देवघाटमा माघे संक्रान्ति मेलाको तयारी पुरा

Devghat Online

शेयर गरौ

तिन लाख भक्तजन आउने अनुमान, तिन सय सुरक्षाकर्मी परिचलान गरिने

तनहुँ । पुस २९

माघे संक्रान्तिको अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पुर्ण तयारी पुरा भएको छ । देशकै मध्यभागमा पर्ने तनहुँ, चितवन र नवलपुरको संगममा रहेको तथा त्रिशुली र कालीगन्डकीको संगम रहेको पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघे संक्रान्तिको अवसरमा ठुलो मेला लाग्ने गर्छ । यस वर्ष माघे संक्रान्ति मेला भर्न तिन लाख भन्दा बढि भक्तजन आउने अनुमान देवघाट क्षेत्र विकास समितिले गरेको छ ।

ज्योतीषिय गणना अनुसार सुर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरेको दिनलाई मकर संक्रान्ति (माघे संक्रान्ति) भनिन्छ । पद्य्म पुराणका अनुसार सुर्य मकर राशीमा गएको बेला माघ महिनाभर देवघाटधाममा स्नान गर्नाले ठुलो पुण्य प्राप्ति हुने धार्मिक मान्यता र विश्वास रहेको छ । साथै पवित्र त्रिशुली नदी र कालीगन्डकी नदीको देवघाटमा मिलन पनि मकर संक्रान्तिको दिन नै भएको मानिन्छ । सोही कारण पनि माघे संक्रान्तिमा देवघाटमा स्नान गर्नेहरुको ठुलो घुईँचो लाग्ने गर्छ ।

देवघाटधाम ऐतिहासिक, पौराणिक, सांस्कृतिक एवं पर्यटकीय महत्व बोकेको धार्मिक तिर्थस्थल हो । गोसाँइकुण्डबाट आएको त्रिशूली र दामोदर कुण्डबाट आएको कालीगण्डकीको मिलन एवं नारायणी नदीको मुहान देवघाटधामको बेणी संगम भएकोले यो स्थानको विशेष महत्व रहेको छ । माघे सक्रान्तिको दिन पवित्र देवनदीको संगममा स्नान गर्न सम्पूर्ण देवी–देवताहरु आउने हुनाले पनि भक्तजनहरुले अदृष्य रुपमा देवी देवताहरुलाई भेटेर मोक्ष प्राप्ती गर्न सक्दछन् भन्ने पौराणिक मान्यता रही आएको छ ।

देवघाट क्षेत्र विकास समितिको व्यवस्थापनमा हुने मकर संक्रान्ति मेलाको सम्पुर्ण तयारी पुरा भएको क्षेत्र विकास समितिले जनाएको छ । देवघाट क्षेत्र विकास समितिले मंगलबार क्षेत्र विकास समितिको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि मेलाको तयारीको बारेमा जानकारी गराएको छ । पत्रकार सम्मेलनमा क्षेत्र विकास समितिका अध्यक्ष डा.इश्वरीराज लौडारी र कार्यकारी निर्देशक सदन बरालले मेलाको सम्पुर्ण तयारी पुरा भईसकेको बताए ।

वशिष्ठ, विश्वामित्र, यज्ञवल्क्य, जनक, सीता, जस्ता सयौं ऋषि महर्षि देवघाटमा आई तपस्या गरेका, रामले अश्वमेध यज्ञ लगाएका, सीताजी विलय भएकी, पाल्पाली राजा मणिमुकुन्द सेनले यही आएर तपस्या गरेका धार्मिक तथा ऐतिहासिक तथ्यहरुले पनि यस धार्मिक तीर्थस्थलको महत्व बढेको गलेश्वर आश्रमका पीठाधीश अनन्त विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीजीले बताए । यस्तो महत्वपूर्ण पवित्र धार्मिक तीर्थ स्थलमा भक्तजनहरुको घुइँचो लाग्नु स्वाभाविक नै मानिने उनले बताए ।

