देवघाटधाममा मंगलबार बालाचतुर्दशीको मेला लाग्ने, त्रिशुलीको झोलुङ्गेपुलमा मंगलबार र बुधबार मोटरसाइकल चलाउन रोक

Devghat Online

शेयर गरौ

देवघाट । मंसिर १

पवित्र तीर्थस्थल देवघाटधाममा मंगलबार बालाचतुर्दशीको मेला लाग्ने भएको छ । मध्य नेपालको तनहुँ, चितवन र नवलपुरको संगम तथा पवित्र कालीगन्डकी र त्रिशुली नदीको संगमस्थल देवघाटमा बालाचतुर्दशीमा शतबीज छर्न हजारौँ आउँछन् ।

बालाचतुर्दशीको अवसरमा शतबीज छर्न मंगलबारबाट नै भक्तजन देवघाट आउने भएपछि सोही अनुसारको व्यवस्थापन गरिएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताए । बालाचतुर्दशीको अवसरमा अघिल्लो दिन आएर रातभर बत्ती बाल्ने तथा भोलिपल्ट बिहानै स्नान गरी शतबिज छर्ने प्रचलन रहेको उनको भनाइ छ ।

‘देवघाटमा चितवन तर्फ चार स्थानमा हाइमास्ट बत्ती राखेका छौँ, तनहुँतर्फ सडक बत्ती बाल्नेगरी पोल ठड्याएका छौँ’ कार्यकारी निर्देशक बरालले भने, ‘बेनी सङ्गममासमेत उज्यालो हुने गरी बालाचतुर्दशीका लागि पाँच बत्ती जडान गर्दैछौँ ।’ शतबीज छर्न आउने भक्तजनलाई सुरक्षित महसुस गर्न पर्याप्त सुरक्षाकर्मी परिचालन हुने आश्वासन प्रशासनबाट पाएको उनले बताए । स्नानघाटमा हुनसक्ने दुर्घटनालाई मध्यनगर गर्दै दुईवटा ¥याफ्टिङ बोट तयारी अवस्थामा राखिएको कार्यकारी निर्देशक बरालले बताए ।

देवघाटको बेनी सङ्गममा नवलपुरको गैँडाकोट हुँदै हर्दीकेलादी तथा चितवनको ठिमुरा र दासढुङ्गाबाट यातायातको साधनमासमेत जान सकिन्छ । त्यस्तै जलमार्ग हुँदै चितवनबाट त्रिशूली नदी एवम् नवलपुरबाट कालीगण्डकी नदीमा ¥याफ्टिङबाट तरेरसमेत बेनी सङ्गममा पुग्ने सकिने अवस्था छ ।

पैदल जाँदा भने चितवनको भरतपुर–१ देवघाटबाट त्रिशुली नदीको झोलुङ्गे पुल तरेर जानुपर्ने हुन्छ । चितवन र तनहुँको देवघाटधामलाई जोड्न ४४ वर्ष अगाडि निर्माण गरिएको झोलुङ्गे पुल जीर्ण भएकाले आज मंगलबार र भोली बुधबार २ दिन पुलमा मोटरसाइकल आवतजावत गर्न रोक लगाईएको छ । देवघाट गाउँपालिकाले सोमबार सुचना प्रकाशित गरि बालाचतुर्दशीको दिन धार्मिक, पुरातात्विक, ऐतिहासिक तथा साँस्कृतिक दृष्टिले पाल्नुहुने सम्पूर्ण महानुभावहरुको सहजतालाई मध्यनजर गर्दै देवघाटधाम, तनहुँ र आपँटारी, चितवन जोड्ने झोलुङ्गेपुलमा मंसिर २ र ३ गते (२ दिन) दुईपाङ्ग्रे सवारीसाधन पूर्ण रुपमा रोक लगाईएको जनाएको छ । उक्त झोलुङ्गेपुलको विकल्पको रुपमा तनहुँ र ठिमुरा, चितवन जोड्ने पक्की पुलको प्रयोग गर्नहुन समेत गाउँपालिकाले अनुरोध गरेको छ ।

‘यो झोलुङ्गे पुल देशकै सबैभन्दा बढी यात्रु ओहोरदोहोर गर्ने झोलुङ्गे पुल हो, पुल निकै पुरानो भएको हुँदा पुलका नटबोल्टुहरु हल्लिएका छन्’ देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक बरालले भने ‘पुल पुरानो भएकाले जुनसुकै बेला पनि दुर्घटना हुनसक्ने भन्दै ललितपुरमा रहेको सस्पेन्सन ब्रिज तथा झोलुङ्गे पुल महाशाखामा ताकेता गरिरहेका छौँ, तर मर्मत भएको छैन ।’ झोलुङ्गे पुलको कम प्रयोग गर्न तथा पुलको प्रयोग गर्नै परेमा पनि लामबद्ध भएर यात्रा गर्न बरालले तीर्थयात्रुसमक्ष अनुरोध गरे । ‘एकैपटक धेरै यात्रुलाई पुलले नथेग्न सक्छ’ उनले भने, ‘यसका लागि लाइन लागेर पुलबाट यात्रा गर्न अनुरोध गरेका छौँ ।’ देवघाटमा त्रिशूली नदी र कालीगण्डकी नदी तर्नका लागि ¥याफ्टिङ बोटकोसमेत व्यवस्था भएको भन्दै बरालले नदीमा एकतर्फि डुङ्गा गर्न ५० भाडा तोकिएको जानकारी दिए ।

