तनहुँ । पुस १९
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि तनहुँका दुबै निर्वाचन क्षेत्रमा नेकपा एमालेले उम्मेदबारको नाम सिफारिस गरेको छ । सम्बन्धित क्षेत्रीय कमिटिको बैठकले उम्मेदवारहरुको नाम सिफारिस गरेको हो ।



शनिबार पार्टी कार्यालय दमौलीमा बसेको निर्वाचन क्षेत्र नम्बर १ क्षेत्रीय समन्वय कमिटिको बैठकमा प्रतिनिधि सभा निर्वाचनकोलागि ८ जनाको नाम प्राप्त भएको थियो । जसमा भगवती न्यौपाने, प्रतापलाल श्रेष्ठ, रामबहादुर गुरुङ, प्रेमकुमार राना, शोभा गुरुङ, मोहन विश्वकर्मा, अनिल पाण्डे र पूर्णबहादुर गुरुङले उम्मेदवारको आकांक्षा राखेका थिए ।

यसैगरि शुक्रबार बसेको क्षेत्र नम्बर २ क्षेत्रीय समन्वय कमिटिको बैठकमा केदार सिग्देल, किरण गुरुङ, नरेन्द्रराज वाग्ले, हरिराज कडेंल, राजेश्वर ढकाल, नारायण खनाल, रत्नादेवी घिमिरे, वावुराम सुनार, विष्णु अधिकारी पराजुली, रामचन्द्र उपाध्याय र चन्द्रकला पौडेलले उम्मेदवारको आकांक्षा राखेका थिए ।

तर क्षेत्रीय कमिटिको बैठकले प्राथमिकताको क्रम निर्धारण गरेर एक महिला सहित तिन जनाको नाम केन्द्रमा सिफारिस गरेको छ भने अन्य प्राप्त नामहरुलाई पनि जस्ताको तस्तै पठाईएको छ । क्षेत्र नम्बर १ ले प्राथमिकताको आधारमा भगवती न्यौपाने, प्रतापलाल श्रेष्ठ र रामबहादुर गुरुङ तथा क्षेत्र नम्बर २ ले केदार सिग्देल, किरण गुरुङ र रत्नादेवी घिमिरेको नाम सिफारिस गरिएको छ । त्यस बाहेक बैठकमा प्राप्त सबै नामहरुलाई पनि जस्ताको तस्तै केन्द्रमा पठाईएको एमाले तनहुँका उपाध्यक्ष राजेश्वर ढकालले बताए ।