सदा झैं यस वर्ष पनि माघे संक्रान्ति मेलामा लाखौँ भक्तजनहरुले पवित्र धार्मिक तीर्थस्थलको तीर्थाटन गरी स्नान, जप, तप, पाठ, पूजा, हवन, दान, श्राद्ध, यज्ञ आदि कर्म गरेर पुण्य प्राप्त गर्ने विश्वास गरिएको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताए । देवघाट क्षेत्र विकास समितिले तीर्थ यात्रीहरुको यात्रा सरल, सहज, सुविधाजनक र सुरक्षित होस भन्ने उद्देश्यले चितवन, तनहूँ र नवलपुरका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, भरतपुर महानगरपालिकाका प्रमुख, अलायतको समन्वयमा कम्तीमा तिन सय सुरक्षाकर्मीहरु परिचालन गरिने बरालले बताए । यस्तै क्षेत्र विकास समितिबाट १५० भन्दाबढि स्वयंसेवक परिचालन गरिनेछ ।

मेलाको अवधिमा सवारी साधनहरु चितवनको रामनगर हुँदै देवघाट वा रामनगर–ठिमुरा हुँदै देवघाट वा दासढुङ्गा भएर देवघाटबाट प्रवेश गर्ने र फर्कदा देवघाट–बागेश्वरी हुदै आँपटारी भएर फर्कने व्यवस्था मिलाईएको बरालले बताए । त्यस्तै नवलपुर तर्फका भक्तजनहरु हर्दीको कालीगन्डकीको पुल तरेर देवघाट आउन सक्छन् । साथै मुग्लीनतर्फबाट देवघाट आउने सवारी साधनहरुलाई दासढुङ्गाबाट सिधै देवघाटधाम प्रवेश गर्ने र फर्कदा सोहि रुटबाट फर्कने व्यवस्था मिलाईएको छ ।

चिवनतर्फ सवारी साधनको पार्किङको लागि साना सवारी साधनको लागि सीताराम संस्कृत माविको कम्पाउण्ड भित्र व्यवस्था मिलाइएको छ भने ठुला सवारी साधन (बस, मिनीबस, माईक्रो) आदिको पार्किङ्ग व्यवस्था दाहसंस्कार स्थल प्रवेशद्वार (चन्द्रलोक स्वर्गद्वार) देखि उत्तर पूर्वक्षेत्रमा रहेको बसपार्कमा सवारी साधनहरुलाई सहज रुपमा पाकिंङ्ग गर्ने प्रबन्ध मिलाईएको छ । तनहूँतर्फ पैदल मार्गबाट प्रवेश गर्दा पुलको मुख, हरिहर चोक, हरिहर मन्दिर, गलेश्वर चोक हुँदै बेणी संगम र फर्कदा वेणीसंगम, गलेश्वर आश्रम, गलेश्वर चोक, चक्रवर्ती मन्दिर, महेश सन्यास आश्रम, टाउन चोक, हरिहर चोक हुँदै पुलको मुख निस्कने रुट कायम गरिएको बरालले बताए ।

तनहूँतर्फ ठुला तथा साना सवारी साधनको पार्किङ्ग देवघाट–५ को खेलकुद मैदान र हाटबजार क्षेत्र तथा मोटरसाईकलकोलागि देवघाट क्षेत्र विकास समिति अगाडीको खुला चौरमा पार्किङ्गको व्यवस्था मिलाईएको छ । त्रिशुली नदीको झोलुङ्गेपुलमा हिड्दा नरोकिकन पंक्तिबद्ध भई विस्तारै हिड्न क्षेत्र विकास समितिले अनुरोध गरेको छ । सो पुलमा एकपटकमा एक सय जना यात्रु मात्र हिड्न दिने व्यवस्था मिलाईएको छ । सस्पेन्सन्स बृज डिभिजनले एक साता लगाएर झोलुङ्गेपुलको मर्मत समेत गरिसकेको छ ।

बैकल्पिक मार्गको रुपमा वेणीमा प्रशस्त मात्रामा डुङ्गाहरुको व्यवस्था गरिएको छ । डुङ्गा, ¥याफ्टिङ्गबाट नदीवारपार गर्दा लाईफ ज्याकेट अनिवार्य लगाउनु पर्ने व्यवस्था मिलाईएको छ भने डुङ्गा तथा ¥याफ्टिङ्गबाट एकतर्फी भाडा ५० रुपैयाँ कायम गरिएको बरालले जानकारी दिए ।

प्राथमिक स्वास्थ्य उपचारमा तनहूँ तर्फ नेपाल रेडक्रस सोसाईटी देवघाट उपशाखाको संयोजकत्वमा नेपाल रेडक्रस देवघाट उपशाखा र देवघाट गाउँपालिका स्वास्थ्य शाखा सामुदायिक स्वास्थ्य ईकाईले आवश्यक प्राथमिक स्वास्थ्य उपचारको सुविधा उपलब्ध गराउने छन् भने चितवनतर्फ नेपाल रेडक्रस सोसाईटी चितवन शाखाको संयोजकत्वमा विभिन्न स्वास्थ्य संस्थाहरुको सहयोगमा एम्बुलेन्स सहितको निशुल्क स्वास्थ्य शिविर रहने व्यवस्था मिलाईएको छ ।

पौष ३० र माघ १ गते २ दिनका लागि देवघाट क्षेत्रमा विद्युत अविछिन्न प्रवाह हुने व्यवस्था मिलाईएको छ । उक्त अवधिमा अत्याधिक विद्युत खपत हुने भएकोले मेला अवधीलाई मध्यनजर गर्दै नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रबाट बैकल्पीक व्यवस्थाका लागि १०० के भि को ट्रान्फर्मर जगेडा राख्ने व्यवस्था मिलाईएको छ ।

तीर्थस्थलमा धुम्रपान, मांस–मदिरा एवं सुर्ती जन्यपदार्थहरु निषेध गरिएको छ । तसर्थ उक्त वस्तुहरु विक्रि वितरण ओसार पसार एवं सेवन कार्य नगरी सहयोग पुरÞ्याई दिनुहुन सम्बन्धित सवै पक्षसँग अनुरोध गरिएको कार्यकारी निर्देशक बरालले बताए । मदिरा सेवन गरी आउने जो कोहीलाई तत्काल सुरक्षाकर्मीले नियन्त्रणमा लिनेछन् । बेणीमा नुहाउने स्नान क्षेत्रलाई डोरी लगाएर छुट्याइएको छ । सो क्षेत्र भन्दा बाहिर गहिरोमा गएर नुहाउन खतरा हुने संकेत दिइएको छ । साथै भक्तजन एवं तीर्थयात्रीहरुको सुविधाको लागि विभिन्न सन्देश मुलक, सूचना मुलक एवं जानकारी मुलक बोर्ड र व्यानरहरुको पर्याप्त मात्रामा व्यवस्था मिलाइएको बरालले बताए ।

नुहाउँदा हुनसक्ने संभावित दुर्घटनालाई ध्यानमा राखी देवघाट क्षेत्र विकास समितिबाट आकस्मिक उद्धारका लागि ४ बटा काठका स्थानीय डुङ्गामा रेडक्रसको झण्डा राखी उद्धार व्यवस्था मिलाईएको छ भने ससस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय कुरीनटार र नेपाली सेना, नयाँ सबुज गण भरतपुरबाट २/२ वटा उद्धार याफ्टिङ्ग डुङ्गा ल्याईने बरालले बताए । साथै भक्तजनहरुको सुविधालाई मध्यनजर गर्दै पर्याप्त मात्रामा तनहूँ र चितवन दुवैतर्फ विभिन्न सामुदायिक बनहरुको सहयोगमा धुनीको व्यवस्था मिलाईएको छ ।

विभिन्न संघ/संस्था, गैर सरकारी संस्था, सामुदायिक बनहरु, टोल विकास संस्था स्थानीय महिला÷आमा समूह, विद्यालयहरु, गुरुकुल, क्लव, आदि मार्फत संस्थागत रुपमा तनहूँ, चितवन र नवलपुर तिनैतर्फ १ सय ५० जना स्वयंसेवकहरु परिचालन हुनेछन् भने चितवन र तनहुँका प्रमुख जिल्ला अधिकारीको समन्वयमा सुरक्षा निकाय प्रमुखहरुबाट आवश्यक मात्रमा सुरक्षाकर्मीहरु परिचालन हुने व्यवस्था मिलाईएको छ ।

बाटोघाटो, विद्युत, पिउने पानी, सरसफाई, अस्थायी शौचालय आदिको उचित व्यवस्था मिलाई सकिएको छ भने पार्किङ्गको लागि सीताराम संस्कृत माविको प्राङ्गणलाई व्यवस्थित र सुरक्षित गरिएको छ । सवारी पार्किङ्ग शुल्कको दर रेटमा मेला अवधीभर साईकललाई रु. १० मोटरसाइकल रु. २० कार÷जीपभ्यानहल्का सवारी रु ५० तथा बस ट्रक हेभी सवारी साधन रु. १०० निर्धारण गरिएको छ ।

देवघाट तनहूँतर्फको खानेपानी व्यवस्थापन, देवघाट खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट र चितवनतर्फको खानेपानीको व्यवस्थापन देवघाटधाम–कल्पबास खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट आवश्यक प्रबन्ध मिलाईएको छ । इश्वरकृष्ण माहाराजको विश्व जागरण ट्रष्टले १० वटा अस्थायी सौचालय उपलब्ध गराएको छ । त्यसमा ६ वटा चितवन टर्फ र ४ वटा तनहुँ तर्फ राखिनेछ । स्नान गरेपछि कपडा फेर्ने स्थानको पनि व्यवस्था गरिएको छ । देवघाटधामलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गरिएकोहुँदा ४० माईक्रोन भन्दा तलको प्लास्टिक नल्याउन र ल्याइहालेमा डस्टविनमा मात्रै राख्न कार्यकारी निर्देशक बरालले अनुरोध गरे ।

पत्रकार सम्मेलनमा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा.इश्वरीराज लौडारीले मकर सक्रान्ती मेलालाई व्यवस्थित बनाउन आवश्यक तयारी गरिएको बताए । यसक्रममा सबैको सहयोग प्राप्त भएको भन्दै मेलाको उचित व्यवस्थापनले नै देवघाटको गरिमा र महिमा बढ्ने बताए । देवघाटमा २०५० सालबाट देवघाट क्षेत्र विकास समितिले मेलाको व्यवस्थापन गर्न थालेको हो ।

देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष शिवराज पौडेलले देवघाटमा लाग्ने माघे संक्रान्ति मेला ऐतिहाँसिक र पवित्र मेला भएको बताए । माघ महिनाभर देवघाटमा आई स्नान गरेमा पुण्य प्राप्त हुने विश्वास रहेको भन्दै उनले अझ विशेषगरि माघे संक्रान्तिमा देवघाटमा स्नान गर्नुको आफ्नै महत्व रहेको बताए ।

देवघाटको मेला र मांस मदिरा एकै ठाउँमा रहन नसक्ने भन्दै मेला अवधिभर देवघाटमा मांस मदिरालाई कडाईका साथ नियन्त्रण गर्नु पर्ने पुर्व अध्यक्ष पौडेलले बताए । देवघाटधाममा वर्षाैंदेखि लाग्दै आइरहेको माघे संक्रान्ति मेलामा टाढा टाढा देखि धेरै भक्तजनहरु आउने र स्नान गर्ने प्रचलन रहि आएको हुदाँ मेलाको क्रममा यहाँ आउने भक्तजनहरुको सेवा सुबिधा, सुरक्षा तथा यसक्षेत्रका बासिन्दाको पनि सर्वोपरी हित हेर्नुपर्ने पुर्व अध्यक्ष पौडेलले बताए ।

माघे सक्रान्ति मेलालाई व्यवस्थित रुपमा सन्चालन गर्न देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा. इश्वरीराज लौडारीको संयोजकत्वमा १५१ सदस्यिय मुल समारोह समिति गठन गरिएको छ । साथै विभिन्न २९ वटा उपसमितिहरु पनि गठन गरिएका छन् ।

देवघाटमा चहल पहल सुरु

माघे संक्रान्ति मेला सुरु भएपछि देवघाट क्षेत्रमा चहल पहल बढेको छ । देवघाटमा पुस मसान्तको दिनबाट मकर सक्रान्तीको मेला सुरु हुन्छ । मेला सुरु हुने अघिल्लो दिन देखी नै देवघाटमा भक्तजनहरु आउन थालेका छन् । टाढाका भक्तजनहरु बुधबार दिउँसोबाट नै देवघाट आउँछन् ।

टाढाबाट देवघाट आएका भक्तजनहरुलाई स्थानीय आश्रमहरुले खाने र बस्ने व्यवस्था मिलाउँछन् । पुस मसान्तको विहान देवघाटधामका विभिन्न आश्रमहरुका पीठाधीशहरुको उस्थितिमा धार्मिक विधि अनुसार बेणी संगममा लिङ्गो गाडी माघे संक्रान्ति मेलाको शुभारम्भ गरिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

श्रीमद् भगवद् गीता ज्ञान महायज्ञ तथा वैज्ञानिक एवं व्यवहारिक प्रवचन कार्यक्रम सुरु

तनहुँ । माघ २२ ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, शाखा कार्यालय दमौलीको