देवघाट । पुस ८
देवघाट गाउँपालिका–२ का कृषक मनिष मल्ल ‘नेपालका १० उत्कृष्ट युवा पुरस्कार’ बाट सम्मानित भएका छन् । जनकपुरमा सम्पन्न नेपाल जेसीजको ५२ औँ राष्ट्रिय महाधिवेशनको अवसरमा युवा कृषक मनिष मल्ल उक्त पुरस्कारबाट सम्मानित भएका हुन् ।



प्रशन्न ढकालको नेतृत्वमा रहेको देवघाटधाम जेसीजको सिफारिशमा कृषि तथा उद्यमशीलता क्षेत्रमा पु¥याउँदै आउनुभएको उल्लेखनीय योगदानको उच्च मूल्यांकन गर्दै मल्ललाई उक्त सम्मान प्रदान गरिएको हो । युवा उमेरमै कृषिलाई परम्परागत सोच र सीमाभन्दा बाहिर लैजाने साहसिक कदम चालेका मल्लले आधुनिक प्रविधि, वैज्ञानिक खेती प्रणाली र बजारमुखी योजनामार्फत कृषि व्यवसायलाई सफलतापूर्वक अगाडि बढाउँदै आएका छन् । उनको सक्रियताले न केवल उत्पादन र गुणस्तरमा सुधार ल्याएको छ, स्थानीय स्तरमा रोजगारी सिर्जना हुनुका साथै अन्य युवालाई पनि स्वदेशमै केही गर्न सकिन्छ भन्ने विश्वास जगाएको छ ।
कृषिलाई सम्मानजनक पेशा र दिगो उद्यमका रूपमा स्थापित गर्न देखाएको निरन्तर मेहनत, नेतृत्व क्षमता र समाजप्रतिको उत्तरदायित्वलाई ध्यानमा राख्दै नेपाल जेसीजले उहाँलाई देशभरका उत्कृष्ट युवामध्ये एकका रूपमा छनोट गरेको जनाएको छ । सम्मान प्राप्त गरेपछि प्रतिक्रिया दिँदै मनिष मल्लले यो उपलब्धि आफू एक्लाको मात्र नभई देवघाटधाम जेसीजको विश्वास, परिवारको निरन्तर साथ र स्थानीय समुदायको हौसलाबाट सम्भव भएको बताए । उनले आगामी दिनहरूमा पनि आधुनिक, दिगो र युवामैत्री कृषिको प्रवद्र्धनमा निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
देवघाटधाम जेसीजले मनिष मल्लको यस उपलब्धिले देवघाट क्षेत्रको पहिचान राष्ट्रिय स्तरमा थप उजागर गर्नुका साथै युवाहरूलाई कृषि उद्यमशीलतातर्फ आकर्षित गर्न प्रेरणादायी भूमिका खेल्ने विश्वास व्यक्त गरेको देवघाटधाम जेसिज–२०२५ का अध्यक्ष ढकालले बताए ।












