तनहुँ । माघ २२
तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत नेकपा एमाले भानु नगर कमिटि वडा नम्बर २ को निर्वाचन प्रचार कार्यालय स्थापना गरिएको छ । नारेश्वरटारमा विहिबार वडास्तरीय निर्वाचन प्रचार कार्यालय स्थापना गरिएको हो ।



उक्त अवसरमा बोल्दै नेकपा एमाले तनहुँ क्षेत्र नम्बर १ की उम्मेदवार भगवती न्यौपानेले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सुर्य चिन्हमा मतदान गरि बिजयी गराउन अनुरोध गरिन् । आफु भानु नगरपालिकाको छोरी भएको र यहाँको सबै समस्या आफुलाई जानकारी भएको भन्दै यस क्षेत्रका जनताको विकास र समृद्धीको लागि पनि काम गर्ने उनले बताइन् ।

उम्मेदवार न्यौपानेले पनि आफ्नो सम्पुर्ण जिवन नै देश र समाजको लागि त्याग गरेको बताइन् । ‘म मा राजनीतिक चेत भएदेखी नै समाज परिवर्तन र समाजमा भईरहेको लैङ्गिक र अन्य विभेद र असमानताको विरुद्ध आवाज उठाएँ’ न्यौपानेले भनिन् ।
‘अहिलेको अवस्था भनेको एक जना सांसद छान्ने मात्र हैन’ न्यौपानेले भनिन् ‘यो देश जोगाउने की देश बिनास गर्ने भन्ने एकप्रकारको जनमत संग्रह पनि हो ।’ देशलाई विखण्डनकारी र बिध्वंशकारीहरुबाट बचाउन पनि यसपटक एमालेलाई जिताउनुपर्ने न्यौपानेले बताइन् । देशको स्वाधिनता र स्वाभिमान बचाउन पनि एमालेलाई जिताउनु पर्ने न्यौपानेले बताइन् ।

उम्मेदवार न्यौपानेले यो चुनाव देश जोगाउने र देश जलाउनेहरुको विच भएको भन्दै देश जोगाउनेहरुले बिजय प्राप्त गर्नुपर्ने बताइन् । २०८४ मा हुनुपर्ने चुनाव धेरै षड्यन्त्र गरि २०८२ मै सारिएको भन्दै राष्ट्रिय स्वाधिनता र स्वाभिमानका पक्षधरहरु एकजुट भई सबै षड्यन्त्रलाई परास्त गर्नुपर्ने न्यौपानेले बताइन् । पछिल्लो समयमा सामाजिक सञ्जालको दुरुपयोग गरि नेकपा एमाले र यसको नेतृत्व प्रति चौतर्फी आक्रमण भएको भन्दै न्यौपानेले बिदेशीबाट परिचालित यी नयाँ भन्नेहरुले जिते भने एक वर्ष भित्र देशमा अनिष्ट हुने बताइन् ।

जसले राजनीति बुझेको छैन, जसको केही अस्तित्व छैन ती व्यक्तिहरु भाइरलको नाममा चुनावमा आएको भन्दै त्यस्ता तत्वले जितेमा देशको अस्तित्व नै खतरामा पर्ने उनको भनाई थियो । ५३ दिन मन्त्री हुँदा ९ वटा सहासिक निर्णय गरेको भन्दै उनले उक्त समय गौरवपुर्ण समय भएको बताइन् ।

उक्त कार्यक्रममा नेकपा एमालेका पुर्व केन्द्रीय सल्लाहाकार, जिल्ला कमिटिका सचिवालय सदस्य एवं निर्वाचन क्षेत्र नम्बर १ का उपसंयोजक श्रीराम कार्की, भानु नगर कमिटिका अध्यक्ष शंकर रानाभाट लगायतका नेताहरुले विकास र समृद्धीको लागि नेकपा एमालेको सुर्य चिन्हमा मतदान गर्नुपर्ने बताए ।

एमाले उम्मेदवार न्यौपानेले विहिबार बिहान आबुँखैरेनी गाउँपालिका वडा नम्बर २ को विभिन्न स्थानमा घरदैलो गरि मतदातालाई भेट गरेकी थिइन् ।












