिय कारोवार विद्युतिय सफ्टवेयर मार्फत सन्चालनमा रहेको र उक्त सफ्टवयर डाउन भई व्याकअप समेत नरहेको भनि प्राप्त सुचनाको आधारमा ब्यास नगरपालिकाको कार्यालयवाट प्रारम्भिक अनुगमन भएको थियो । अनुगमनमा उक्त रकमको हिसाव फरक देखिन गएको र सम्पूर्ण कारोवारको हिसाब किताब पुन विद्युतिय सफ्टवयरमा प्रविष्टि गरी सो रकमलाई लेखापरिक्षण गरी मिलान गर्न भनि पटक-पटक नगरपालिकामा बैठकबसी सहकारीलाई पत्रचार गर्दापनि हालसम्म लेखापरिक्षण प्रतिवेदन एवं साधारण सभा सम्पन्न भएको प्रतिवेदन नगरपालिकाको कार्यालयमा पेश नगरेको नगरपालिका श्रोतले जनाएको छ ।
साथै २०८१ माघ ७ गतेको कार्यपालिका बैठकले सर्वकल्याण बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरुको बचत रकम २०८१ माघ मसान्तसम्ममा फिर्ता गर्ने गरी निर्देशन दिएको र उक्त अवधिमा फिर्ता नगरेर कानुन बमाजिम जिल्ला प्रहरी कार्यालय तनहुँमा लेखी पठाउने निर्णय भएकोमा उक्त संस्थाका अध्यक्ष सिग्देलले २०८१ माघ ३० गते दिन उक्त फरक देखिन आएको रकम २०८२ असार मसान्त भित्र सहकारी संस्थालाई भुक्तान गर्नेछु भनि वडा नम्बर ४ का अध्यक्ष मानबहादुर गुरुङको रोहबरमा कागज गरेका थिए । तर तोकिएको समयसम्म रकम भुक्तानी नगरेपछि सहकारीका शेयर सदस्यले उनलाई पक्राउ गरि कारवाही गर्न जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो ।











