काठमाडौं । माघ ५
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्दा बाजागाजा र भीडभाडसहितको तडकभडक नगर्न राजनीतिक दल र उम्मेदवारहरूलाई सचेत गराएको छ। आयोगले निर्वाचन आचारसंहिताको बर्खिलाप हुने गरी गरिने कुनै पनि शक्ति प्रदर्शनलाई कानुनी दायरामा ल्याउने चेतावनी दिएको हो ।



सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी दर्ता प्रक्रियालाई सादगी र मर्यादित बनाउन आग्रह गरे । ‘उम्मेदवारी मनोनयनका क्रममा बाजागाजासहित तडकभडक गर्ने प्रचलन देखिएको छ, जुन कानुन र आचारसंहिता दुवैले पूर्ण रूपमा निषेध गरेको विषय हो,’ भण्डारीले भने, ‘यसपटक आयोगले आचारसंहिता उल्लंघन गर्ने जोकोही विरुद्ध पनि कठोर निर्णय लिन खुट्टा कमाउने छैन ।’
भण्डारीले निर्वाचनको स्वच्छता र निष्पक्षता मनोनयनको दिनदेखि नै झल्कनुपर्ने उल्लेख गर्दै उम्मेदवारहरूलाई निष्ठापूर्वक कानुनी परिधिभित्र रहेर मनोनयन पत्र दाखिल गर्न अपिल गरे । तडकभडक र खर्चिलो प्रदर्शनले निर्वाचनको आधारभूत मूल्य–मान्यतामै प्रहार गर्ने आयोगको बुझाइ छ ।
आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोग प्रतिवद्ध रहेको दाबी गर्दै उनले निर्वाचनको विश्वसनीयतामा शंका नगर्न आग्रह गरे । ’हाम्रो निर्वाचन प्रणालीलाई टड्कारो रूपमा हेरिरहेका अन्तर्राष्ट्रिय समुदाय र आम मतदातामा सकारात्मक सन्देश दिनु हाम्रो दायित्व हो,’ उनले थपे, ‘त्यसैले आचारसंहितालाई पालना गरी निर्वाचनलाई उत्सवको रूपमा सफल पार्न सबै सरोकारवालाको सहयोग आवश्यक छ ।’
आयोगले यसपटक आचारसंहिताको अनुगमनका लागि स्थानीय तहसम्मै संयन्त्र परिचालन गरेको र नियम उल्लंघन भए उम्मेदवारी खारेजीसम्मको कारबाही हुन सक्ने संकेत गरेको छ । उम्मेदवारी दर्ताका क्रममा हुन सक्ने सम्भावित आचारसंहिता उल्लंघनलाई रोक्न गृह मन्त्रालयमार्फत सुरक्षा निकायलाई समेत निर्देशन दिइसकिएको आयोग स्रोतले जनाएको छ ।












