तनहुँ । पुस ९
म्याग्दे गाउँपालिकाले जनतालाई घरदैलोमा नै सुविधा दिनको लागि व्यवसाय दर्ता र सुचिकरण अभियान सन्चालन गरेको छ । मंगलबार वडा नम्बर ३ देखी सुरु भएको उक्त अभियान बुधबार वडा नम्बर ६ मा सम्पन्न भयो ।



मंगलबार वडा नम्बर ३ मा ४४ जनाले सेवा लिएका थिए भने बुधबार ५५ जनाले सेवा लिएका छन् । म्याग्दे गाउँपालिकाको आयोजना र म्याग्दे उद्योग वाणिज्य संघको सहकार्यमा व्यवसाय दर्ता तथा सुचिकृत अभियान अन्तर्गत म्याग्दे गाउँपालिकाले जनताको घर आँगनमा सेवा दिएको हो ।
उक्त शिविर अन्तर्गत पहिलो दिनको वडा नम्बर ३ को धयरेचोकमा आयोजित कार्यक्रममा शिविरको उद्घाटन गर्दै म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले घरदैलोमा आएको सेवाबाट सबै व्यवसायीले लाभ लिनु पर्ने बताए । दर्ता भएका व्यवसायीलाई प्रमाणपत्र प्रदान गर्दै अध्यक्ष श्रेष्ठले व्यवसायमा निरन्तरता दिदै गाउँपालिकाको दिगो विकासमा लाग्न सबै व्यवसायीलाई आग्रह गरे । वडा नम्बर ६ का वडाअध्यक्ष हिरालाल गुरूङले व्यवसाय दर्ता तथा नविकरण कार्यक्रम वाट नागरिकहरू खुसी भएको बताए ।

गाउँपालिका भित्र व्यापार व्यवसाय गर्ने व्यवसायीलाई कानुनी दायरामा ल्याउने उदेश्यले अभियानकै रूपमा दर्ता तथा सुचिकृत कार्य सचालन गरिएको हो । व्यवसायीलाई पटक–पटक सुचना गर्दा पनि दर्ता वा सुचिकृत हुन नआए पश्चात अभियानकै रूपमा दर्ता तथा सुचिकृत गर्ने कार्यलाई अगाडि वढाईएको म्याग्दे गाउँपालिकाका आर्थिक विकाश शाखा प्रमुख प्रदिप न्यौपानेले बताए ।
म्याग्दे उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दरमणी अधिकारीले व्यवसायीको हितका लागि गाउँपालिकाको सहकार्यमा दर्ता, नविकरण अभियान सन्चालनमा सहकार्य गरेको बताए । अध्यक्ष अधिकारिले गाउँपालिकाले व्यवसायिको हितमा कार्य गर्ने र कानुनी दायरामा ल्याउन व्यवसायी सस्था सहयात्री भएको बताए । स्थानिय सरकारसँग गाउँपालिका भित्र सन्चालन हुने उद्योगी, व्यवसायीको प्रत्यक्ष सलंग्नता हुनेहुँदा दर्ता र सुचिकृत गर्ने अभियानमा सहकार्य गरेका अधिकारीले बताए ।
वडामा होटल, किराना, कृषि, मासुपसल, स्टेशनरी, परामर्श, व्युटिपालर, सप्लायर्स लगायत सचालनमा रहेका व्यवसायी दर्ता तथा सुचिकृत भएका अधिकृत न्यौपानेले जानकारी दिए । सो अवधिमा व्यवसायीको सहजका लागि फोटोकपी लगायतका कार्य निःशुल्क गर्ने गरि आवश्यक व्यवस्थापन गरिएको उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेन्द्र अधिकारीले जानकारी दिए । गाउँपालिका भित्रका उद्योगी व्यवसायी आफ्नै घर, टोलवाट सेवा पाएपछि उत्साहका साथ सहभागी भई कानुनी प्रकृया लगायतमा जानकारी लिएको म्याग्दे उद्योग वाणिज्य संघका महासचिव राजिव श्रेष्ठले जानकारी दिए ।












