विष्णु मगर । देवघाट, माघ ११
देवघाट गाउँपालिका–५ स्थित कालिका माविको ४७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम शनिबार सम्पन्न भएको छ । उक्त कार्यक्रमको देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवरले उद्घाटन गरेका थिए ।



सो अवसरमा बोल्दै वडा अध्यक्ष कुँवरले विद्यालयका शिक्षक, व्यवस्थापन समिति र स्थानीय सरकारविच सहकार्य भएमा विद्यालयको शैक्षिक तथा भौतिक अवस्थामा सुधार हुने बताए । अध्यापनकोलागि विद्यालयको भवन ठुलो भन्दा पनि शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने उनले बताए ।

देवघाट गाउँपालिकाका शिक्षा तथा खेलकुद शाखा अधिकृत होमनाथ लामिछानेले कालिका माविले पछिल्लो समयमा शैक्षिक तथा भौतिक क्षेत्रमा र खेलकुद क्षेत्रमा धेरै प्रगति गरेको बताए । विद्यार्थीको शैक्षिक प्रगतिको लागि शिक्षक, अभिभावक र विद्यार्थी तिनै तहवाट मिहेनत गर्न सके मात्र शैक्षिक स्तरमा शुधार हुने लामिछानेले बताए ।

कालिका मावि व्यवस्थापन समितिका अध्यक्ष भरत आचार्यको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष टुकनाथ अधिकारी पनि मन्तव्य राखेका थिए । कार्यक्रममा विद्यालयका प्रअ शरदचन्द्र खनालले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सो अवसरमा उत्कृष्ट विद्यार्थी तथा शिक्षकहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए । सो विद्यालयमा हाल ४०१ ज्ना विद्यार्थी अध्ययनरत छन् ।












