बालाचतुर्दशी पर्वः देवघाटमा हजारौं भक्तजन

Devghat Online

शेयर गरौ

देवघाट । मंसिर ३

बुधबार बालाचतुर्दशीको अवसरमा तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटधाममा शतबिज छर्न हजारौं भक्तजन आएका छन् । कृष्ण चतुर्दशी अर्थात बालाचतुर्दशी विभिन्न मठ मन्दिरहरूमा शतबीज (शतबीउ) छरेर मनाईन्छ । शनातन हिन्दू धर्म अन्तर्गत पर्ने थुप्रै चाडपर्व मध्ये बालाचतुर्दशी पर्वको छुट्टै एवं विशिष्ट महत्व रहेको पाइन्छ । प्रत्येक वर्षको हेमन्त ऋतुको मार्गकृष्ण चतुर्दशीमा पर्ने बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्व पनि भनिन्छ । यो पर्व विशेषगरी पितृहरूको उद्धारको निम्ति उनीहरूको सम्झनामा मनाइन्छ । देवघाटमा गरिने शतबीज रोपणको ठूलो महिमा भएको बताइएको छ । सोही कारण बालाचतुर्दशीमा शतबिज छर्न देवघाटमा हजारौं भक्तजन आएका थिए ।

 

तनहुँ, चितवन र नवलपुरको संगम तथा पवित्र कालिगन्डकी र त्रिशुली नदीको संगम एवं विभिन्न मठमन्दिर रहेको हुँदा देवघाटमा शतविज छर्न टाढा टाढाबाट हजारौं भक्तजन आएका हुन् । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मानिसहरू आफ्नो पितृहरूको उद्धार गर्ने उद्देश्यले देवघाट आएका थिए । यस्तै हजारौं भक्तजनहरु मंगलबार रातभर बत्ती बालेर जाग्राम बसी विहान शतबिज छरेका थिए । देवघाट क्षेत्र विकास समितिका अनुसार यस वर्ष पनि विगतको जस्तै करिब एक लाख भक्तजन शतबिज छर्न तथा स्नान गर्न देवघाट आएका थिए । त्यस्तै २० हजार भन्दा बढि भक्तजनले रातभर जाग्राम बसेर बत्ती बालेका थिए ।

बालाचतुर्दशीको अवसरमा शतबीज छर्न हजारौं भक्तजन देवघाट आउने भएपछि सोही अनुसारको व्यवस्थापन गरिएको थियो । रातमा भक्तजनको सुरक्षाकोलागि चितवन तर्फ चार स्थानमा हाइमास्ट बत्ती जडान गरिएको थियो । तनहुँतर्फ पनि सडक बत्ती बालिएको थियो । शतबीज छर्न आउने भक्तजनलाई सुरक्षित महसुस गर्न पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको थियो । स्नानघाटमा हुनसक्ने दुर्घटनालाई मध्यनगर गर्दै दुईवटा ¥याफ्टिङ बोट तयारी अवस्थामा राखिएको थियो ।

जलमार्ग हुँदै चितवनबाट त्रिशूली नदी एवम् नवलपुरबाट कालीगण्डकी नदीमा ¥याफ्टिङबाट तरेरसमेत बेनी सङ्गममा पुग्ने सकिने व्यवस्था मिलाईएको थियो । पैदल जाँदा भने चितवनको भरतपुर–१ देवघाटबाट त्रिशुली नदीको झोलुङ्गे पुल तरेर जाने व्यवस्था मिलाईएको थियो । चितवन र तनहुँको देवघाटधामलाई जोड्न ४४ वर्ष अगाडि निर्माण गरिएको झोलुङ्गे पुल जीर्ण भएकाले मंगलबार र बुधबार २ दिन पुलमा मोटरसाइकल आवतजावत गर्न रोक लगाईएको थियो ।

नेपालीमा शतको अर्थ सय र बीजको अर्थ बीउ हुन्छ । यसरी शतबीज भन्नाले सयथरी बीउ भन्ने बुझिन्छ । तर पनि शतबीजमा मुख्यतः धान, जौ, गहुँ, चना, तिल, कागुनु र मकैलाई मात्र लिइने गरेको पाइन्छ । यसैगरी शतबीजको मिश्रणमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती, निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूलहरू पनि हुने गर्दछन् । यसैगरी शतबीजमा आफ्नो स्थानीय फलफूल पनि मिसाइन्छ । आफ्नो परिवारका दिवंगत आत्मालाई शान्ति दिलाउन मंसिर कृष्ण त्रयोदशीका दिन राति भक्तजनहरूले मन्दिर वरपर बसी दिवंगत आत्माको नाममा महादीप बाली रातभर भजनकीर्तन र लोक झाँकीका साथै दोहरीगीत गाएर रात बिताएका थिए ।

आफ्ना मातापिताको आशौच वा बरखी बारेको समय बाध्यताले गर्दा गर्नुपर्ने विविध नियमको पालन गर्न नसकिने हुनाले मार्गकृष्ण त्रयोदशीको साँझमा बत्ती जगाई रातभरि जाग्राम बसी भोलिपल्ट शतबीउ छर्नाले आध्यात्मिक र आधिभौतिक र आधिदैविक पापहरू नष्ट हुन्छन् भन्ने विश्वास रहेको छ । राति बालिएको बत्ती चतुर्दशीको बिहानै नदीमा सेलाए (बगाए) पछि शतबीज छर्छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पराजित उम्मेदवारहरुले दिए बिजयीहरुलाई बधाई र मतदातालाई धन्यवाद

तनहुँ । फागुन २३ तनहुँको दुबै निर्वाचन क्षेत्रमा पराजित भएका उम्मेदवारहरुले बिजयी सांसदहरुलाई बधाई दिएका

प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामः तनहुँका दुबै क्षेत्रमा रास्वपाको सानदार जित

तनहुँ । फागुन २३ प्रतिनिधि सभा सदस्यको निर्वाचन अन्तर्गत तनहुँको दुबै निर्वाचन क्षेत्रको मतगणना सकिएको