
माधव सिग्देल
समाज विज्ञानको हर क्षेत्र अपवादमुक्त हुँदैन । त्यसमा पनि हाम्रोमा यस्तो गलत भाष्य खडा र कुतर्कको साम्राज्य फैलाउने मुर्खतापुर्ण हर्कत गरिन्छ कि, ‘राजनीतिमा जे पनि सम्भव छ ।’ सर्वप्रथम राजनीतिलाई कुरुप पारी सिङ्गो देशलाईनै अराजकताको खाडलमा जाक्ने बहुलट्ठीपुर्ण उल्लिखित अभिमतप्रति खेद व्यक्त गर्दै गम्भीर असहमति जनाउँछु । जे पनि गर्न छुटदिन नसकिने तथा जे पनि हुनन सक्ने कुनै क्षेत्र छ भने त्यो राजनीति हो भन्ने मेरो मान्यता छ । म अलिक जोडदारसाथ भट्याउँछु ‘फगत निजी स्वार्थका लागि विचार बन्धक राख्ने, जनतालाई धोकादिने सबै प्रकारका पदलोलुपवाद मुर्दावाद ! मुर्दावाद !! मुर्दावाद !!!’



सङ्घीय संसद प्रतिनिधिसभा सदस्य निर्वाचनको घोषित मिति संघारमा र वलात् विघटन सदर÷बदरको दावी देशको सर्वोच्च न्यायिक अङ्गमा विचाराधीन अवस्थामा छ । अदालतको मौनता उदेक लाग्दो छ । बेहुला–बेहुली जग्गेमा छन्, कन्यादानको मुहुर्त छ । उता जन्मकुण्डली हेरिँदै छ, विवाह जुर्छ–जुर्दैन । जे होस् आज निर्वाचनको ‘अन्यमनस्क जबर्जस्त बाद्यता’ द्वारा सिङ्गो नेपाली समाज कम्पित छ भन्दा शायद अतिशयोक्ति हुँदैन । मनोनयनदर्ता लगायतका केही कर्मकाण्डी संस्कारका कारण Miracle नै भएछ भने मात्र अन्यथा बल त अब सर्वाधिक शक्तिशाली न्यायमुर्ती आम मतदाताको कोटमा आइपुग्यो कि ?
अब तनहुँ क्षेत्र नम्बर २ प्रति यहाँहरुको ध्यानाकर्षणका लागि निवेदन गर्दछु । अपवादका हकमा मैले माथि उल्लेख गरिसकेको छु । सम्बन्धित पार्टीको मूल नेतृत्व हुनुको नाताले नेपाली काँग्रेसका सभापति गगन कुमार थापा काठमाडौं क्षेत्र नम्बर ४ छाडी सर्लाही जानु स्वाभाविक होला । पुष्पकमल दाहाल पुर्वीरुकुम जानु पनि अश्वाभाविक नहोला । यस्ता केही थप अन्य दृष्टान्त पनि होलान् । तर, नेपाली काँग्रेसले तनहुँ क्षेत्र नम्बर १ का शंकर भण्डारीलाई र रास्वपाले पनि अवकाशप्राप्त निवृत्तभरणवाहक प्राविधिक पुर्व कर्मचारी तनहुँ क्षेत्र नम्बर १ (स्थायी बसोवास त काठमाडौं हो कि ?) का श्रीराम न्यौपानेलाई क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउन के बाध्यता र दर्कार परेछ ?

