तनहुँ । माघ २१
राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार डा.स्वर्णिम वाग्ले बुधबार पनि आबुँखैरेनीको विभिन्न वडाका मतदातालाई भेटेका छन् । वाग्लेले मंगलबार पनि आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ का विभिन्न स्थानमा घरदैलो कार्यक्रम सम्पन्न गरेका थिए । उनी बुधबार पनि आबुँखैरेनीमै व्यस्त भए ।




आबुँखैरेनीमा राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन अन्य पालिकाका भन्दा राम्रो भएको कारण पनि वाग्लेले आबुँखैरेनीलाई महत्व दिएका हुन् । मतदातासँगको प्रत्यक्ष भेटघाटमा वाग्लेले जनताको समस्या, आवश्यकता र विकासका अपेक्षाबारे छलफल गरेका थिए । वाग्लेले तनहुँको बृहत्तर विकासकोलागि रास्वपाको नेतृत्वमा बन्ने सरकारले काम गर्ने बताए ।

वाग्लेले नेपाली जनताले परिवर्तन चाहिरहेको र अबको विकल्प रास्वपालाई स्पष्ट बहुमतसहित देश चलाउने जिम्मेवारी प्राप्त हुने बताए । पुराना गठबन्धनका नाममा हुने सत्ता–सम्झौता, तानातान र पद–लालचले देशलाई फेरि पनि ‘सरकार फेर्ने घनचक्कर’ मा फसाउने भन्दै उनले यसको प्रत्यक्ष असर विकास, लगानी, रोजगारी र नागरिक सेवामा पर्ने बताए ।

स्पष्ट एजेन्डा, सक्षम नेतृत्व र परिणाममुखी कार्ययोजनासहित हामी प्रभावकारी शासनका लागि अघि बढिरहेको भन्दै वाग्लेले आफुहरुसँग बहुमत माग्ने आधार र नेतृत्व पनि रहेको बताए ।