शतबिज छर्न चितवनको बाटो हुँदै जाँदा यात्रुहरुलाई सवारीसाधनको जाम तथा झोलुङ्गेपुलको असुरक्षित यात्रा गर्नभन्दा नवलपुरको बाटो भएर बेनी सङ्गम पुग्न गैँडाकोट नगरपालिकाले आग्रह गरेको छ । गैँडाकोट नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ३ का वडाध्यक्ष शिवकान्त तिवारीले गैँडाकोटको कालीगण्डकी चोकबाट कालीगण्डकी करिडोरको बाटो हुँदै केलादी पुग्न सकिने बताए । ‘नवलपुरबाट देवघाट पुग्न सहज र सुरक्षित छ, बाटोसमेत कालोपत्र गरिएकाले सहज तरिकाले देवघाट पुग्न सकिन्छ’ उनले भने, ‘केलादीघाटमा सवारीसाधन रोकेर कालीगण्डकी नदीमा स्नान गर्न तथा सतबिज गर्न पनि सकिन्छ, बेनीमा जानका लागि पनि पैदल १० मिनेटमा पुगिन्छ ।’ नवलपुर हुँदै यात्रु देवघाट जाँदा सहज हुने उनले बताए । नवलपुर तथा यस जिल्लाभन्दा पश्चिमतर्फका यात्रु चितवनतर्फ नगइ सिधैँ गैँडाकोटबाट देवघाट जाँदा सहज हुने तिवारीको भनाइ छ ।

गतवर्ष बालाचतुर्दशीमा सतबिज छर्न करिब एक लाख भक्तजन आएको तथ्यांक रहेको छ । देवघाटमा करिब २० हजार भक्तजनलाई रात बिताउनका लागि आश्रम तथा त्रिपालको व्यवस्था गरिएको भन्दै बरालले त्यो भन्दा बढी भक्तालु रात बिताउने गरी आएमा आफैले व्यवस्थापन गर्नुपर्ने बरालले जानकारी दिए । बालाचतुर्दशी हिन्दुहरुको पवित्र पर्व हो । कृष्ण चतुर्दशी अर्थात बालाचतुर्दशी विभिन्न मठ मन्दिरहरूमा शतबीज (शतबीउ) छरेर मनाईन्छ । तनहुँ, चितवन र नवलपुरको संगम तथा पवित्र कालिगन्डकी र त्रिशुली नदीको संगम एवं विभिन्न मठमन्दिर रहेको हुँदा देवघाटमा शतविज छर्न टाढा टाढाबाट हजारौं भक्तजन आउँछन् ।

शनातन हिन्दू धर्म अन्तर्गत पर्ने थुप्रै चाडपर्व मध्ये बालाचतुर्दशी पर्वको छुट्टै एवं विशिष्ट महत्व रहेको पाइन्छ । प्रत्येक वर्षको हेमन्त ऋतुको मार्गकृष्ण चतुर्दशीमा पर्ने बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्व पनि भनिन्छ । यो पर्व विशेषगरी पितृहरूको उद्धारको निम्ति उनीहरूको सम्झनामा मनाइन्छ । देवघाटमा गरिने शतबीज रोपणको ठूलो महिमा भएको बताइएको छ । यसैकारण पनि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मानिसहरू आफ्नो पितृहरूको उद्धार गर्ने उद्देश्यले देवघाट आउने भएका हुन् । भक्तजनहरु रातभर बत्ती बालेर जाग्राम बसी विहान शतबिज छर्ने गर्छन् ।

नेपालीमा शतको अर्थ सय र बीजको अर्थ बीउ हुन्छ । यसरी शतबीज भन्नाले सयथरी बीउ भन्ने बुझिन्छ । तर पनि शतबीजमा मुख्यतः धान, जौ, गहुँ, चना, तिल, कागुनु र मकैलाई मात्र लिइने गरेको पाइन्छ । यसैगरी शतबीजको मिश्रणमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती, निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूलहरू पनि हुने गर्दछन् । यसैगरी शतबीजमा आफ्नो स्थानीय फलफूल पनि मिसाइन्छ । आफ्नो परिवारका दिवंगत आत्मालाई शान्ति दिलाउन मंसिर कृष्ण त्रयोदशीका दिन राति भक्तजनहरूले मन्दिर वरपर बसी दिवंगत आत्माको नाममा महादीप बाली रातभर भजनकीर्तन र लोक झाँकीका साथै दोहरीगीत गाएर रात बिताउँछन् ।

आफ्ना मातापिताको आशौच वा बरखी बारेको समय बाध्यताले गर्दा गर्नुपर्ने विविध नियमको पालन गर्न नसकिने हुनाले मार्गकृष्ण त्रयोदशीको साँझमा बत्ती जगाई रातभरि जाग्राम बसी भोलिपल्ट शतबीउ छर्नाले आध्यात्मिक र आधिभौतिक र आधिदैविक पापहरू नष्ट हुन्छन् भन्ने विश्वास रहेको छ । राति बालिएको बत्ती चतुर्दशीको बिहानै नदीमा सेलाए (बगाए) पछि शतबीज छर्छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

फागुपूर्णिमामा छिम्केश्वरीमा भक्तजनको घुईँचो, १० हजारले गरे दर्शन

तनहुँ । फागुन १९ फागुपूर्णिमाको अवसरमा तनहुँ जिल्लाकै सबैभन्दा अग्लो स्थानमा अवस्थित प्रसिद्ध बुढीदेवी–छिम्केश्वरी माई