विष्णु मगर । देवघाट, फागुन ५
देवघाटधाममा गत माघ १९ देखी फागुन ३ गतेसम्म सन्चालित शतचण्डी महायज्ञ एवं देवघाट माघ महोत्सवमा २ करोड ३४ लाख ५२ हजार ८३४ रुपैयाँ दान रकम संकलन भएको छ । महायज्ञ आयोजक समितिले मंगलबार पत्रकार सम्मेलन गरि महायज्ञमा संकलित रकम र खर्च विवरण सार्वजनिक गरेको हो ।



देवघाट गाउँपालिका–५ टाउनचोकमा रहेको श्री दुर्गा पान्चायन मन्दिर (श्री राम राम मन्दिर) को जिर्णोद्वार तथा आश्रम निर्माण गर्ने उद्देश्यले राम राम मन्दिर निर्माण समितिको आयोजना तथा मन्दिरका पिठाधिश कथावाचक शीतल कृष्ण महाराजको संकल्पमा माघ १९ देखी फागुन ३ महाशिवरात्रीको दिनसम्म देवघाटमा शतचण्डी महायज्ञ तथा देवघाट माघ महोत्सव आयोजना गरिएको थियो ।
उक्त महायज्ञमा आम्दानी तर्फ दाताहरुबाट बोलकबोल रकम १ करोठ ५६ लाख १७ हजार ३८६ र यज्ञ स्थलमा नगद प्राप्त रकम ७८ लाख ३५ हजार ४४८ रहेको थियो । त्यसैगरि दानपेटिकामा संकलित रकम समेत गरि कुल आम्दानी २ करोड ३४ लाख ५२ हजार ८३४ रहेको महायज्ञ मुल समारोह समितिले जनाएको छ ।

त्यसैगरि महायज्ञमा विभिन्न शिर्षकमा गरि ६८ हजार ३३ हजार ३६ रुपैयाँ खर्च भएको जनाईएको छ । खर्च तर्फ सबैभन्दा बढि दान दक्षिणामा २२ लाख ७१ ह्जार ८८० रुपैयाँ भएको छ । आयोजकका अनुसार खर्च कटाएर बोल कबोल रकम समेत गरि कुल १ करोड ६६ लाख १९ हजार ७९८ रुपैयाँ बचत भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा महायज्ञका संकल्पकर्ता शीतलकृष्ण महाराजले बताए ।
पत्रकार सम्मेलनमा आचार्य शीतल कृष्णले सबैको मार्गदर्शन, साथ सहयोगले महायज्ञ सफल भएको बताए । कार्यक्रम समापन भएको ४८ घण्टा भित्र आय व्यय सार्वजानिक गर्न सफल भएको उनले बताए । महायज्ञ अवधिभर देशविदेश बाट आएका करिब ३० हजार भक्तजनहरुलाई आयोजकको तर्फबाट निशुल्क आवास तथा भोजन को व्यवस्था प्रदान गरिएको उनले बताए ।












