तनहुँ । कार्तिक २७
इन्जिनियर श्रीराम न्यौपानेको पहलमा तनहुँका ६ वटा सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड प्राप्त भएको छ । न्यौपोको भिजन र एक्सन कार्यक्रम अन्तर्गत तनहुँका श्री शिव सरस्वती मावि, रिसिङ–८, सरस्वती मावि घिरिङ–५, मिन मावि म्याग्दे–४, पञ्चमुनिदेव मावि, शुक्लागण्डकी–४, जनजुक्त शाही मावि, व्यास–५ र सिद्धार्थ मावि भिमाद–१ मा स्मार्ट बोर्ड उपलब्ध गराईएको हो ।



यस अघि काठमाडौंको एलआरआई स्कुल कलंकी, बृहस्पती शिक्षा सदन नक्साल तथा निष्ट स्कुल लैनचौरमा सञ्चालन भइरहेको ‘कक्षाकोठाको पढाइ’ अव स्मार्ट बोर्ड मार्फत तनहुँका ६ वटा विद्यालयका १० वटा कक्षा कोठामा लाभई, अनलाइन र अफलाइनमा पढ्न र हेर्न सकिने व्यवस्था मिलाइने भएको छ । यसका निम्ति ६ वटै विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, कम्प्युटर शिक्षक र इन्जिनिर न्यौपानेको उपस्थितीमा मिन मावि थर्पुमा कार्यक्रम आयोजना गरि स्मार्ट वोर्ड सञ्चालन बारे विहिबार जानकारी र तालिम प्रदान गरिएको छ ।

काठमाडौंमा भइरहेको गुणस्तरीय शिक्षण विधिलाई तनहुँका ग्रामीण भेगका विद्यार्थीहरूसम्म समान रूपमा पहुँचयोग्य बनाउने उद्देश्यले स्मार्ट बोर्ड उपलब्ध गराईएको न्यौपानेले बताए । यसले नेपालको ग्रामीण तथा शहरी शैक्षिक प्रणालीबीचको दूरी घटाउन समेत महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको उनले बताए । कार्यक्रमका माध्यमबाट विद्यार्थी, शिक्षक र विद्यालय व्यवस्थापनलाई शैक्षिक, सामाजिक र प्राविधिक पक्षमा बहुआयामिक लाभ हुने विश्वास उनले गरे ।
उक्त स्मार्ट बोर्डको माध्मयबाट राजधानीका अनुभवी शिक्षकबाट प्रत्यक्ष रूपमा पढ्ने अवसर प्रदान हुने, विषयगत शैक्षिक सामाग्रीको प्रयोगले समान पाठ्यक्रम अन्तर्गत गुणस्तरीय शिक्षण सामग्रीमा पहुँच पुग्ने, शिक्षक र विद्यार्थीहरूबीच पढ्ने–पढाउने तौरतरिका र ज्ञान आदान–प्रदानको नयाँ वातावरण सृजना हुने तथा ग्रामीण र शहरी विद्यालयबीचको अवसर–अन्तर घटाउने, सहकार्य र साझा सिकाइ संस्कृतिको प्रवद्र्धन हुने, स्थानीय समुदायमा प्रविधिमुखी सोच र आत्मविश्वासमा वृद्धि हुने, डिजिटल शिक्षण प्रणालीको प्रयोगमा दक्षता हुने, इन्टरनेटमार्फत शिक्षण–सिकाइमा नयाँ आयाम हुने र नेपालमा शिक्षा क्षेत्रमा प्रविधिको दिगो प्रयोग र विस्तार हुने न्यौपानेले अपेक्षा गरे ।
न्यौपानेद्वारा सुरु गरिएको उक्त कार्यक्रम अन्तर्गत दस वटा कक्षा कोठाको लागि प्रति विद्यालय एक थान ६५ इन्चको स्मार्ट बोर्ड उपलब्ध गराईएको छ भने विजुली, इन्टरनेट, भौतिक संरचना, आवस्यकता अनुसार मर्मत सम्भार तथा आवस्यक जनशक्तिको व्यवस्थापन विद्यालयले गर्नुपर्नेछ । त्यस्तै स्मार्ट बोर्ड उपलव्ध गराउने, तालिम र जडान सहित दश कक्षाको लागि नेपाली, सामाजिक शिक्षा, अंग्रेजी, गणित र विज्ञान गरी ५ विषयको अनलाईन शैक्षिक सामाग्री (एक वर्षको लागि निशुल्क) र काठमाडौंका विद्यालयसंग समन्वय गर्ने कार्य इन्जिनियर न्यौपानेले गर्नेछन् ।












