तनहुँ । कार्तिक २७
व्यास नपा–१ को रतौली स्थित जलेश्वर मन्दिरमा धार्मिक पर्यटन प्रवद्र्धन र धर्मशाला निर्माणका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । रतौलीस्थित जलेश्वर महादेव मन्दिर परिसरमा मङ्सिर ६ गतेदेखि १३ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ–२०८२ आयोजना हुने भएको हो ।



मन्दिरको भौतिक संरचना निर्माण तथा विस्तार, धार्मिक–पर्यटकीय विकास र भक्तजनको सुविधा लागि बहुउद्देश्यीय धर्मशाला निर्माण गर्न आर्थिक संकलन गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लार्गिको हो ।
महायज्ञमा संकलित रकमले ८०–१०० जनासम्म बस्न मिल्ने धर्मशाला, शिवलिङ्ग कुण्ड र होम कुण्ड निर्माणको योजना बनाइएको छ । महायज्ञमा पण्डित कपिलदेव भट्टले कथावाचन गर्ने छन् ।
जलेश्वर महादेव मन्दिर तनहुँकै आस्थाको केन्द्र मात्र होइन, अब यसलाई धार्मिक पर्यटनको नयाँ गन्तव्य बनाउन स्थानीय टोलबासी एकजुट भएका हुन् । स्व. कृष्णबहादुर बस्नेत, लिलामाया बस्नेतले ६ आना र केदारलाल श्रेष्ठले १ आना मन्दिर निर्माणका लागि भूमि दान गरेका छन् ।
रतौली टोल विकास संस्थाको आयोजनामा हुने उक्त महायज्ञको सह–आयोजकमा सृजना आमा समूह र जलेश्वर मन्दिर संरक्षण समिति तथा संरक्षकमा व्यास नगरपालिका–१ वडा कार्यालय रहेका छन् ।












