बन्दीपुर केवलकार र लेमन ट्री होटल्स बीच फ्रेन्चाइजी सम्झौतामा हस्ताक्षर

Devghat Online

शेयर गरौ

तनहुँ । पुस १

बन्दीपुर केवलकार एण्ड टूरिजम लिमिटेड र भारतको अग्रणी तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित होटल शृङ्खला लेमन ट्री होटल्स लिमिटेडबीच होटल सञ्चालनको लागि १५ वर्षे फ्रेन्चाइजी तथा व्यवस्थापन सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौतामा हस्ताक्षर समारोह भारतको नयाँ दिल्लीस्थित लेमन ट्री होटल्सको केन्द्रीय कार्यालयमा सम्पन्न भयो । बन्दीपुर केवलकार एण्ड टूरिजम लिमिटेडको तर्फबाट चिफ अथराइज्ड कन्सल्टेन्ट विष्णु पन्थी र लेमन ट्री होटल्स लिमिटेडको तर्फबाट मुख्य कार्यकारी अधिकृत (सिईओ) विलास पवारले सम्झौतामा हस्ताक्षर गरे ।

यस सम्झौता अनुसार बन्दीपुरस्थित होटल अब ‘लेमन ट्री होटल्स’ ब्राण्डको वैश्विक नेटवर्कको हिस्सा बनेर सञ्चालनमा आउनेछ । यसले होटलको व्यवस्थापन, ब्राण्ड मान्यता, अन्तर्राष्ट्रिय बजारिकरण, सेवा गुणस्तर नियन्त्रण, मानव संशाधन विकास तथा वैश्विक आरक्षण प्रणालीमा पहुँच सुनिश्चित गर्नेछ ।

लेमन ट्री होटल्स लिमिटेड भारत, मध्यपूर्व र एसियाका विभिन्न देशहरूमा १०० भन्दा बढी होटल, ९०००+ कोठा, र विश्वव्यापी यात्रा प्लेटफर्म, एयरलाइन्स सहकार्य तथा अन्तर्राष्ट्रिय टुर अपरेटरहरूसँग जोडिएको एक प्रतिष्ठित ब्राण्ड हो । यसको वैश्विक आरक्षण नेटवर्क, कर्पोरेट यात्रा खण्ड र लक्जरी–मध्यम श्रेणीको ग्राहक आधारले बन्दीपुरलाई अन्तर्राष्ट्रिय पर्यटन नक्सामा अझ प्रबल रूपमा स्थापित गर्ने अपेक्षा राखिएको छ ।

यो सहकार्यलाई बन्दीपुर केवलकार एण्ड टूरिजम लिमिटेडको विकासको एउटा रणनीतिक टर्निङ पोइन्ट मानिएको छ । अन्तर्राष्ट्रिय ब्राण्डसँगको साझेदारीले कम्पनीको राजस्व स्थायित्व, होटलको अकुपेन्सी दरमा वृद्धि, विदेशी मुद्रा आर्जन, र ब्राण्ड मूल्य तथा कम्पनीको छविमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

यसले लगानीकर्ताको विश्वास बढाउने, बजारमा कम्पनीको विश्वसनीयता ठोस पार्ने, तथा पर्यटन–केन्द्रित दीर्घकालीन वृद्धिका सम्भावनाहरूलाई अझ स्पष्ट बनाउने अपेक्षा छ । साथै, बन्दीपुर केवलकार, होटल र समग्र गन्तव्य पर्यटनबीचको सहकार्यबाट कम्पनीको व्यवसायिक दायरा विस्तार हुने अनुमान गरिएको छ ।

यस सम्झौतापछि बन्दीपुरमा अन्तर्राष्ट्रिय पर्यटकको आगमनमा वृद्धि, स्थानीय स्तरमा रोजगारीको अवसर सिर्जना, सेवाको गुणस्तरमा उन्नति तथा क्षेत्रको समग्र पर्यटन पूर्वाधारमा सुधार हुने अपेक्षा गरिएको बन्दीपुर केवलकार एण्ड टूरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताए । यस सम्झौताको परिणामस्वरूप, बन्दीपुरको होटल शीघ्र नै औपचारिक रूपमा लेमन ट्री होटल्सको ब्राण्ड नाम तथा मानकअनुरूप सञ्चालन सुरु गर्ने अध्यक्ष शर्माले जानकारी दिए ।

बन्दीपुर केवलकार एण्ड टूरिजम लिमिटेड बन्दीपुर क्षेत्रमा पर्यटन विकासको अग्रणी संस्था हो । लेमन ट्री होटल्स लिमिटेड भारतको एक प्रमुख होटल शृङ्खला हो जसको एसिया र मध्यपूर्वमा ठुलो उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

६ जना फसेको सूचना आएको भन्दै रास्वपा सांसद श्रीराम न्यौपाने चिलिमे हिँडे

काठमाडौं । भदौ २१ सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का इन्जिनियर सांसद श्रीराम न्यौपाने फेरि सुरुङ