२ नम्बर क्षेत्रमा चुनावमा प्रतिस्पर्धा गर्ने हैसियत भएका नेता नभएर हो कि, कोही इच्छुक नभएर हो कि, सम्बन्धित तहबाट सिफारिसनै हुन नसकेर हो कि, निर्णायक तहमा पहुँच नपुगेको हो कि, सलामी–दस्तुरको करामत हो कि, २ नम्बरका अरु सबैले अवसर पाइसकेर हो कि, शंकर दाइ र श्रीरामजी पार्टीका पीडित कार्यकर्ता भएर पो हो कि, खासमा कुरो के रहेछ होला ? कोही कसैले त्यस क्षेत्रका स्थानीय नेता र जनता अलिक सोझा, innocent तथा इमानदार रहेकोले त्यो इमानलाई कमजोरी भन्ठानी भविष्यमा उम्मेदवार बन्ने खुवाब राखी समाज सेवाको नाममा सस्तो लोकप्रियताको विषाक्त–खेती गरेका त थिएनन् नि ? ! यदि त्यस्ता अशोभनीय हर्कत भए–गरेका छन् भने त लगानीको सावाँव्याज असुल गर्छन् नि पाखण्डी मनुवाहरुले । अलि चनाखो बनौँ, सजगता र सतर्कता बढाऊँ ।
एक साक्षर मतदाताको हैसियतले म विशेषतः तनहुँ क्षेत्र नम्बर २ मा क्रियाशील सबै राजनीतिक दलसम्बद्ध नेता, कार्यकर्ताहरू समक्ष विनम्रतापर्वक निवेदन गर्दछु, ‘कृपया निर्वाचनमा आफ्नै क्षेत्रका नेता, कार्यकर्तालाई उम्मेदवार बनाई घरेलु प्रतिनिधित्व र नेतृत्व विकासको अवसर दिने वातावरण बनाऊँ । क्षेत्रका साथी र स्वयं आफ्नो योग्यता, क्षमता, योगदानको पहिचान र कदरप्रति थप संवेदनशील बनौँ । कसैका दास नबनौँ ।’ क्षेत्रको तिव्रत्तर सन्तुलित विकासको लागि संघ तहमा समेत जोडदार आवाज बुलन्द गर्दै वाञ्छित पहलका साथ लयात्मक गति हासिल गर्न मौलिक प्रतिनिधित्वको सशक्त आधार तयार गरौँ । क्षेत्रको गौरव, इज्जत, गरिमा तथा प्रतिष्ठालाई सदा उचो बनाउन मित्रवत् सहकार्य गरौँ ! एउटा पुरानो दलले त पर्यटक उम्मेदवार दिएको थियो थियो । हुँदा हुँदा भर्खर जन्मेको स्वतन्त्र नामको दललेसमेत त्यही कुकर्म गर्ने । हेप्नको पनि हद हुन्छ नि हो । ‘बुढी मरी होइन, काल पल्क्यो ।’ यो निशर्मी–नकच्चरो प्रवृत्तिलाई ऐक्यबद्धतापुर्वक नाङ्गेझार पारौँ ताकी पीडा–सहन नियति नबनोस्, पुनरावृत्ति समूलनष्ट होस् ।
दृढ प्रतिवद्धता र सादर अनुरोधः भविष्यमा कथंकदाचित म सम्बद्ध राजनीतिक दलले तनहुँ जिल्ला क्षेत्र नम्बर २ बाट संघीय संसद प्रतिनिधिसभामा प्रतिनिधित्वको लागि क्षेत्र बाहिरका व्यक्तिलाई टिकट उपलब्ध गराएछ भने सोको विरोधमा म स्वयंले पनि उम्मेदवारी दिन्छु, प्रतिस्पर्धा गर्छु । क्षेत्र बाहिरको उम्मेदवारको पक्षमा मत माग्दिन, मतदान गर्दिन । यो मेरो भीष्मप्रतिज्ञा भो, सगौरव घोषणा गर्छु । जन्मभूमि र प्रातस्मरणीय श्रद्धेय आमाबाबा बाहेक मेरा लागि मेरो आत्म–श्वाभिमान भन्दा ठूलो न केही छ न कोही छ । अन्तमा, तनहुँ क्षेत्र नम्बर २ का योग्यतम चिरपरिचित रैथाने उम्मेदवार केदार सिग्देलको पक्षमा सूर्य चिन्हमा मतदान गरी विजय गराउन सम्बन्धित सबै श्रद्धेय महानुभावहरुमा सादर अनुरोध गर्दछु ।
(प्रस्तुत लेख लेखकको नीजि विचार हो)












