तनहुँ । पुस ८
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँका नेताहरुले तनहुँ जलविद्युत आयोजनाको जलाशय क्षेत्रलाई बहुआयामिक राष्ट्रिय पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न र प्रभावित स्थानीय समुदायले जलाशयबाट पाउने बहुउपयोगी लाभको सुनिश्चितता गर्न आयोजनाको पक्षसँग माग गरेको छ । तनहुँ जलविद्युत आयोजनाका कार्यकारी प्रमुख छवि गैह्रेलाई मंगलबार ज्ञापनपत्र बुझाउँदै रास्वपाका नेताहरुले उक्त माग गरेका हुन् ।
तनहुँ जिल्लाको म्याग्दे र रिसिङ गाउँपालिका एवं व्यास र भिमाद नगरपालिकाका स्थानीय बासिन्दालाई प्रत्यक्ष तथा परोक्ष रूपमा प्रभाव पार्ने, पृथ्वी राजमार्ग र मानुङकोट पर्यटकीय स्थलसँग जोडिएको १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाबाट सृजना हुने करिब २१ किलोमिटर लामो जलाशय दुवैतर्फ अग्ला–अग्ला वनजङ्गल युक्त पहाड र साँघुरो खोँचले घेरिएको विशिष्ट भौगोलिक बनावटमा रहेको छ । ऊर्जा उत्पादनसँगै पर्यटन र स्थानीय रोजगारी सिर्जनाको केन्द्र बन्न सक्ने यो क्षेत्र तनहुँको नयाँ पहिचान बन्ने स्पष्ट आधार रहेको छ ।



आयोजना सम्पन्न भई जलाशय बनेपछि बहुआयामिक राष्ट्रिय पर्यटकीय गन्तव्यको रूपमा विकास गर्दै स्थानीय जनताले पाउन सक्ने प्रतिफल एवं लाभलाई दिगो, न्यायोचित र प्रभावकारी बनाउन निम्न सामाजिक, आर्थिक तथा प्राविधिक लाभका क्षेत्रहरूमा वर्गिकरण गरी सुनिश्चित गर्न आवश्यक रहेको छ । यसै सम्बन्धमा औपचारिक निर्णय सहित कार्यान्वयनका लागि विशेष भुमिका निर्वाह गरियोस् भन्दै रास्वपाका नेताहरुले १० बुँदे माग ज्ञापनपत्रको रुपमा पेश गरेका हुन् ।
उक्त ज्ञापनपत्रमा खानेपानी तथा सरसफाइको अधिकार सुनिश्चितता तर्फ जलाशयको ५ किलोमिटर दायाँ–बायाँ क्षेत्रका बस्तीमा सुरक्षित खानेपानी वितरण लाइन विस्तार, दीर्घकालीन र क्षमतावान पानी शुद्धीकरण तथा भण्डारण प्रणाली स्थापना, साना मुल र झरनालाई उपयोग गरी माइक्रो–वाटर सिस्टम स्थापना गर्न सहयोग गर्नुपर्ने माग गरिएको छ ।

त्यसैगरि मौजुदा सिंचाइ सुविधाको स्तरोन्नति तर्फ मौजुदा सिंचाइ कुलोहरूको स्तरोन्नति तथा नयाँ कुलो निर्माण, मौजुदा सिंचाइ र स–साना मुलहरुबाट आधुनिक प्रविधिको प्रवद्र्धन तथा जलयातायातको विकास तर्फ जलाशयमा सुरक्षित डुंगा यातायात सेवा सुरु गर्न आवश्यक पूर्वाधार विकास, स्थानीय बोटे र युवालाई तालिमसहित डुंगा सञ्चालन अनुमति प्रदान एवं जलयातायात सम्बन्धी सुरक्षा मापदण्ड, घाँटीपाटी प्रतीक्षालय निर्माण गर्नुपर्ने माग गरिएको छ ।
त्यसैगरि पर्यटन तथा मनोरञ्जन क्षेत्रको विकास तर्फ जलाशयको दुबै किनारमा सडक, भ्यू–टावर, पार्क, पदमार्ग, मनोरञ्जन स्थल निर्माण, होमस्टे, रिसोर्ट, क्याफे, बोटिङ, क्याम्पिङ आदि पर्यटन क्रियाकलापका लागि पूर्वाधार निर्माण गर्न अनुमति सहित प्रोत्साहन अनुदान र स्थानीय पर्यटन व्यवसायीलाई सीप विकास तालिम तथा प्रोत्साहन अनुदान दिनुपर्ने माग गरिएको छ ।
त्यस्तै माछापालनको प्रवद्र्धन तर्फ जलाशयमा आधुनिक माछापालन कार्यक्रम, स्थानीय सहकारी तथा समूहलाई अनुमति, संख्या निर्धारण तथा अनुदान सहयोग र माछा प्रशोधन तथा बजार व्यवस्थापन केन्द्र स्थापना गर्न माग गरिएको छ । त्यस्तै निर्माण सामग्री प्रसोधन तथा स्थानीय रोजगारी तर्फ माथिल्लो तटीय क्षेत्रमा जलाशयमा जम्मा भएर बस्ने बालुवा÷ढुंगा व्यवस्थापनमा छुट्टै कार्यविधि ल्याई स्थानीयलाई प्राथमिकता दिनुपर्ने माग गरिएको छ ।
त्यसैगरि स्थानीय श्रमशक्ति, ट्रक/ट्याक्टर, मेसिनरीलाई प्राथमिकता दिइ गुणस्तरयुक्त सस्तोमा निर्माण सामाग्री उत्पादन गराउने नीति बनाउनुपर्ने, निर्माण सामग्री प्रसोधन केन्द्रमा स्थानीय लगानीको अवसर दिनुपर्ने तथा होटल, रिसोर्ट तथा व्यवसायिक अवसरको लागि जलाशय किनारका क्षेत्रमा होटल, रेस्टुरेन्ट, रिसोर्ट सञ्चालन गर्न स्थानीयलाई अग्राधिकार दिनुपर्ने व्यवसाय दर्ता, अनुमति तथा लगानीमा सहुलियत तथा प्रविधि तालिम उपलब्ध गराउनुपर्ने माग गरिएको छ ।
सामाजिक–आर्थिक क्षतिपूर्ति तथा समुदाय उत्थान अन्तगर्त जलाशय निर्माण पश्चात आउन सक्ने अप्रत्याशित भु–स्खलन, पहिरो वा अन्य कारण हुने क्षतिको तत्काल अद्यावधिक मूल्याङ्कन गरी क्षतिपूर्ति दिनुपर्ने, जलाशयको दुबै किनारमा पुर्वाधारः विद्यालय, स्वास्थ्यचौकी, खानेपानी, स्थानीय महिला, युवा, दलित, जनजाति र पिछडिएको समुदायका लागि सीप विकास तथा उद्यमशिलता कार्यक्रम सन्चालन गर्नुपर्ने । त्यस्तै प्राविधिक तथा वातावरणीय सुरक्षाको सुनिश्चितता दिनुपर्ने, ढल, फोहोर व्यवस्थापन, ढल निकास, भूस्खलन न्यूनीकरणका लागि प्राविधिक उपाय अबलम्बन गर्नुपर्ने, जलाशय किनार संरक्षण, हरियाली कार्यक्रम, जैविक विविधता संरक्षण गर्नुपर्ने, आकस्मिक उद्धार दल, सुरक्षा तालिम तथा सतर्कता प्रणाली स्थापना गर्नुपर्ने माग गरिएको छ ।
जलाशयको दुवैतर्फको अग्ला डाँडाहरूमा पर्यटकीय क्षेत्रको विकासको अवसर अन्तर्गत जलाशयको दुवैतर्फका डाँडाहरूमा मनमोहक र सुरक्षित पर्यटकीय पदमार्ग (ट्रेकिङ /हाइकिङ ट्रेल) को निर्माण गर्नुपर्ने, प्राकृतिक दृश्यावलोकनका लागि भ्युपोइन्ट तथा विश्रामस्थलहरूको विकास गर्नुपर्ने, दमौली बजारदेखि दुवै किनार जोड्ने केबलकार र जिपलाइन सञ्चालन गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षणको केन्द्र बनाउनुपर्ने, पर्यटकीय आकर्षण बढाउन सिसाबाट निर्मित झोलुङ्गे पुलको निर्माण गर्नुपर्ने, जलाशय र वरपरको प्राकृतिक सौन्दर्य उपयोग गर्दै होटल रिसोर्ट र होमस्टे व्यवसायको विस्तार गर्नुपर्ने, स्थानीय समुदायलाई प्रत्यक्ष रोजगारी र आयआर्जनको अवसर सिर्जना गर्नुपर्ने माग गरिएको छ ।
यी मागहरू जलाशय निर्माण भए लगत्तै प्रभावित स्थानीय समुदायको दीर्घकालीन हित, सामाजिक न्याय र आर्थिक सशक्तीकरणका लागि अति आवश्यक रहेको हुँदा समग्रमा जलाशय क्षेत्रलाई बहुआयामिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न परियोजनाले माथि उल्लेखित क्षेत्रहरूलाई प्राथमिकताका साथ समावेश गरी समयमै कार्यान्वयन गर्न आवश्यक कार्ययोजना सार्वजनिक गरि सम्बन्धित निकायमा ध्यानाकर्षणका लागि पठाउन समन्वय समेत गर्न रास्वपाका नेता तथा इन्जिनियर श्रीराम न्यौपाने, रास्वापका नेताहरु व्यासका चुडामणि दाहाल, भिमादका विकास सिग्देल, म्याग्देका मनोज अधिकारी, भिमादका हरि लम्साल, ऋषिङका रामु नेपाली लगायतले बुझाएको ज्ञापनपत्रमा माग गरिएको छ ।












