बारा । भदौ २९
पुर्वमन्त्री तथा बारा क्षेत्र नम्बर ४ का निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ किसानले आफ्नो घर र गाडी जलाउनेलाई कानुनले नसके जनताले नै एक दिन कारवाही गर्ने चेतावनी दिएका छन् । जेन जी पुस्ताको आन्दोलनको क्रममा भदौ २४ गते बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–४ को औराहामा रहेको पुर्वमन्त्री श्रेष्ठको नीजि निवास र नीजि सवारी साधनहरुमा तोडफोड र आगजनी गरिएको थियो ।



श्रेष्ठका अनुसार सो आगजनीबाट करिब १० करोड रुपैयाँ बराबरको क्षति भएको छ । श्रेष्ठदे भने ‘आगजनीबाट ८ करोड बराबरको चारवटा सवारी साधन र २ करोड भौतिक संरचना गरेर करिब १० करोड रकम बराबरको क्षति भएको छ ।’
उक्त घटना हुँदा श्रेष्ठसहित उनको परिवार भारतमा रहेका थिए । श्रेष्ठले यस घटनालाई सुनियोजित र नियतबश गरिएको श्रेष्ठले आरोप लगाए । ‘मैले एक पैसा भ्रष्टाचार गरेको छैन, खाने कुरा नै छैन, म हुने खाने परिवारबाट पर्छु’ श्रेष्ठले भने ‘राजनीति पैसा कमाउन आएको हैन, मेरो आफ्नै व्यापार व्यवसाय छ, भनेका छन् ।’ घरभन्दा अलि पर कान्छो छोराले सुरु गर्न लागेको र उद्घाटन समेत नगरेको उद्योग पनि आगजनी गरिएको श्रेष्ठले बताए । आगजनीमा संलग्न एक–एक व्यक्तिको पहिचान भइसकेको दाबी भन्दै श्रेष्ठले आगजनीमा रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीका स्थानीय कार्यकर्ताहरु संलग्न रहेको प्रमाण आफुसँग रहेको उनले बताए ।
‘शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गर्नेहरुलाई छोडिन्न, उनीहरु विरुद्ध कानुनी प्रक्रिया अगाडि बढाउँछु,’ श्रेष्ठले चेतावनी दिँदै भने ‘मेरो घर र गाडी जलाउनेलाई कानुनले नसके जनताले नै एक दिन कारवाही गर्नेछन् ।’ ‘चोक चौतारामा बसेर किसान श्रेष्ठको घर जलाउनुपर्छ, भनेर सार्वजनिक सम्पत्ति र व्यक्तिको घर तोडफोड गर्ने र जलाउने काम भयो ती दलालहरूको पहिचान भइसकेको छ’ श्रेष्ठले भने ‘कानुनले नसके जनताले एक दिन तिनीहरूलाई कारबाही गर्नेछन् ।’
बुवाको श्राद्ध गर्न भाद्र २२ गतेदेखी श्रेष्ठ परिवार सहित भारतको बनारसको काशीमा रहेको बेला उक्त घट्ना भएको थियो । उनले जेनजीको आन्दोलनमा घर जलाउनेहरूले भ्रष्ट्राचारी प्रमाणित गर्न सके आफै जल्न तयार भएको बताए ।













