पृथ्वीराजमार्गलाई अपाङ्गतामैत्री बनाउन सरोकारवालाद्वारा अनुगमन

Devghat Online

शेयर गरौ

‘अपाङ्गता भएका व्यक्तिहरुको गुनासो र सरोकार सम्भव भएसम्म सम्बोधन गरिने’

तनहुँ । मंसिर २२

विस्तारको अन्तिम चरणमा पुगेको पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकलाई अपाङ्गतामैत्री बनाउन सरोकारवालाहरुले सोमबार अनुगमन गरेका छन् । उक्त सडक अपाङ्गतामैत्री नभएको भन्दै अपाङ्गता भएका व्यक्तिहरुका लागि पहुँचयुक्तता अभियान तनहुँले यस अघि नै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको थियो । अपाङ्गता भएका व्यक्तिहरुका लागि पहुँचयुक्तता अभियान तनहुँले पृथ्वीराजमार्गको दमौली बजार खण्डको अनुगमन पश्चात प्राप्त निश्कर्षहरु सम्बन्धित निकायमा बुझाउँदै उक्त सडक अपाङ्खतामैत्री नभएको गुनासो गरेको थिए ।

मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँ सदरमुकाम दमौली बजारमा अपाङ्गता भएका व्यक्तिहरूका लागि हिँडडुलमा समस्या भएको पहुँचयुक्तता अभियान तनहुँका संयोजक तथा अपाङ्गता अधिकारकर्मी मदन पौडेलले बताए । अपाङ्गता भएका व्यक्तिहरुका लागि पहुँचयुक्तता अभियानले दमौली बजारको सडक अपाङ्गतामैत्री भए/नभएकोबारे परीक्षण गरेको थिए । दमौली बजारको दुर्गामन्दिरदेखि बुल्दीखोलासम्म पहुँचयुक्ततासम्बन्धी अनुगमनका क्रममा जेब्राक्रस र फुटपाथ अपाङ्गतामैत्री नभएको देखिएकाले सो स्थानलाई अपाङ्गतामैत्री बनाउन सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिदिन माग गर्दै यस अघि नै ज्ञापनपत्र बुझाइएको अपाङ्गता अधिकारकर्मी एवं अभियानका संयोजक पौडेलले जानकारी दिए ।

उक्त ध्यानाकर्षणपछि सोमबार मुग्लिन पोखरा सडक आयोजना पुर्वी खण्डका प्रतिनिधिले अपाङ्गता अधिकारकर्मीहरुसँगै सडकको पहुँचयुक्तताको बारेमा अनुमगन गरेका थिए । ‘उल्लेखित सडकखण्डमा रहेको सडक नालीमाथि राखिएको स्लाबबीचको ग्याप अधिक रहेकाले अपाङ्गता भएका व्यक्तिहरू दुर्घटना पर्ने अत्यधिक सम्भावना देखिएको छ ।’ अपाङ्गता अधिकारकर्मी पौडेलले भने ‘सडक निर्माणसँगै जेब्राक्रसिङ, टेक्सटाइलजस्ता क्षेत्रमा सुधार गर्नुपर्ने देखिएको छ । साथै भोर्लेटारचोकमा बनाईएको जेब्राक्रस अपाङ्गता भएका व्यक्तिहरुको कुनै पहुँचमा नभएको पौडेलले बताए ।

व्यास नगरपालिका अपाङ्गता सहायता कक्षमा कार्यरत ह्वीलचियर प्रयोगकर्ता कृष्ण थापाले ह्वीलचियर प्रयोगकर्तालाई सडक अपाङ्गतामैत्री नभएको बताइन् । उनले भनिन् ‘ह्वीलचियर प्रयोगकर्ताले कतिपय ठाउँमा जेब्राक्रसको प्रयोग गर्न मिल्ने अवस्था छैन । जेब्राक्रस त छ तर सडक पहुँचयुक्त छैन ।’ उनले यो सडकले अपाङ्गता भएका व्यक्तिलाई झन बढि समस्या उत्पन्न गर्ने बताइन् ।

जिल्ला प्रहरी कार्यालयदेखि तरकारी लाइनसम्मको फुटपाथ अति भिरालो र तरकारी लाइनदेखि सफासडकसम्मको फुटपाथ भिरालो भएकाले अपाङ्गतामैत्री नदेखिएको पौडेलले बताए । दुर्गामन्दिरदेखि बुल्दीखोलासम्मको दुवैतर्फको फुटपाथ मध्यभागमा पर्ने गरी बिजुलीका पोल राखिएकाले ह्वीलचियर प्रयोगकर्ता र सेतोछडी प्रयोगकर्ताहरू फुटपाथको प्रयोगबाट वञ्चित भएको पौडेलले बताए । साथै दुर्गा मन्दिरदेखि बुल्दीखोलासम्मको दुवैतर्फको फुटपाथको मध्यभागमा पर्नेगरी बिजुलीका पोल राखिएकाले सेतोछडी प्रयोगकर्ताको सहजताका लागि राखिएको टेक्सटायलको प्रयोग गर्दा सिधै बिजुलीको पोलमा ठोक्किने समस्या रहेको उनले बताए ।

सफासडक चोकमा रहेको जेब्राक्रस पार गरी सडकको दुवैतर्फका फुटपाथहरुमा उक्लने ¥याम्प नबनाउँदा समस्या भएको थापाले बताइन् । बागबजारमा बनाइएको जेब्राक्रसबाट सडक वारपार गर्न नमिल्ने गरी डिभाइर राखिएको साथै दुवैतर्फका फुटपाथहरूमा उक्लने ¥याम्प नबनाइएको उनले बताइन् । साथै बुल्दीखोला पुल नजिकै भएको जेब्राक्रसबाट सडक वारपार गर्न नमिल्नेगरी डिभाइडर राखिएको छ ।
सोमबार उक्त सडकको पहुँचयुक्तताको निरिक्षण गर्दै मुग्लिन–पोखरा सडक आयोजना पुर्वी खन्डका सुचना अधिकारी तथा इन्जिनियर विष्णुप्रसाद पाण्डेले अपाङ्गता भएका व्यक्तिहरुको गुनासो र सरोकार सम्भव भएसम्म सम्बोधन गरिने बताए । अपाङ्गता भएका व्यक्तिहरुले बुझाएको ज्ञापनपत्रको बारेमा सडक आयोजनाको परामर्शदाता र निर्माण पक्षलाई ध्यानाकर्षण गराईएको भन्दै पाण्डेले उक्त विषयलाई जतिसक्दो सम्बोधन हुने बताए । फुटपाथको विचमा बिजुलीको पोल गाडिएको विषयमा पनि नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराईएको पाण्डेले बताए ।

वि.सं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सडक चार लेनको बनाइएको हो । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम गरिरहेको छ । आबँुखैरेनी गाउँपालिकादेखी म्याग्दे गाउँपालिकाको जामुनेसम्मको पूर्वी खण्डको कामका लागि वि.सं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । त्यस्तै जामुनेदेखी पोखरा पृथ्वीचोकसम्मको पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म वि.सं २०७८ जेठ २ गते सम्झौता भई वि.सं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का ७ अर्ब ४० करोड ४६ लाखमा लागेको थियो । दुबै खण्डको काम अहिले अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू