सागर पाण्डे
आदिकवि भानुभक्त क्याम्पस व्यास नपा–१ दमौलीका स्नातक तह अन्तर्गत बि.एड तथा स्नातकोत्तर तहका ३८ जना विद्यार्थीहरू र एक जना क्याम्पस प्रतिनिधि क्याम्पसकी सहायक प्राध्यापक नारायणी अधिकारीको नेतृत्वमा २०८२ मङ्सिर १३ गते बिहान ठीक ६ बजे आदिकवि भानुभक्त क्याम्पसका बि.एड तथा स्नातकोत्तर तहका विद्यार्थीहरू ३ दिने शैक्षिक अवलोकन भ्रमणका लागि क्याम्पस प्रतिनिधि नारायणी अधिकारीको नेतृत्वमा भ्रमण टोली हिड्यौँ । बिहानको चिसो र स्वच्छ वातावरण र भ्रमणको उत्साहका साथ बिहानको खानाका लागि पर्वत जिल्लाको कुश्मातर्फ अघि बढि कुश्मामा पुगेर खाना खायौँ । खाना खाए पश्चात् भ्रमण टोलीको यात्रा धार्मिक र प्राकृतिक महत्त्व बोकेको म्याग्दीको गलेश्वर महादेव मन्दिरतर्फ लागियो । मन्दिर परिसरको आध्यात्मिक शान्ति, मन्दिरको वातावरण र वरपरको प्राकृतिक सौन्दर्यको अवलोकन गरियो ।




त्यसपछि म्याग्दी जिल्लामा रहेको संसारकै होचो गल्छी अन्ध दाना गल्छीमा रहेको रुप्से झरना अवलोकन गरियो । त्यसपश्चात मुस्ताङ जाने क्रममा बाटोमा देखिएका हिमाली दृश्यहरुले यात्रालाई अझै रोमाञ्चक बनायो । हिमालहरूको श्रृखला हेर्दैँ यात्रा अघि बढ्दै जाँदा साँझ ७ बजेतिर भ्रमण टोली मुस्ताङको ऐतिहासिक र मनमोहक गाँउ मार्फा पुगियो । त्यहाँको चिसो, शान्त वातावरण, बस्तीको मौलिकता र हिमाली हावाले दिनभरको थकानलाई पनि आनन्दमा बदलिदिएको थियो । साथै बेलुका नै मार्फाको जेरी गल्ली घुमेर त्यहाँको मौलिकताको अवलोकन गरेका थियौँ ।
दोस्रो दिन मङ्सिर १४ गते बिहान ७ बजे भ्रमण टोली मुक्तिनाथ मन्दिरतर्फ प्रस्थान गर्यौ । बाटोमा पर्ने कागबेनीको सांस्कृतिक परिवेश, सेल्फी डाँडाको रमाइलो दृश्य र हिमाली भू–भागको प्राकृतिक सौन्दर्यले सबैलाई उत्साहित बनाएको थियो । ठीक ९ बजे मुक्तिनाथ मन्दिर पुगेपछि धार्मिक वातावरणले मनमा गहिरो शान्ति र श्रद्धा जगाउदैँ बिहान ११ बजे पूजा सम्पन्न गरी मन्दिर परिसर र आसपासका स्थानहरूको अवलोकन पछि टोली मन्दिरबाट फर्कियौ । त्यसपश्चात जोमसोम बजार नजिक रहेको दुम्बा तालको शान्त परिवेश र अद्भुत दृश्यले झन रोमाञ्चित बनायो। त्यसपछि जोमसोम बजारमा खाना खाए पश्चात मार्फा बजारमा सामानहरु किनेर भ्रमण टोली बेलुकाको बास बस्नको लागि म्याग्दीको बेनी तर्फ प्रस्थान गरियो र साँझ ७ बजे बेनी बजारमा बास बसियो ।

तेस्रो दिन मङ्सिर १५ गते बिहान भ्रमण टोलीले म्याग्दीको बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसको शैक्षिक गतिविधि अवलोकन गरियो । क्याम्पसको शैक्षिक अवलोकन अध्ययनपछि टोली बाग्लुङ जिल्लामा अवस्थित रमणीय स्थल पञ्चकोटतर्फ हिड्यौँ । त्यहाँ पुगेपश्चात त्यहाँबाट देखिने मनोरम दृश्य, धवलागिरीको सौन्दर्य अवलोकन गर्यौँ त्यसपश्चात ऐतिहासिक एवम् धार्मिक स्थल बाग्लुङ कालिका भगवती मन्दिर पुगेर पूजा–अर्चना गरियो र केही समय धार्मिक र सांस्कृतिक परिवेशमा बिताइयो । त्यहीँ खाना खाए पश्चात भ्रमण टोली घर फर्किने यात्रामा लाग्यौ र बेलुका ८ बजे दमौली आइपुगेर तीन दिनको अविस्मरणीय यात्रा सम्पन्न गरियो ।
समग्रमा, यो सम्पूर्ण शैक्षिक अवलोकन भ्रमण आदिकवि भानुभक्त क्याम्पसका विद्यार्थीहरूको लागि अत्यन्तै उपलब्धिमूलक, ज्ञानवर्धक र रोमाञ्चक रह्यो । यात्रा केवल अध्ययन र अवलोकनमा सीमित रहेन; यसले टोलीलाई प्रकृति, संस्कृति, शिक्षा र आध्यात्मिक अनुभवहरु प्रदान गरेको थियो ।












