जिल्ला क्रिकेट संघ तनहुँको चौथो वार्षिक साधारणसभा सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । पुस १७

जिल्ला क्रिकेट संघ तनहुँको चौथो वार्षिक साधारणसभा जिल्ला खेलकुद विकास समिति तनहुँको सभाहलमा विहिबार सम्पन्न भएको छ । जिल्ला क्रिकेट संघ तनहुँका अध्यक्ष मदन तिमल्सेनाको अध्यक्षतामा सम्पन्न साधारणसभाको जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेले उद्घाटन गरे ।

उक्त अवसरमा बोल्दै प्रमुख अतिथि पाण्डेले नेपालमा क्रिकेटको अवस्था अहिले निकै सकारात्मक रहेको र भविष्यमा पनि क्रिकेटमा लागेका खेलाडीहरूका लागि राम्रो सम्भावना रहेको बताए । क्रिकेट खेलले नेपाललाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले तनहुँ जिल्लामा पछिल्लो समय क्रिकेट गतिविधिहरू उल्लेखनीय रूपमा अघि बढेको बताए । आगामी दिनमा पनि निरन्तर प्रतियोगिता सञ्चालन गर्नुपर्ने र तनहुँमा क्रिकेट मैदान अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि जिल्ला क्रिकेट संघ र जिल्ला खेलकुद विकास समिति मिलेर सम्बन्धित सरोकारवालासँग समन्वय गर्ने पाण्डेले प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य सुदिप शर्माले तनहुँ जिल्लाको क्रिकेट विकासका लागि नेपाल क्रिकेट संघ सधैं सहयोग गर्न तयार रहेको बताए । हालसम्मका गतिविधिहरू हेर्दा तनहुँ क्रिकेटले सक्षम र प्रतिभाशाली खेलाडीहरू उत्पादन गरिरहेको उनको भनाइ थियो ।

त्यस्तै, प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष संजयकान्त सिग्देलले जिल्ला क्रिकेट संघ तनहुँले प्रस्तुत गरेका भावी योजनाहरू-महिला खेलाडी उत्पादन, क्रिकेट मैदान विकास तथा प्रविधिमैत्री तालिम सञ्चालन-अत्यन्त सकारात्मक र दूरदर्शी रहेको बताए ।

कार्यक्रममा जिल्ला क्रिकेट संघ तनहुँका अध्यक्ष मदन तिमल्सेनाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संघको आयोजनामा तनहुँमा पहिलो पटक तनहुँ टि–२० कप २०८२ क्लबस्तरीय खुला प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिएको, अन्डर–१९, अन्डर–१६ उमेर समूहको खेलाडी छनौट प्रतियोगिता सञ्चालन गरिएको, प्रधानमन्त्री कप छनौट प्रतियोगिता, प्रादेशिक क्रिकेट संघ गण्डकीको वार्षिक साधारणसभामा सहभागिता जनाइएको जानकारी दिए ।

अध्यक्ष तिमिल्सेनाले भावी योजनाअन्तर्गत स्कुलस्तरीय महिला क्रिकेट प्रतियोगिता आयोजना गरी महिला खेलाडी उत्पादनमा जोड दिने, क्रिकेट मैदान विकासका लागि पहल गर्ने, एम्पायर तथा स्कोरर तालिम सञ्चालन गर्ने र क्रिकेट एकेडेमी सञ्चालनको दिशामा अघि बढ्ने योजना प्रस्तुत गरे ।

उक्त कार्यक्रममा प्रादेशिक क्रिकेट संघ गण्डकीका सचिव सुमनराज कार्की तथा जिल्ला खेलकुद विकास समितिका सदस्य मनोजकुमार सुवर्णकारलगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रमको सञ्चालन जिल्ला क्रिकेट संघ तनहुँका सचिव अमित कैनीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू