तनहुँका दुई हजार ६२५ किशोरीलाई एचपिभी खोप दिइने

Devghat Online

शेयर गरौ

तनहुँ । माघ २५

यसवर्ष तनहुँका दुई हजार ६२५ किशोरीलाई एचपिभी खोप दिइने भएको छ । तनहुँमा यही माघ २९ गतेदेखी फागुन ५ गतेसम्म विद्यालयमा अध्ययन गर्ने तथा विद्यालय नजाने १० देखी १४ वर्ष उमेर सम्मका दुई हजार ६२५ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर निवारण गर्ने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाईने भएको छ ।

उक्त खोप कार्यक्रमकोलागि तनहुँमा २९८ वटा आधारभुत र माध्यमिक विद्यालय तथा १७१ वटा खोप केन्द्र तय गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका खोप अधिकृत प्रमुख शंकरवावु अधिकारीले बताए । उक्त कार्यकोलागि तनहुँ जिल्ला भर १४९ जना स्वास्थ्यकर्मी र १५६ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन हुनेछन् ।

उक्त अभियान अन्तर्गत व्यास नगरपालिकामा ११५ विद्यालय र २३ खोप केन्द्रमा ७७६ जना, भानु नपामा ३१ विद्यालय र २६ खोप केन्द्रमा २४४ जना, शुक्लागन्डकी नपामा ३५ विद्यालय र २६ खोप केन्द्रमा ४६३ जना, भिमाद नगरपालिकामा २६ विद्यालय र २३ खोप केन्द्रमा २५८ जना किशोरीहरुलाई एचपिभि खोप दिइनेछ ।

यसैगरि म्याग्दे गाउँपालिकामा १३ विद्यालय र ११ खोप केन्द्रमा १३६ जना, घिरिङ गाउँपालिकामा १३ विद्यालय र ८ खोप केन्द्रमा १०२ जना, ऋषिङ गाउँपालिकामा २० विद्यालय र २० खोप केन्द्रमा ११७ जना, देवघाट गाउँपालिकामा १६ विद्यालय र ९ खोप केन्द्रमा ११८ जना, बन्दीपुर गाउँपालिकामा १४ विद्यालय र १३ खोप केन्द्रमा १६६ जना र आबुँखैरेनी गाउँपालिकामा १५ विद्यालय र १५ खोप केन्द्रमा २४५ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर निवारण गर्ने एचपिभी खोप लगाईने भएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका कार्यालय प्रमुख अमर दवाडीले बताए ।

नेपालमा हरेक वर्ष २ हजार १६९ जना महिलामा पाठेघरको क्यान्सर हुने, त्यसमध्ये १ हजार ३१३ जनाको उक्त रोगको कारण मृत्यु हुने गर्छ । हरेक दिन ४ जना महिलाको पाठेघरको क्यान्सरको कारण मृत्यु हुने गरेपछि सरकारले १० देखी १४ वर्ष उमेरसम्मका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपिभी खोप लगाउने नीति ल्याएको हो ।

जिल्ला खोप समन्वय समिति तनहुँका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख शान्तिमरण वाग्लेको अध्यक्षतामा आइतबार बिहान आयोजित सन्चारकर्मीसँगको अभिमुखीकरण कार्यक्रममा उक्त एचपिभी खोपको बारेमा जानकारी गराईएको हो । गत वर्ष तनहुँमा १४ हजार १३५ जना किशोरीलाई उक्त खोप लगाईएको थियो । गत वर्ष पहिलो पटक उक्त खोप लगाईएको कारण संख्या बढको हो । यसवर्ष देखी उमेर पुगेका किशोरीहरुलाई क्रमशः उक्त खोप लगाईने कार्यालयले जनाएको छ ।

सरकारले आइतबारबाट कक्षा ६ मा पढ्ने किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान देशभरि नै सञ्चालन गरेको छ । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार आइतबारदेखि फागुन १५ गतेसम्म देशभरिका कक्षा ६ मा पढ्ने किशोरी र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउन थालिएको हो ।

अभियानकै क्रममा गत वर्षको एचपिभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म पढ्ने किशोरी र ११ वर्षदेखि १४ वर्षका विद्यालय बाहिरका किशोरी पनि सोही अभियानअन्तर्गत खोप लगाउने र हिमाली तथा हिउँ पर्ने जिल्लामा भने चैतमा सञ्चालन हुने शाखाले जनाएको छ ।

पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरस सङ्क्रमण रहेकाले त्यसको विरुद्ध एचपिभी खोप लगाउनुपर्ने हुन्छ । कक्षा ६ मा पढ्ने किशोरीलाई विद्यालय र अन्य किशोरीलाई खोप केन्द्रमा एचपिभी खोप लगाइने छ ।

खोप शतप्रतिशत प्रभावकारी रहेकाले खोप लगाउन विभागले सबैलाई अनुरोध गरेको छ । नेपालमा हरेक दिन औसतमा छ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिन्छ, जसमा चार जनाको ज्यान जाने गरेको छ । तर यो क्यान्सर रोग एचपिभी खोपबाट रोक्ने सकिने छ ।

सरकारले गत वर्ष माघ २२ देखि फागुन ६ गतेसम्म देशभरि नै कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरसमूहका करिब १७ लाख किशोरी खोप लगाएको थियो । शाखाका अनुसार २० दिनको अभियानमा करिब तीन लाख ५० हजार बालबालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने छ ।

नेपालमा महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको देखिन्छ भने क्यान्सरको कारणबाट महिलाको मृत्यु हुनेमा यो क्यान्सर पहिलो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय