बालाचतुर्दशीमा शतबिज छर्न देवघाटमा हजारौं भक्तजन

Devghat Online

शेयर गरौ

देवघाट । मंसिर २

बुधबार बालाचतुर्दशी । कृष्ण चतुर्दशी अर्थात बालाचतुर्दशी विभिन्न मठ मन्दिरहरूमा शतबीज (शतबीउ) छरेर मनाईन्छ । शनातन हिन्दू धर्म अन्तर्गत पर्ने थुप्रै चाडपर्व मध्ये बालाचतुर्दशी पर्वको छुट्टै एवं विशिष्ट महत्व रहेको पाइन्छ । प्रत्येक वर्षको हेमन्त ऋतुको मार्गकृष्ण चतुर्दशीमा पर्ने बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्व पनि भनिन्छ ।

यो पर्व विशेषगरी पितृहरूको उद्धारको निम्ति उनीहरूको सम्झनामा मनाइन्छ । देवघाटमा गरिने शतबीज रोपणको ठूलो महिमा भएको बताइएको छ । बालाचतुर्दशीमा शतबिज छर्न देवघाटमा हजारौं भक्तजन आएका छन् । तनहुँ, चितवन र नवलपुरको संगम तथा पवित्र कालिगन्डकी र त्रिशुली नदीको संगम एवं विभिन्न मठमन्दिर रहेको हुँदा देवघाटमा शतविज छर्न टाढा टाढाबाट हजारौं भक्तजन आएका छन् । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मानिसहरू आफ्नो पितृहरूको उद्धार गर्ने उद्देश्यले देवघाट आएका हुन् । भक्तजनहरु रातभर बत्ती बालेर जाग्राम बसी विहान शतबिज छर्ने गर्छन् ।

गत वर्ष देवघाटमा शतबिज छर्न करिब एक लाख भक्तजन आएको देवघाट क्षेत्र विकास समितिसँग तथ्यांक रहेको छ । देवघाटमा करिब २० हजार भक्तजनलाई रात बिताउनका लागि आश्रम तथा त्रिपालको व्यवस्था गरिएको भन्दै बरालले त्यो भन्दा बढी भक्तालु रात बिताउने गरी आएमा आफैले व्यवस्थापन गर्नुपर्ने देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिए । शतबिज छर्नु अघि बत्ती बाल्नको लागि मंगलबार दिउँसैबाट देवघाटमा हजारौं भक्तजन आएका थिए ।

बालाचतुर्दशीको अवसरमा शतबीज छर्न हजारौं भक्तजन देवघाट आउने भएपछि सोही अनुसारको व्यवस्थापन गरिएको समितिका कार्यकारी निर्देशक बरालले बताए । ‘देवघाटमा चितवन तर्फ चार स्थानमा हाइमास्ट बत्ती राखेका छौँ, तनहुँतर्फ सडक बत्ती बाल्नेगरी पोल ठड्याएका छौँ’ कार्यकारी निर्देशक बरालले भने, ‘बेनी सङ्गममासमेत उज्यालो हुने गरी बालाचतुर्दशीका लागि पाँच बत्ती जडान गर्दैछौँ ।’ शतबीज छर्न आउने भक्तजनलाई सुरक्षित महसुस गर्न पर्याप्त सुरक्षाकर्मी परिचालन हुने उनले बताए । स्नानघाटमा हुनसक्ने दुर्घटनालाई मध्यनगर गर्दै दुईवटा ¥याफ्टिङ बोट तयारी अवस्थामा राखिएको कार्यकारी निर्देशक बरालले बताए ।

देवघाटको बेनी सङ्गममा नवलपुरको गैँडाकोट हुँदै हर्दीकेलादी तथा चितवनको ठिमुरा र दासढुङ्गाबाट यातायातको साधनमासमेत जान सकिन्छ । त्यस्तै जलमार्ग हुँदै चितवनबाट त्रिशूली नदी एवम् नवलपुरबाट कालीगण्डकी नदीमा ¥याफ्टिङबाट तरेरसमेत बेनी सङ्गममा पुग्ने सकिने अवस्था छ । पैदल जाँदा भने चितवनको भरतपुर–१ देवघाटबाट त्रिशुली नदीको झोलुङ्गे पुल तरेर जानुपर्ने हुन्छ ।

चितवन र तनहुँको देवघाटधामलाई जोड्न ४४ वर्ष अगाडि निर्माण गरिएको झोलुङ्गे पुल जीर्ण भएकाले मंगलबार र बुधबार २ दिन पुलमा मोटरसाइकल आवतजावत गर्न रोक लगाईएको छ । देवघाट गाउँपालिकाले सोमबार सुचना प्रकाशित गरि बालाचतुर्दशीको दिन धार्मिक, पुरातात्विक, ऐतिहासिक तथा साँस्कृतिक दृष्टिले पाल्नुहुने सम्पूर्ण महानुभावहरुको सहजतालाई मध्यनजर गर्दै देवघाटधाम, तनहुँ र आपँटारी, चितवन जोड्ने झोलुङ्गेपुलमा मंसिर २ र ३ गते (२ दिन) दुईपाङ्ग्रे सवारीसाधन पूर्ण रुपमा रोक लगाईएको जनाएको छ । उक्त झोलुङ्गेपुलको विकल्पको रुपमा तनहुँ र ठिमुरा, चितवन जोड्ने पक्की पुलको प्रयोग गर्नहुन समेत गाउँपालिकाले अनुरोध गरेको छ ।

 

बालाचतुर्दशीको अवसरमा अघिल्लो दिन आएर रातभर बत्ती बाल्ने तथा भोलिपल्ट बिहानै स्नान गरी शतबिज छर्ने प्रचलन रहेको छ । नेपालीमा शतको अर्थ सय र बीजको अर्थ बीउ हुन्छ । यसरी शतबीज भन्नाले सयथरी बीउ भन्ने बुझिन्छ । तर पनि शतबीजमा मुख्यतः धान, जौ, गहुँ, चना, तिल, कागुनु र मकैलाई मात्र लिइने गरेको पाइन्छ । यसैगरी शतबीजको मिश्रणमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती, निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूलहरू पनि हुने गर्दछन् । यसैगरी शतबीजमा आफ्नो स्थानीय फलफूल पनि मिसाइन्छ । आफ्नो परिवारका दिवंगत आत्मालाई शान्ति दिलाउन मंसिर कृष्ण त्रयोदशीका दिन राति भक्तजनहरूले मन्दिर वरपर बसी दिवंगत आत्माको नाममा महादीप बाली रातभर भजनकीर्तन र लोक झाँकीका साथै दोहरीगीत गाएर रात बिताउँछन् ।

आफ्ना मातापिताको आशौच वा बरखी बारेको समय बाध्यताले गर्दा गर्नुपर्ने विविध नियमको पालन गर्न नसकिने हुनाले मार्गकृष्ण त्रयोदशीको साँझमा बत्ती जगाई रातभरि जाग्राम बसी भोलिपल्ट शतबीउ छर्नाले आध्यात्मिक र आधिभौतिक र आधिदैविक पापहरू नष्ट हुन्छन् भन्ने विश्वास रहेको छ । राति बालिएको बत्ती चतुर्दशीको बिहानै नदीमा सेलाए (बगाए) पछि शतबीज छर्छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पराजित उम्मेदवारहरुले दिए बिजयीहरुलाई बधाई र मतदातालाई धन्यवाद

तनहुँ । फागुन २३ तनहुँको दुबै निर्वाचन क्षेत्रमा पराजित भएका उम्मेदवारहरुले बिजयी सांसदहरुलाई बधाई दिएका