तनहुँ । मंसिर २५
भिमाद नगरपालिकाले दूधमा अनुदान दिने भएको छ । दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ अनुसार कृषकलाई प्रति लिटर १० रुपैयाँ प्रोत्साहन दिने निर्णय भएको नगरपालिकाले जनाएको छ ।



यस कार्यक्रम सन्चालनकोलागि लागि बुधबार भिमाद नगरपालिका र भिमाद कृषि उद्यम सहकारी संस्था बीच सम्झौता भएको छ । सम्झौता अनुसार, दूध उत्पादन गर्ने कृषकले भिमाद कृषि उद्यम सहकारीमा बिक्री गरेको दूधमा प्रति लिटर १० रुपैयाँका दरले प्रोत्साहन रकम प्राप्त गर्नेछन् ।
उक्त अवसरमा बोल्दै भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले दूधमा प्रोत्साहन प्राप्त भएपछि कृषकहरु दूध उत्पादनमा लाग्ने र कृषकहरु आत्मनिर्भर बन्न मद्धत पुग्ने बताए ।
यसबाहेक, नगरपालिकाले भिमाद कृषि उद्यम सहकारी संस्थाबाट खरिद–बिक्री हुने मूल्य समेत तोकेको छ । तोकिएको उपभोक्ता मूल्य अनुसार दूध उत्पादनको सिजन भदौ १ गते माघ मसान्तसम्म प्रति लिटर १३० रुपैयाँ तथा अफ सिजन फागुन १ गतेदेखी साउन मसान्तसम्म प्रति लिटर १४० रुपैयाँ दूधको मुल्य तोकिएको छ ।
उक्त मुल्य भिमाद नगरपालिकाबाट प्रोत्साहन कार्यक्रममा सहभागी हुने संस्थामा मात्रै लागु हुने नगरपालिकाले जनाएको छ ।












