तनहुँ । माघ १३
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भानु नगर कमिटिले तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार विद्या ढकाललाई बिजयी गराउन ७५१ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरेको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका ढकालको चुनाव प्रचार अभियानलाई प्रभावकारी बनाउन सिताराम अधिकारीको संयोजकत्वमा नगरपालिका स्तरीय ७ सय ५१ सदस्यीय प्रचार समिति गठन गरिएको हो ।



उक्त समितिले भानु नगरपालिका भित्र निर्वाचन प्रचार–प्रसारलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य लिएको नेपाली कम्यूनिष्ट पार्टीका नेता नेता हेमराज लामिछाने ‘क्षितिज’ ले जानकारी दिए ।

निर्वाचन परिचालन समिति गठन कार्यक्रममा नेपाली कम्यूनिष्ट पार्टीका नेता केन्द्रीय सदस्य हरीबहादुर चुमान, प्रतिनिधि सभा सदस्य उम्मेदवार विद्या ढकाल, केन्द्रीय सदस्यहरु हेमराज लामिछाने, गीता शाही, ओम कुमारी पौडेल लगायतले मन्तव्य राख्दै ढकाललाई विजयी गराउन तारा चिन्हमा मतदान गर्न अपिल गरे ।
नेपाल कम्युनिष्ट पार्टीबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका ढकाल तनहुँ क्षेत्र नम्बर १ मा लामो समयदेखि सक्रिय राजनीतिमा संलग्न रहँदै आएका नेता हुन् । स्वच्छ छवि, बौद्धिक व्यक्तित्व तथा स्थानीय भूगोल र जनजीवनसँग नजिकबाट काम गरेको अनुभवका कारण उनी जनतामाझ लोकप्रिय नेताका रूपमा परिचित छन् ।












