हरिहर आश्रम देवघाटमा ब्रह्मलीन परमानन्द सरस्वती महाराजको पुण्यस्मृति मनाइने

Devghat Online

शेयर गरौ

देवघाट । पुस २१

देवघाट गाउँपालिका–५ स्थित हरिहर सन्यास आश्रममा बुधबार आश्रमका संस्थापक राष्ट्रसन्त ब्रह्मलीन अनन्तश्री विभूषित परमानन्द सरस्वती महाराजको २९ औँ वार्षिक पुण्यस्मृति मनाइने भएको छ ।

आश्रमका संस्थापक परमानन्द सरस्वती महाराजको २९ औँ वार्षिक पुण्यस्मृतिको अवसरमा हरिहर सन्यास आश्रम तथा परमानन्द संस्कृत गुरुकुल विद्यापिठमा आइतबारबाट विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

उक्त कार्यक्रम अन्तर्गत पहिलो दिन पुस २३ गते बुधबार प्रातकालमा गुरुकुलको सभाकक्षमा श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीको अध्यक्षतामा र प्रा.डा. जयराज आचार्यको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम गरिने छ । उक्त कार्यक्रममा नेपाल संस्कृत विश्व विद्यालयका प्रा.डा.ऋषिराम रेग्मीबाट कार्यपत्र प्रस्तुत हुनेछ । त्यसैगरि सोही दिन दिवाकालमा प्रा.डा. जयराज आचार्यको प्रमुख आतिथ्यतामा शोधविधी एवं शोधलेखन कार्यक्रम हुनेछ । उक्त कार्यक्रममा नेपाल संस्कृत विश्व विद्यालयका प्रा.डा.भागवत ढकाल, त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा.एकनारयण पौडेल लगायत विद्वतवर्गबाट मन्तव्य र टिप्पणीको कार्यक्रम हुनेछ ।

यसैगरि पुस २४ गते विहिबार प्रातकालमा गुरुकुलको सभाकक्षमा श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीको अध्यक्षतामा नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.भोजराज जोशीको प्रमुख आतिथ्यतामा ‘पौरस्त्य साहित्य एवम दर्शनमा पुर्ववाद’ विषयमा विचारगोष्ठी हुनेछ । उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्रा.डा.जिवलाल सापकोटाले कार्यपत्र प्रस्तु गर्ने र नेपाल संस्कृत विश्वविद्यालयका उपप्रा.डा.केशवराज चालिसेले टिप्पणी गर्नेछन् । सोही दिन दिवाकालमा ‘अद्वैत शैवदर्शनमा बन्धमोक्षव्यवस्था’ तथा ‘पौरस्त्य दर्शन परम्परामा अपवर्ग इश्वरवाद’ विषयक छुट्टाछुट्टै विचारगोष्ठी हुनेछ । उक्त कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका सहप्रा.डा.माधव लामिछाने र नेपाल संस्कृत विश्वविद्यालयका उपप्रा.डा.रामप्रसाद पौडेलले कार्यपत्र प्रस्तुत गर्नेछन् भने नेपाल संस्कृत विश्वविद्यालयका उपप्रा.डा.बैकुण्ठ घिमिरेले कार्यपत्रमाथी टिप्पणी गर्नेछन् ।

यसैगरि पुस २५ गते शुक्रबार प्रातकालमा श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीको अध्यक्षतामा भारतस्थित काशीहिन्दु विश्वविद्यालयका वाराणासीका प्रो.डा.बज्रभुषण ओझाको प्रमुख आतिथ्यता र नेपाल संस्कृत विश्वविद्यालयका प्रा.भिमप्रसाद कण्डेलको विशिष्ट आतिथ्यतामा शास्त्रार्थ सभा हुनेछ । उक्त कार्यक्रमको संयोजक आचार्य गोविन्द पाण्डेय रहेका छन् ।
त्यसैगरि पुस २६ गते शनिबार सन्तसमागम एवं उद्वोधन कार्यक्रम हुनेछ । उक्त कार्यक्रमको संयोजक स्वामी विमलानन्द सरस्वती रहेका छन् ।

सोही दिन रात्रीकालिनसत्रमा परमानन्द संस्कृत छात्र कल्याण परिषदको आयोजनामा श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीको संरक्षकत्व र स्वामी सच्चितानन्द सरस्वतीको अध्यक्षतामा एवं प्रा.डा.देवी नेपालको प्रमुख आतिथ्यतामा परमानन्द काव्य सरिताको १७ औं शृङखला आयोजना हुनेछ । उक्त कार्यक्रममा गुरुकुलमा साधनारत कविहरुका कवितासँगै आगन्तुक सर्जकहरुका रचना वाचन तथा उल्टो टोपी नाटकको मन्चन गरिनेछ । उक्त कार्यक्रमको संयोजक कृष्णदेव पाण्डेय रहेका छन् ।

त्यस्तै कार्यक्रमको अन्तिम दिन पुस २७ गते पृथ्वीजयन्तीको दिन आश्रमको सभाकक्षमा ब्रह्मलिन स्वामीजीको समाधि मन्दिरमा रुद्राभिषेक तथा आरती कार्यक्रम तथा गुरु भन्डारा तथा समिक्षा कार्यक्रम हुने कार्यक्रम हुने उक्त कार्यक्रमका रत्नलाल कण्डेलले जानकारी दिएका छन् ।

को हुन् राष्ट्रसन्त स्वामी श्री १००८ परमानन्द सरस्वती महाराज ?

