देवघाटधाम प्लास्टिक निषेधित क्षेत्र घोषणा

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, पुस ११

प्रसिद्ध धार्मिक तिर्थस्थल देवघाटधामलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गरिएको छ । शुक्रबार भरतपुर–१ को देवघाट बसर्पाकमा बृहत कार्यक्रमको आयोजना गरि देवघाटधामलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गरिएको हो । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल तथा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा लगायतले देवघाटधामलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गरेका थिए ।

तनहुँ, चितवन र नवलपुरको क्षेत्र समेटिएर बनेको बृहत धार्मिक क्षेत्र देवघाटलाई प्लास्टिक निषेधित क्षेत्र बनाउन देवघाट क्षेत्र विकास बिकास समितीले नवलपुरको गैँडाकोटस्थित ‘सहमति संस्था’ सँगको सहकार्यमा देवघाट क्षेत्र विकास समितिले विभिन्न अभियान सञ्चालन गर्दै आएको थियो । देवघाटमा स्नान गर्न आउने भक्तजनले प्लास्टिकमा फुल प्रसाद ल्याएर उक्त प्लास्टिक नदी क्षेत्रमा छाडेर जाँदा वातावरण प्रदुषण हुने गरेको भन्दै देवघाटको स्वच्छता कायम राख्न देवघाटधाम क्षेत्रलाई प्लास्टिक निषेधित क्षेत्र बनाईएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले देवघाटधामलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गर्नु ठुलो कुरा नरहेको र घोषणा भएपछि कार्यान्वयन गर्नु महत्वपुर्ण रहेको बताइन् । प्लास्टिक निषेधित क्षेत्र देवघाट रहेको हुँदा यसमा देवघाट गाउँपालिकाले नेतृत्व लिनुपर्ने भन्दै दाहालले यो अभियानमा भरतपुर महानगरले पुर्ण सहयोग गर्ने बताइन् । हरेक व्यक्तिमा सचेतना नभएसम्म प्लास्टिक निषेधित क्षेत्र कार्यान्वयन नहुने भन्दै मेयर दाहालले जनस्तरबाटनै चेतना आउनुपर्ने बताइन् । वातावरणमैत्री बनाउनको लागि भरतपुर महानगर पालिकाले विद्युतिय मेसिन ल्याएको भन्दै उनले यस अभियानलाई सफल पार्नको लागि सचेतनासँगै दण्ड, सजाय र जरिवाना पनि तोक्नुपर्ने दाहालले बताइन् ।

सो कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले प्लास्टिक निषेध क्षेत्र भन्दा पनि व्यवस्थापनमा जोड दिनुपर्ने बताए । यो क्षेत्रलाई प्लास्टिक निषेध क्षेत्र मात्र नभइ दुर्घन्ध रहित क्षेत्र बनाउन पर्ने अध्यक्ष थापाले बताए । देवघाट गाउँपालिकाले प्लास्टिक निषेध क्षेत्र कार्यान्वयन गर्नकोलागि स्थानीय सरकारले कानुन निर्माण गरेर अगाडी बढ्नुपर्ने भन्दै अध्यक्ष थापाले प्लास्टिक निषेध क्षेत्र कार्यान्वयन गर्नको लागि देवघाट गाउँपालिकाले आवश्यक पर्ने सबै सहयोग गर्न तयार रहेको बताए ।

उक्त कार्यक्रममा हरिहर सन्यास आश्रमका पिठाधिश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीले प्लास्टिकमा रसायनिक तत्व छ जुन निकै लामो समयसम्म रहने गर्छ, जसले मानव जिवनमा मात्र नभई बोटविरुवा पनि धेरै असर गर्ने बताए । मानव जिवनमा पछिल्लो समयमा क्यान्सर जस्तो प्राणघातक रोग देखा परेको यही प्लास्टिकको जथाभावी प्रयोगको असरको कारण रहेको उनले बताए । पृथ्वीलाई स्वच्छ बनाउन र वातावरणलाई स्वच्छ राख्नको लागि मानिसनै सचेत हुन पर्ने स्वामीले ज्ञानानन्द सरस्वतीले बताए । भरतपुर तथा गैडाकोट क्षेत्रमा प्लास्टिक निषेध गरे देवघाटमा पनि स्वतः निषेध हुने उनले बताए । प्लास्टिक जथाभावी प्रयोग गर्ने र जथभाभावी फाल्ने जस्ता क्रियाकलाप गर्ने व्यक्तिलाई कारवाही र जरिवानाको नियम लागू गर्ने र सचेतनाका सुचनाहरु ठाउँ–ठाउँमा राख्नुपर्ने स्वामी ज्ञानानन्द सरस्वतीले जोड दिए ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा.इश्वरीराज लौडारीले नेपालको संविधानको धारा ३० ले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक हकको व्यवस्था गरे अनुसार संरक्षण र व्यवस्थापनलाई राज्यले उच्च प्राथमिकतामा राखेको भन्दै पवित्र धार्मिक तिर्थस्थल देवघाटधामलाई सुन्दर, सभ्य र समृद्ध क्षेत्र निर्माणमा र नारायणी नदिको स्वच्चता परम्परागत महत्वलाई दिगो रुपमा कायम राख्न तथा देवघाटधाममा बढ्दो प्लास्टिक प्रदुषणका कारण वातावरण, नदिनाला तथा धार्मिक मर्यादामा नकारात्मक असर परिरहेको हुँदा देवघधाम क्षेत्रलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गरिएको बताए । त्रिशूली, कालीगण्डकी र नारायणी नदीमा प्लास्टिकजन्य फोहर फालिँदा नदी प्रदूषित बन्दै गएकाले नदीलाई स्वच्छ राख्न अभियान गरिएको अध्यक्ष डा.लौडारीले जानकारी दिए ।

देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष शैलेन्द्र कुमार पियाले यो अभियानलाई बोलीमा मात्र सिमित नगरी व्यवहारमा पनि उतार्न सके प्लास्टिक निषेधित गर्न असम्भव नरहेको बताए । सबैभन्दा धेरै फोहोर सदगद गर्ने ठाउँमा हुने र आफ्नो पालामा समितिले नै फोहोर टिपेको पियाले बताए । हरेक सचेत नागरिकले आफ्नो परिवार तथा समाजलाई सिकाउँदै जान सकियो भने प्लास्टिक निषेधित योजना सफल हुने पियाले बताए । पुर्व सांसद गिता वाग्लेले कानुन दर्हाे नभएसम्म र लागू नभएसम्म यो आयोजना पनि सफल नहुने बताइन् । उनले कानुन कार्यनयन गर्ने व्यक्तिले निस्वार्थ भएर कानुन पालाना गराएमा यस्ता अभियानहरु सफल हुने बताइन् ।

देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरुङले प्लास्टिक निषेध सँगै यसको विकल्प पनि खोज्नुपर्ने बताए । सचेत र सिस्टममा जान नसके केही नहुने भन्दै उनले प्लास्टिक निषेध क्षेत्र घोषणा गरिरहँदा यसको विकल्पमा दुना टपरी चलाउन सकिने बताए । यसको लागि सामुदायिक वनहरुसँग समन्वय गरि अघि बढ्नुपर्ने उनले बताए । प्लास्टिको विकल्प नखोजीकन प्लास्टिक निषेध क्षेत्र घोषणा गरेपनि कार्यान्वयन नहुने गुरुङको भनाई थियो ।

उक्त कार्यक्रममा डब्लु डब्लु एफका प्रतिनिधि करुण देवानले नदि संगै हामी भन्ने मुल नाराका साथ नारायणी नदीलाइ कसरी स्वच्छ बनाउन सकिन्छ भन्ने पैरवी कार्यक्रम गर्दै आएको बताए । यस सस्थाले वातावरण सरसफाइको लागि विभिन्न कार्यक्रम गर्दै आएको भन्दै देवानले देवघाटमा मात्र नभइ नेपाल भरी नै प्लास्टिक निषेध गर्न सके धेरै राम्रो हुने बताए ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले प्लास्टिक निषेधित क्षेत्र घोषणा पश्चात् देवघाटधाम क्षेत्र भित्र एक पटक प्रयोग हुने प्लास्टिकका झोला, ४० माइक्रोन भन्दा पातलो बोतल, गिलास, प्लेट तथा अन्य प्लास्टिकजन्य सामाग्रीको प्रयोग क्रमशः निषेध गरिने बताए । सथै वैकल्पिक रूपमा जैविक तथा वातावरणमैत्री सामाग्रीको प्रयोगलाई प्रोत्साहन गरिने कार्यकारी निर्देशक बरालले बताए ।

कार्यकारी निर्देशक बरालले प्लास्टिकजन्य फोहरलाई निरुत्साहन गर्नका लागि देवघाट क्षेत्र विकास समितिले नदी स्नान गर्न प्रवेश गर्ने स्थानमा कपडाको झोला वितरण गर्ने गरेको जानकारी दिए । प्लास्टिकजन्य फोहर नियन्त्रण गर्न झोला वितरण मात्रै प्रभावकारी नहुने भन्दै उनले जनचेतना फैलाएर घरबाटै प्लास्टिक नबोक्ने वातावरण सिर्जना गर्नुपर्ने बताए । आफूहरुको अभियानलाई देवघाटसँग जोडिएका तीन वटै जिल्लाका पालिकाबाट सहयोग रहेको र उनीहरुले बजेट विनियोजन गरेको कार्यकारी निर्देशक बरालले जानकारी दिए ।

धार्मिक क्षेत्रमा प्लाष्टिकको प्रयोग बढ्दो रहेको भन्दै प्लाष्टिक जन्य फोहोर व्यवस्थापनमा सबै पक्ष लाग्नुपर्ने बताए । नारायणी नदीको सरसफाईलाई व्यवस्थित बनाउनका लागि आफूहरुले तीन वर्षदेखि काम गरिहेको बताउँदै अहिले ‘नदी संगै हामी अभियान’ मा १३ वटा संस्था लागेको बताए । यो अवधिमा विभिन्न संघ संस्थासंग मिलेर सरसफाई सम्बन्धी १५० भन्दा बढी कार्यक्रम गरिएको उनले बताए ।
देवघाटलाई प्लास्टिक निशेधित क्षेत्र बनाउन देवघाट गाउँपालिका, भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिकासँगको सहकार्यमा देवघाट क्षेत्र विकास समिति र सहमति संस्था विच यस अघि देखी निरन्तर छलफल हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको