विष्णु मगर । देवघाट, पुस २०
देवघाट गाउँपालिका–५ स्थित कमलादेवी टोल विकास संस्थाको आठौं वार्षिकोत्सव तथा वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । उक्त साधारण सभाको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले उद्घाटन गरे ।



सो अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष थापाले स्थानिय सरकारले बिकास निर्माणमा सबै टोललाई समान रुपमा बजेट वितरण गरेको बताए । उक्त टोलमा रहेको खानेपानीको ट्यांकीको लागि प्राविधिकको कारणले बजेट नपरेको र आगामी दिनमा टोलबिकाससँग समन्वय गरि ट्यांकी बनाउने कामलाई अगाडि बढाउने अध्यक्ष थापाले बताए । कुनै पनि सार्वजनिक भवनहरु त्था खेलमैदानहरु बनाउन सार्वजनिक जग्गा स्थानियले नै उपलब्ध गराउन पर्ने भन्दै अध्यक्ष थापाले सार्वजनिक जग्गा भेटिएको खण्डमा मात्र स्थानियको आवश्यकता हेरेर पालिकाले सहयोग गर्न सकिने बताए ।

उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरुङले आर्थिक प्रतिवेदनको विवरण गरिरहदा सामाजिक प्रतिवेदन पनि पेश गर्नुपर्ने बताए । सामाजिक प्रतिवेदन पेश गर्दा टोल बिकासको कामहरुको मुल्यांकन गरि बजेट छुट्याउन सजिलो हुने गुरुङले बताए । स्थानिय सरकारले सबै ठाउँमा नजर नपुग्न सक्छ त्यो समयमा टोलबिकासले नै स्थानिय सरकारलाई घच्घच्याउनु पर्ने गुरुङले बताए ।
कार्यक्रममा सुन्दरशिल टोलबिकास सस्थाका अध्यक्ष दुर्गालाल गुरुङले टोल बिकासलाई कसरी चलाउने भन्ने कुराहरु स्थानिय सरकारवाट सल्लाह सुझावहरु प्राप्त नभएको बताए । आगामी दिनहरुमा टोल बिकास समितिहरुलाई परिचालन गर्न स्थानिय सरकारले भुमिका खेल्न पर्ने गुरुङले बताए । वडा नम्बर ५ मा २१ वटा टोलबिकास रहेको र ती टोलबिकासहरुको कामको उचित मुल्यांकन गर्नुपर्ने गुरुङले बताए ।

सो कार्यक्रममा रास्वपा देवघाट गाउँ कार्य समितिका सभापति गोविन्द प्रसाद न्यौपानेले हरेक टोलबिकासहरु एकजुट भएर आफ्नो क्षेत्रमा बिकास गर्न लाग्नुपर्ने बताए । यस्तै कमलादेवी टोल बिकास सस्थाको अध्यक्ष राजन दर्लामी मगरले आफ्नो टोलबिकासमा महिनाको दुई चोटी बाटोहरु नालाहरु सरसफाई गर्दै आएको बताए । उनले मासिक ५० रुपैयाँको को दरले हरेक घरधुरी उठाइ सो रकमले आबस्यक अनुसार कामहरु गर्दै आएको बताए । टोलबिकासले समय समयमा घैटो फुटाई, डोरी तानी, चकलेट तानी जस्ता विभिन्न खेलकुँदका गतिविधिहरु पनि गर्दै आएको मगरले बताए । सो टोलबिकासमा ६३ घरधुरी रहेको उनले जानकारी दिए ।

उक्त कार्यक्रममा मौलिकता झल्काउने अर्गानिक खाजा कोदोको रोटी, बारा (बटुक) तरुल, सखरखण्ड, गन्द्रुकको अचार, पिँडालु प्रर्दशन गरिएको थियो । साथै उक्त टोल निवासी २०८१ सालमा एसइईमा उतिर्ण हुने ५ जना विद्यार्थी प्रसंसापत्र प्रदान गरिएको थियो । उक्त सो कार्यक्रम कमलादेवी टोल बिकास सस्थाका युवा उमेश आलेले सञ्चालन गरेका थिए ।