वैदिक सिद्धान्तमा आधारित आद्यजगद्गुरू श्री शंकराचार्यद्वारा प्रतिपादित जीवनदर्शनलाई अङ्गिकार गर्दै नारायणी निवास कनखल, हरिद्वारका पीठाधीश अनन्त श्री विभूषित स्वामी सत्यप्रकाशानन्द सरस्वती महाराजका सुयोग्य शिष्य श्री १००८ स्वामी परमानन्द सरस्वती महाराजले पश्चिम नेपालका विभिन्न लेकहरुमा कठोर तपश्चर्याद्वारा सिद्धि प्राप्त गरी आफ्ना गुरूको प्रेरणा र सहयोगमा नेपालका गुल्मी, बागलुङ्, म्याग्दी, पर्वत लगायत करिब २० वटा जिल्लाहरुमा संन्यास आश्रम, संस्कृत गुरूकुल, आधुनिक विद्यालय, महाविद्यालय, पाटीपौवा, मठमन्दिर, स्वस्थ्य संस्था, सडक आदिको स्थापना, संरक्षण र विकासार्थ सामाजिक धनधान्यचलको सुरूवात गर्दै वैदिक यज्ञयगादिबाट समाजलाई आध्यात्मिक सन्देश दिई राष्ट्रविकास र पौरस्त्य वाङ्मयको श्रीवृद्धिका निमित्त आफ्नो जीवन समर्पण गर्नुभएको थियो ।

वि.सं २०२८ सालमा दिब्रुङ्, गुल्मी र वि.सं २०३३ सालमा बागलुङ् विहूँ रामकोटमा स्वामीज्यूबाट स्थापित श्री परमानन्द वेदवेदाङ्ग विद्यालयबाट उत्पादित विद्यार्थीहरुले अहिले राष्ट्र तथा अन्तराष्ट्रमा शैक्षिक, प्राशासनिक क्षेत्रका उच्चपदमा रहेर राष्ट्रसेवा एवं पौरस्त्य वाङ्मयको प्रचारप्रसार र संरक्षण संवद्र्धनमा खटिइरहेको व्यहोरा सर्वविदित नै छ । वि.सं २०३८ सालदेखि शिवशूलप्रसुता त्रिशूली गंगा र शालिग्राम गर्भा श्रीकृष्णगण्डकीको संगम स्थल, हरिहरक्षेत्र, आदिप्रयाग देवघाटधामको अध्यात्मिक एवं आधुनिक विकासार्थ चिन्तन गर्दै देवघाट आउनुभएका स्वामीज्यूले गलेश्वर आश्रमको पीठाधीश स्वीकार गर्दै आश्रम एवं समाजको सर्वाङ्गीण विकास गरेर उक्त आश्रम महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिलाई सुम्पिनुभयो भने पौरस्त्य वाङ्मयका विशिष्ट विद्वान् विश्वनाथ संस्कृत महाविद्यालय, वेदान्त विभागमा अध्यापनरत डा.स्वामी रामानन्द गिरिलाई दिल्लीबाट नेपाल ल्याई आफ्नै साथमा राखेर देवघाटमा महेश संन्यास आश्रमको स्थापना गर्न प्ररेणा गर्नुभयो ।

अर्कातर्फ वि.सं.२०४५ सालमा आफ्ना गुरू स्वामी सत्यप्रकाशानन्द सरस्वती महाराजका करकमलबाट शिलन्यास गराई वि.सं.२०५१ सालमा समुद्घाटन भएको श्री हरिहर मन्दिर सबैको आकर्षणको केन्द्रविन्दु बन्यो । नेपालकै प्रमुख मन्दिरहरु मध्ये नमुनाको रुपमा रहेको यस मन्दिरमा राखिएका दिव्यमूर्तिहरुको दर्शनका निमित्त नेपाल, भारत एवं विभिन्न देशबाट श्रद्धालुहरुको आगमन हुन्छ । आध्यत्मिक चिन्तनबाट सामाजिक जागरण साथै वैदिक धर्मसंस्कृति र गुरूकुलीय संस्कृत शिक्षा संरक्षण सम्वद्र्धनका लागि आफ्नो तपोमय जीवन समर्पण गर्नुहुने आवाल ब्रह्मचारी त्यागतपोमूर्ति स्वामीज्यू महाराज वि.सं २०५३ साल माघ १८ गते ब्रह्मलीन हुनुभएको थियो । उहाँको बह्मलीनपछि उहाँका प्रमुख उत्तराधिकारी श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीज्यू महाराज हरिहर सन्न्यास आश्रम देवघाटधाम तनहुँको पीठाधीश हुनुभएको छ । जो वर्तमानमा नेपाल सन्त समाजका अध्यक्ष समेंत हुनुहुन्छ ।

राष्ट्रसन्त स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजको योगदानको कदरस्वरुप नेपाल सरकारले उहाँको तश्विर अंकित हुलाक टिकट प्रकाशित समेत गरेको छ । राष्ट्रसन्त स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजकोपावन व्यक्तित्व र योगदानको सम्मान स्वरुप बुधबार उनको तश्विर अंकित रु.१० दरको हुलाक टिकट प्रकाशित गरिएको सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू