धमाधम उम्मेदवार टुंग्याउँदै दलहरुः एमाले, नेकपा र उज्यालोको टुंगो लाग्यो, काँग्रेस र रास्वपाको बाँकी

Devghat Online

शेयर गरौ

तनहुँ । माघ ४

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनकोलागि माघ ६ गते मनोनयन दर्ता गर्ने दिन नजिकिँदा राजनीतिक दलहरुले धमाधम उम्मेदवारको टुंगो लगाएका छन् । २ निर्वाचन क्षेत्र रहेको तनहुँमा हालसम्म नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र उज्यालो नेपाल पार्टीका उम्मेदवाहरु टुंगो लागेका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको एउटा क्षेत्रमा उम्मेदवारको टुंगो लागेको छ भने आन्तरिक विवादमा फँसेको नेपाली काँग्रेसले दुबै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याउन सकेको छैन ।

नेकपा एमालेले तनहुँ क्षेत्र नम्बर १ मा केन्द्रीय सदस्य तथा पुर्वमन्त्री भगवती न्यौपानेलाई उम्मेदवार बनाएको छ । भानु नपा–८ निवासी न्यौापाने तनहुँ १ को उम्मेदवार बन्ने निश्चित भएपछि न्यौपानेले आइतबार राष्ट्रिय सभाको सदस्यबाट राजिनामा दिईन् । उनको कार्यकाल फागुन २० गतेसम्म थियो । यसैगरि एमालेले क्षेत्र नम्बर २ मा केन्द्रीय सदस्य एवं तनहुँ इन्चार्ज केदार सिग्देललाई उम्मेदवार बनाएको छ । सिग्देल २०७४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर २ बाट बिजयी भएका थिए ।

यसैगरि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले क्षेत्र नम्बर १ मा विद्यानाथ ढकाललाई उम्मेदवार बनाएको छ । ढकाल तत्कालिन नेकपा एसका नेता हुन् । भानु नपा–४ निवासी ढकाल २०७९ मा प्रदेश सभा १ को ख क्षेत्रबाट उम्मेदबार बनेका थिए । यस्तै नेकपाले क्षेत्र नम्बर २ बाट सोमबहादुर थापालाई उम्मेदवार बनाएको छ । म्याग्दे गाउँपालिका–५ का थापा नेकपा निकट मजदुर संगठनका नेता हुन् ।

यसैगरि कुलमान घिसिङको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले क्षेत्र नम्बर १ बाट मन्जिल रानालाई उम्मेदवार बनाएको छ । राना व्यास ११ निवासी हुन् । त्यस्तै सो पार्टीले नम्बर २ बाट मनराज गुरुङलाई उम्मेदवार बनाएको छ । शुक्लागन्डकी नपा–१२ का गुरुङ तत्कालिन नेकपा माओवादी केन्द्रका गन्डकी प्रदेश कमिटिका सदस्य थिए । उनी माओवादी केन्द्र परित्याग गरि उज्यालो पार्टीमा प्रवेश गरेका थिए ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले भने आइतबार साँझसम्म क्षेत्र नम्बर १ को मात्रै उम्मेदवारको टुंगो लगाएको छ । उक्त पार्टीबाट स्वर्णिम वाग्ले क्षेत्र नम्बर १ मा उम्मेदवार बन्ने भएका छन् । वाग्ले २०८० को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट बिजयी भएका थिए । उक्त पार्टीबाट क्षेत्र नम्बर २ मा कसले टिकट पाउँछ भन्ने अझै निश्चित भएको छैन । टिकटको अन्तिम दौडमा इन्जिनियर श्रीराम न्यौपाने र डा.शेषरमण न्यौपाने विच प्रतिश्पर्धा भईरहेको छ । श्रीराम न्यौपाने रास्वपाका उपसभापती स्वर्णिम वाग्ले निकट भएको कारण उनले नै टिकट पाउने निश्चित जस्तै बताईएपनि निर्णय भने नभएको रास्वपाले जनाएको छ ।

यता विशेष महाधिवेशनपछि आन्तरिक विवादमा फसेको नेपाली काँग्रेसमा भने कुन समुहले सर्वाेच्च अदालतबाट मान्यता पाउने र कसले टिकट पाउने भन्ने नै अझै अन्यौल रहेको छ । काँग्रेसबाट यस अघि नै सिफारिसमा परेका गोविन्द भट्टराई र शंकर भण्डारीले नै क्षेत्र नम्बर १ र २ बाट टिकट पाउने सम्भावना रहेको बताईएपनि पार्टीको आधिकारिकताको विवाद अदालतबाट किनारा नलाग्दा कार्यकर्ताहरु अन्यौलमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू